Comments Add Comment

भारतीय पुँजीपतिहरु नेपाल पसेर लुट्न चाहन्छन्

जोगेन्द्र शर्मा, नेता, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)

प्रकाश करात र सीताराम यचुरीहरुले नेतृत्व गरेको भाकपा मार्क्सवादीका केन्द्रीय सचिवालय सदस्य जोगेन्द्र शर्मा एमालेको महाधिवेशनमा पाहुना बनेर काठमाडौं आए । महाधिवशेन उदघाटनस्थलमै भाजपाका नेता विजय जोलीका सामुन्ने उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गरे ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लागेका बेला जलस्रोत लगायतका क्षेत्रमा सहयोग गर्ने प्रचार भइरहेको छ । नेपालमा औद्योगिक विकास गर्ने र नेपालीलाई रोजगारी दिलाउनेसम्मको आश्वासन भाजपा नेताहरुले दिइरहेका छन् । तर, यहीबेला भारतीय कम्युनिष्ट नेताले भने मोदीमार्फत् भारतीय कर्पोरेट पुँजीवादी एवं घरानियाँहरुले नेपालको प्राकृतिक स्रोत साधन लुटेर भारतमा लाने तयारी गरिरहेको आरोप लगाएका छन् ।

मोदी सरकारको कडा आलोचनामा उत्रिएका वाम नेता शर्माले भारतमा चाँडै जनआन्दोलन उठ्ने र मोदी सरकारको हालत कांग्रेसको भन्दा खराब हुने बताएका छन् । विकास भनेको अग्ला घर बन्नु, बाटो फराकिलो बन्नु र कारखाना खुल्नुमात्रै होइन भन्दै शर्माले अनलाइनखबरसँग भने- ‘विकास कसका लागि ? यो महत्वपूर्ण कुरा हो ।’ मोदीको गजुराती विकासको मोडल गरीब जनताका लागि नभएर अम्बानीजस्ता कर्पोरेट मालिक एवं पुँजीपतिका लागि मात्रै भएको शर्माको आरोप छ ।

jogrndra sharma

भारतमा हालै सम्पन्न लोकसभा चुनावमा कम्युनिष्ट पार्टीको पोजिसन कमजोर देखियो । यो चुनावी पराजयबारे तपाईको पार्टीले कसरी समीक्षा गरेको छ ?

जहाँसम्म चुनावको समीक्षाको सवाल छ, यसमा सिंगै भारतको राजनीतिक अवस्थाबारे स्पष्ट हुन जरुरी छ । भारतमा १९९१ देखि नवउदारवादी आर्थिक नीति शुरु गरिएको थियो । यो भूमण्डलीकरण अर्थात् ग्लोबलाइजेसनको यो फेजमा जुन नीति अपनाइयो, यसबाट हिन्दुस्तानमा ‘क्रोनिक पुँजीवाद’ विकास भएको छ ।

हिन्दुस्तानका शासक वर्ग, जो ठूला पुँजीपति एवं कर्पोरेट हाउसहरु छन्, उनीहरु अमेरिकी विश्व साम्राज्यवादसँग पार्टनरशीप गरिरहेका छन् । सानो पार्टनरका रुपमा उनीहरुले अमेरिकी साम्राज्यवादसँग साथ जोडेका छन् । पछिल्लो १५ वर्ष भारतमा यही नीतिका साथ अगाडि बढ्ने काम भयो ।

यसक्रममा ठूलो पैमानामा भ्रष्टाचार भयो, घोटाला भयो । गरीव र धनीवीचको खाडल धेरै ठूलो भयो । पछिल्लो दश वर्ष कांग्रेसको नेतृत्वमा जुन युपीए सरकार बन्यो, उसले यही नीति अघि सार्‍यो, जसले गर्दा भारतमा चारवटा परिस्थिति अगाडि आए ।

के हुन् ती चार परिस्थिति ?

पहिलो महंगी, जो लगातार १५ वर्षदेखि बढिरहेको थियो । धनीहरुलाई छाडेर निम्नमध्यम वर्ग र उच्च मध्यमवर्गका मानिस सोत महंगीबाट पीडित थिए । दोस्रो मुद्दा थियो, भ्रष्टाचार । लाखौं करोडौंको घोटाला, कोइला प्रकरण, स्पेक्ट्रम घोटाला, एशियन गेमको घोटाला आदि । कुनै पनि क्षेत्र थिएन, जहाँ घोटाला नहोस् । भ्रटाचारले गर्दा जनताका कुनै काम भएनन् । देशमा पूरै कुशासन फैलियो । बेरोजगारी लगातार बढ्यो । शुरुमा मध्यमवर्ग नवउदारवादी आर्थिक नीतिप्रति आकषिर्त देखिएको थियो । जागिर मिल्छ, टेक्नोलोजी बढ्छ इत्यादि उसका जुन सपनाहरु थिए, ती सबै सपनाहरु टुटे । जति पनि नाममात्रको विकास भयो, त्यो रोजगारी दिन नसक्नेखालको विकास थियो । साना र मध्यमखालका उद्योगहरु बन्द हुन थाले । बेरोजगारी र असमानता बढ्यो । महिलामाथि अत्याचार बढ्यो । यो सबै स्थितिका कारण भारतीय जनता यो चाहन्थे कि युपीए सरसकारलाई कुनै पनि मूल्यमा हटाउनुपर्छ । पाँचवटा राज्य एसेम्बलीको चुनावले पनि कांग्रेसको विरोधमा जनता रहेको स्पष्ट गरिसकेको थियो ।

दोस्रो, जब १६ औं लोकसभाको चुनाव आयो, यसमा थप केही चिज भयो । एक त भारतका जति पनि कर्पोरेट हाउसहरु थिए, विनाअपवाद ती कर्पोरेट हाउसहरुले मोदीलाई प्रधानमन्त्रीको उम्मदवारका रुपमा छनोट गरे । त्यसपछि उनीहरुले मोदीलाई पूरै सहयोग गरे । परिणाम यो भयो कि कर्पोरेट कन्ट्रोल मिडियाहरु साराका सारा छाए । चुनावका बेला मोदीको यातायातमा उनीहरुले खर्च गरे । मोदीको विज्ञापनमा खर्च गरे । सोसल मिडिया, टिभी, रेडियो र पि्रन्ट मिडिया जतिमा उनीहरुले १० हजार करोड रुपैयाँको हाराहारीमा खर्च गरे । जबकि भारतको समग्र चुनावी खर्च ३०/३५ हजार करोडभन्दा माथि थिएन । यत्रो पैसा मोदीलाई कहाँबाट आयो ? जति पनि लिगल र इल्लिगत खर्च कर्पोरेट हाउसहरुबाट आयो । तब, कर्पोरेट हाउसले आफ्नो धनबलको माध्यमबाट पूरै लोकसभा चुनावलाई हाइज्याक गरिदिए ।

तेस्रो, बीजेपी माथिबाट विकासको कुरा गर्दथ्यो । तर, तलबाट उसले पूरा साम्प्रदायिक प्रचार गर्‍यो । देशभित्र पूरै सम्प्रदायिक धु्रवीकरण गरियो । यसरी धु्रवीकरण गर्नमा कांग्रेस र यूपीको समाजवादी पार्टी पनि उसको सहयोगी बने । किनकि कांग्रेसले आफ्नो परफरमेन्सका आधारमा चुनाव लड्न सक्दैनथ्यो । त्यसैले ऊ चाहन्थ्यो कि चुनाव धर्मनिरपेक्षता भर्सेज साम्प्रदायिकताका आधारमा हुनेछ । तर, यो कांग्रेसका लागि उल्टो भइदियो । समाजवादी पार्टी पनि यही चाहन्थ्यो । आरएसएसबाट आएका मोदीलाई धर्मनिरपेक्षतावादी र लोकतान्त्रिक शक्तिले भोट दिँदैनन् भन्ने कांग्रेसले सोच्यो । मुसलमान र इसाइ अल्पसंख्यकहरु धेरै ठूलो संख्यामा छन् भारतमा । उनीहरुले आफूलाई भोट दिन्छन् भन्ने कांग्रेसको आँकलन थियो । तर, यो सही सावित भएन । यूपीमा पनि सही सोचिएको थियो कि साम्प्रदायिकताका आधारमा चुनाव भयो भने मुस्लिम-यादव गठबन्धन मजबुद हुनेछ । तर, त्यहाँ पनि यस्तो भएन ।

चौथो, यथार्थ के थियो भने जनता जब कांग्रेसलाई सत्ताबाट हटाउन चाहन्थे, त्यसमा बीजेपी बाहेक उनीहरुमा अर्को विकल्प नजरमा आएन । हामी वामपन्थीहरुले यसकारण विकल्प दिन सकेनौं कि भारतको पूरै देशमा कम्युनिष्टको प्रभाव सीमित छ । पूरै भारतभरि समानरुपमा हाम्रो प्रभाव छैन । हाम्रो मुख्य जनाधार पश्चिम बंगाल, त्रिपुरा, केरला, तामिलनाडू र आन्ध्र प्रदेशमा छ । आन्द्र प्रदेश र तामिनाडूमा हामी अर्को पार्टीसँग तालमेल गरेर लडिरहेका छौं । यीबाहेक बाँकी राज्यहरुमा हाम्रो प्रभाव कम छ । हाम्रो जुन संसदीय शक्ति बनेको थियो, मुख्यतः हामीलाई तीन राज्यबाट सीट आउँथ्यो । संसदमा हाम्रो ४४ सीट थियो, जसमध्ये ४० सीट यिनै तीन राज्य पश्चिम बंगाल, तामिलनाडू र त्रिपुराबाट आएको थियो । यो हाम्रो कमजोरी थियो । हामीलाई सबैभन्दा बढी नोक्सानी पश्चिम बंगालमा भयो । त्यहाँबाट जुन परिणाम आयो, आशा गरिएको भन्दा विल्कुल विपरीत आयो । हामीलाई धेरै ठूलो ‘सेट ब्याक’ लाग्यो । त्यहाँ हाम्रो २ सीटमात्रै आयो ।

पश्चिम बंगालबाट कम्युनिष्टहरु बढारिनुको खास कारण के हो ?

जहाँ हामी लगातार ३४ वर्षसम्म सरकारमा रहेका थियौं, त्यहाँ किन यस्तो भयो ? सातपटक लगातार चुनिएर सरकारमा जाने यस्तो घटना संसारमा काहिँ पनि थिएन । यसबारे जब हामीले समीक्षा गर्‍यौं, यसमा तीनवटा कारण हामीले पहिचान गरेका छौं ।

पहिलो, त्यहाँ पाँच चरणमा चुनाव भयो, पछिल्लो तीन चरणमा मुख्य सीटहरुमा भएको चुनावमा त्रुणमूल सरकारले पूरै इलाका कब्जा गर्‍यो । त्यहाँका सबै १७ हजार बुथ उनीहरुले कब्जा गरे । त्यहाँ कुनै पनि पार्टीका प्रतिनिधिलाई घुस्न दिइएन । निर्वाचन अधिकृतलाई पनि आतंकित गरियो । जहाँ-जहाँ हाम्रो जित्ने निश्चित थियो, त्यहाँ-त्यहाँ बुथ क्याप्चर गरियो । उनीहरुले ठूलो पैमानामा हिंसा मच्चाए ।

दोस्रो कारण यो थियो कि हामीले दुईवटा गल्तीहरु गर्‍यौं । हामीले यो चुनाव समग्र देशको चुनाव जसरीभन्दा पनि राज्यको चुनाव जसरी लड्यौं । यो संसदीय चुनाव थियो, राज्य एसेम्बलीको चुनाव थिएन । साथै हरचुनावमा आफ्नो मुख्य दुश्मन तय गरेर उसविरुद्ध क्याम्पेनिङ गर्नुपर्नेमा हाम्रो मुख्य प्रहार ममता बेनर्जीको विरोधमा रह्यो । ममता केन्द्रमा सरकार बनाउन गइरहेकी थिइनन्, हाम्रो मुख्य दुश्मन कांग्रेस र बीजेपी थियो । हाम्रो केन्द्रीय नारा नै थियो कि कांग्रेसलाई हटाऊ, बीजेपीलाई हराऊ, वामपन्थीलाई मजबुद गर । तर, हाम्रो नाराविपरीत पश्चिम बंगालमा हामीले ममताको विरोधमा आफूलाई केन्दि्रत गर्‍यौं । यो हाम्रो ठूलो राजनीतिक गल्ती थियो । हामीले सोच्यौं कि पश्चिम बंगालमा बीजेपी त कतै देखिइरहेको छैन । तर, मोदीलाई जसरी उनीहरुले प्रोजेक्ट गरे, त्यसको असर पश्चिम बंगलामा पनि पर्‍यो । पश्चिम बंगालमा मोदीको बढ्दो प्रभावले ममताको तृणमूल कांग्रेको भोट काट्छ र हामीलाई फाइदा हुन्छ भन्ने हामीले सोच्यौं ।

कम्युनिस्ट प्रभाव रहेका भारतका अन्य राज्यका बारेमा तपाईहरुको विश्लेषण के छ ?

केरलामा पहिले हाम्रो ४ सीट थियो, अहिले हाम्रो ८ भयो । तैपनि हामी सन्तुष्ट छैनौं । हामीले कमसेकम १२ सीट आश गरेका थियौं । यस्तो किन भयो भन्ने बारेमा राज्य कमिटीलाई तलैसम्म गएर अनुसन्धान गर्न हामीले भनेका छौं । त्रिपुरामा हामीले दुईसीट जित्यौं । तर, मार्जिन धेरै बढेको छ । त्यहाँ हामीलाई करिब ६२ प्रतिशत भोट आएको छ ।

भारतलगायत दक्षिण एशियामै वामपन्थी जनमत घट्न थालेको छ । के अब पश्चिम बंगाललगायत भारतका विभिन्न राज्यमा फेरि कम्युनिस्ट पार्टीको पुनरोदय सम्भव छ ?

पूरै संसारभरि अहिले दक्षिणपन्थी शक्तिको उदय भैरहेको छ र अघि बढिरहेको छ । युरोपमा हेर्नोस्, या मध्यपूर्वमा ‘फण्डामेन्टलिस्ट’हरु अघि बढिरहेका छन् । भारतमा पनि दक्षिणपन्थी पार्टी, हिन्दुत्वमा आधारित फासिस्ट पार्टी सत्तामा आएको छ । तर, यो शक्ति अघि बढिरहेको छ, यो कुरा सही होइन । भारतमा यस्तो पहिलोपटक भएको छ कि कुनै पार्टीलाई केवल ३१ प्रतिशत भोट प्राप्त भएको छ, तर २८२ सीट पाएर बहुमत मिलेको छ । बीजेपीलाई कुल ३१ प्रतिशतमात्रै भोट मिलेको छ । उसले भारी जनमत पाएको हैन, ऊ अल्पमतमा छ । मिडियाका साथै पूरै कर्पोरेट हाउसले चुनावलाई हाइज्याक गरेर माहोल बनायो । जनतासँग तेस्रो विकल्प पनि थिएन । जनता कांग्रेसलाई हटाउन चाहन्थे, तर अर्को विकल्प थिएन । जनताको बाध्यता थियो उसलाई भोट दिन । तर यो मजबुरीको स्थितिमा पनि उसलाई ३१ प्रतिशत भन्दा धेरै भोट मिलेन ।

तर, प्रतिक्रियावादीहरुलाई लाग्छ कि भारतमा वामपन्थीको कुनै भविश्य छैन । तर, उनीहरुले बुझ्न आवश्यक छ कि स्वतन्त्रतापछि भारतमा कोही पनि यस्तो प्रधानमन्त्री छैन, जसले सपथ लिएको एकमहिनाभित्रै पुरै देशभित्र उसको पुत्ला जलाउन शुरु होस् । यसमा एकमात्र मोदी हुन् । एक महिनाभित्रै देशभरि मोदीको पुत्ला जलिरहेको छ ।

मोदीले रेलको भाडा बढाए, डिजेलको भाऊ बढाए । ग्यासको दाम बढाए । १६ मेमा जब चुनावी नतिजा आयो, त्यसदिनदेखि लिएर अहिलेसम्म सब्जीको भाऊ पौने दुईगुणा बढिसकेको छ । तमाम खाद्यवस्तुको मूल्य बढेको छ । सरकार भनिरहेको छ कि ढुवानी भाडा पनि बढ्दैछ । मोदीले भनेका छन कडा दबाइको जरुरत छ । कडा दबाइको मतलब के हो ? अब बजेट आउनेवाला छ, हामीलाई थाहा छ, यसबाट जनतामाथि हमला हुनेछ । बेरोजगारहरुमाथि हमला हुन्छ । यो सबै स्थितिबाट तपाईहरुले देख्नुहुने छ कि अब छिटै जनता यो सरकारसँग असन्तुष्ट हुनेछन् र यो आगामी चुनावमा यसको हालत कांग्रेसको भन्दा पनि खराब हुनेछ ।

यसको मतलब मोदी असफल हुने छन् र फेरि कम्युनिष्टको उत्थान हुने छ भन्न खोज्नुभएको हो ?

चुनावमा कर्पोरेट हाउसहरुले जुन ३५ हजार करोड रुपैयाँ दिएका छन्, मोदीबाट उनीहरुले त्यसको ब्याजसमेत असुल गर्नेछन् । अहिले बीजेपीका लागि ‘पे ब्याक टाइम’ हो । यसका लागि भ्रष्टाचार हुनेछ र जति पनि प्राकृतिक संशाधन छन्, त्यसमा लुट मच्चाइने छ । अहिले उसले भनिरहेको छ, ग्यासको दाम बढाइन्छ । रिलाइन्स, जुन अम्बानीको कम्पनी हो, ऊ चाहन्छ कि ग्यासको दाम दुईगुणा गरियोस् ।

यसको मतलब के हो ? यहाँको प्राकृतिक स्रोतसाधन अम्बानीको जागिर होइन । तर, सरकारले भनिरहेको छ, जति पनि प्राकिृतिक संशाधन छ, त्यसमा निजी क्षेत्रलाई ल्याइनेछ, एफडीआई -विदेशी लगानी संरक्षण बोर्ड) लाई ल्याइन्छ । उनीहरु भनिरहेका छन् कि रक्षाभित्र पनि एफडीआई ल्याइन्छ । यसकारण जुन नीति यूपीए सरकारले चलाइरहेको थियो, मोदीले पनि अझ तेजीरुपमा त्यही नीति चलाउनेछन् ।

तर, भारतमा यो दक्षिणपन्थी शक्तिको कुनै भविश्य छैन । हेर्नुहोला, भारतमा चाँडै ठूलो जनआन्दोलन सुरु हुनेवाला छ । हामी पूरै विश्वस्त छौं अर्कोचोटि हामी भारतमा पहिलेको भन्दा पनि शक्तिशाली भएर उदाउने छौं । १९७२ मा हाम्रो पार्टीमाथि पश्चिम बंगालमा अर्ध फासीवादी हमला भएको थियो । १५ सयभन्दा बढी नेता कार्यकर्ताको हत्या भयो । २२ हजार कार्यकर्तामाथि इन्दिरा गान्धी सरकारले दमन गरेको थियो । नक्सलवादी र कांग्रेसका मान्छे मिलेर हामीमाथि हमला गरेक ाथिए । पाँच वर्षसम्म त्यो दमन चलिरह्यो । तर, त्यसपछि पश्चिम बंगालमा ३४ वर्षसम्म हाम्रो सरकार बन्यो ।

वामपन्थीप्रति मोदी सरकारको नजर सकारात्मक छ कि छैन ?

हेर्नुहोस्, भारतमा बीजेपी, तमाम कर्पोरेट हाउसहरु र अमेरिकी साम्राज्यवाद आपसमा मिलेर सीपीआइएमलाई खत्तम गर्न चाहन्छन् । धम्कीले खत्तम गर्न सकेनन् भने भौतिकरुपमै खत्तम गर्न चाहन्छन् । २०१२ देखि लिएर अहिलेसम्म हाम्रा ३ सय ५० भन्दा बढी नेता कार्यकर्ताको हत्या भइसकेको छ । गत लोकसभाको चुनावपछिमात्रै १० जनाको हत्या भइसकेको छ । हाम्रा १५ सय भन्दा बढी कार्यालयमा ताला लगाइएको छ, जसलाई चलाउन पाइएको छैन । मोदी, कर्पोरेट हाउस, साम्राज्यवाद सबै मिलेर हामीलाई खत्तम गर्न चाहन्छन् । तर, हामी लड्ने छौं । यसका लागि पूरै पार्टीलाई तयार गर्नेछौं । हामी हाम्रो लाइनको पनि समीक्षा गरिरहेका छौं । तीन वर्षपछि हामी पार्टीको महाधिवशेन गर्दैछौं । मोदीजी र कर्पोरेट हाउसले जसरी कम्युनिष्ट आन्दोलनलाई खत्तम गर्ने सोचिरहेका छन्, त्यो पूरा हुनेवाला छैन ।

भारतमा भइरहेको सशस्त्र माओवादी जनयुद्धबारे तपाईको दृष्टिकोण के छ ?

म भारतको माओवादी आन्दोलनलाई कम्युनिष्ट आन्दोलन मान्दिँन । क्रान्ति सीमित मानिसले होइन, जनताले गर्ने हो । १०/१५ जना मिलेर क्रान्ति हुने भए दुनियाँमा उहिल्यै क्रान्ति भइसक्थ्यो । माओवादीहरुले भारतमा जुन काम गरिरहेका छन्, त्यो क्रान्तिविरोधी, कम्युनिष्टविरोधी काम गरिरहेका छन् । २००८ देखि उनीहरु बंगालमा ममता बनर्जीसँग मिलेका छन् । २००८ देखि २०११ को चुनावसम्म आइपुग्दा हाम्रा सयौं कार्यकर्ताको हत्या माओवादी र तृणमूलका गुण्डाले मिलेर गरे । उनीहरु हाम्रो हत्या गरिरहेका थिए, तृणमूल कांग्रेसको गरिरहेका थिएनन् । उनीहरु कम्युनिष्टलाई मारिरहेका थिए । २०११ को चुनावमा माओवादी पार्टीले खुल्ला वक्तव्य निकालेर ममताको पार्टीलाई सघायो । त्यसैले हामी माओवादीलाई कम्युनिष्ट मान्दैनौं । उनीहरुमा कम्युनिष्ट आन्दोलनबाट भड्काऊ आएको छ । र, अहिले उनीहरु त्यो भड्काऊबाट पनि भड्किएका छन् । उनीहरु पूरै प्राकृतिक संसाधनमाथि लुट मच्चाइरहेका छन् । छत्तीसगढ, उडिसा, झारखण्ड, जहाँ जहाँ उनीहरुको प्रभाव छ, त्यहाँ एकातर्फ पुलिस र अर्कातर्फ माओवादी मिलेर वन फँडानी गरिरहेका छन् । दुबैसँग बन्दूक छ । उनीहरु त्यहाँका आदिवासी गरीब जनतालाई पिसिरहेका छन् । जगंल काट्ने र गरीबको जमीन ठूलाठूला कम्पनीहरुका लागि खाली गरिदिने काम गर्दैछन् । त्यहाँको जमीन मल्टिनेशसन कम्पनी र कर्पोरेट हाउसहरुले लिइरहेका छन् । माओवादी उनीहरुको सहयोगी बनिरहेका छन् ।

मोदी सरकार र अमेरिकावीचको सम्बन्ध कस्तो रहला ?

अमेरिका हिन्दुस्थानमा एक रणनीतिक पार्टनर हो । जुन पार्टनरसीप उसले कांग्रेस सरकारका पालामा गरेको थियो, बीजेपी सरकारका साथ यसलाई मजबुद गर्न चाहन्छ । मोदी सरकार भन्दैछ, अमेरिकी कम्पनी एफडीआई शतप्रतिशत ल्याइन्छ । अमेरिका यही चाहन्छ । चाइनालाई नाकाबन्दी गर्नका लागि भारतको भूमिका अमेरिकाले महत्वपूर्ण देखेको छ । भारत, अमेरिका, जापान, अष्ट्रेलिया यी चारवटा देश मिलेर यस्तो गठबन्धन बनाउँदैछन् कि जसबाट चीनलाई नाकाबन्दी गर्न सकियोस् ।

अहिले जुन वाटर प्रकरण चलिरहेको छ, अमेरिका यहाँ पूरै आफ्नो काम गरिराखेको छ, इराक मामिला फसेर यहाँ उसको दृष्टि कम भएको छैन । भारतभित्र उसको जेजति षडयन्त्र छ, त्यो जारी छ । यो पनि नसम्झनोस् कि नेपालमाथि अमेरिकाको दृष्टि छैन । नेपालमा पनि उसको दृष्टि छ कि कसरी यहाँका वामपन्थीहरुलाई खत्तम गर्न सकौं ।

jogrndra sharma 1मोदीको प्रभाव सार्क क्षेत्रका देशहरुमा कस्तो पर्ला ?

सार्क मोदीको देन होइन । धेरै पहिले सार्क बनेको हो र यो प्रक्रिया चलिरहन्छ । तर, मोदी आफूलाई क्षेत्रीय शक्तिका रुपमा आफूलाई देखाउन चाहन्छन् । जुन देश आफूलाई क्षेत्रीय शक्ति वा सुपर पावरको रुपमा आफूलाई उभ्याउन चाहन्छ, उसले आतंक फैलाउन सक्छ । टकरावको स्थिति पैदा गर्न सक्छ । उसले शान्ति प्रक्रियालाई अघि बढाउन सक्दैन ।

मोदीले दक्षिण एशियामा विकास, विकास, विकास भनिरहेका छन् । नेपालमा पनि विकास परियोजनालाई सहयोग गर्ने भनिरहेका छन् । यो त राम्रो कुरा होइन र ?

मोदी विकासको कुरा गर्छन् । तर, उनको विकासको दायरा केहो ? उनको विकासको दिशा के हो ?

उनको विकासको मोडल ‘गुजरात मोडेल’ हो भन्ने सुनिन्छ नि ?

के हो गुजरात मोडल ? जनआन्दोलनलाई नराम्रो किसिमले कुल्च । किसानको जमीनको सबैभन्दा कम मुआब्जा गुजरातमा दिइएको छ । सब सत्ता मुख्यमन्त्रीको हातमा थियो । ‘वन विन्डो सिस्टम’ उनले भन्ने गरेका छन् । जमीन हातमा लेऊ र कौडीको भाऊमा कर्पोरेट हाउसलाई देऊ । १५ सालसम्म कर छुट गराइदेऊ र कर्पोरेट हाउसको सेवा गर । जनआन्दोलन बढ्यो भने त्यसलाई कुल्चिदेऊ । यही हो उनको गुजरात मोडल ।

कुपोषणको मामिलामा गुजरात पहिलो नम्बरमा छ । स्वास्थ्यमा सबैभन्दा खराब अवस्था गुजरातको छ । ठूला ठूला घर बन्नु, फराकिलो सडक बन्नु वा ठूला ठूला कारखाना खुल्नुमात्रै विकास होइन । पहिलो सवाल के हो भने विकास कसका लागि ? धनीलाई धनी बनाउनका लागि होइन, गरिबको अवस्था उकास्नका लागि विकास हुनुपर्छ । मोदीको विकास कर्पोरेट हाउस र मल्टिनेसनल कम्पनीका लागि, साम्राज्यवादका लागि हो ।

उसोभए मोदी नेपालमा पनि त्यस्तै विकास गर्न चाहन्छन् त ?

मोदी नेपालको विकासको कुरा गर्छन् । उनी भन्छन्, तिमी गरिब देश हौ, तिम्रो विकास हुनुपर्छ । तिमीहरुलाई रोजगारी मिल्नुपर्छ, हामी नेपालको विकासको पूरै ढोका खोलिदिन्छौं, हाम्रा जो भारतीय उद्योगपति छन्, उनीहरु नेपालमा कर छुट चाहन्छन्, त्यो देऊ, उनीहरु आएर नेपालमा उद्योग लगाउनेछन्, नेपालमा आफ्नो काम गर्छन् र तिम्रो विकास हुन्छ, उनीहरु नेपालबाट मुनाफा लुटेर लिएर जान्छन् । मोदी नेपालका लागि यस्तै विकासको कुरा गरिहेका छन् ।

मोदी नेपाल भ्रमणमा आउँदा ६ सय मेगावाटको हाइड्रो प्रजेक्टमा सघाउने कुरा उठिरहेको छ नि ?

मोदी भन्छन् कि नेपालमा २४ घण्टा बिजुली दिन्छु । अरे, पहिले दिल्लीमा त देऊ ! दिल्लीमा २४ घण्टा विजुली छैन । मोदीको सरकार छ, दिल्लीमा १०/१२ घण्टा बिजुली गइरहेको छ । तिमी देशको राजधानीमा त बिजुली देऊ । जब जोलीले एमालेको अधिवशेनमा बिजुलीको कुरा गरेर कुर्सीमा बसे, मैले भने, जोलीजी दिल्लीमा त बिजुली छैन, तिमी यहाँ २४ घण्टा बिजुली दिन्छौ ? जो आफ्नै देशमा बिजुली दिन सक्दैनन्, तिनले नेपालमा कहाँबाट दिन्छन् ?

उनीहरु नेपालको विकासका नाममा भारतीय उद्योगी घरानियाँलाई नेपालको ढोका खोल्न चाहन्छन् । पुँजीपतिहरु नेपालमा आएर उद्योग खोल्छन्, सेवा प्रवाह गर्छन्, शिक्षा प्रवाह गर्छन् र यहाँका प्राकृतिक स्रोतहरु लिएर जान्छन् । मोदी भारतीय कर्पोरेट हाउसका लागि यो सब गरिरहेका छन्, नेपालका लागि होइन ।

प्रस्तुती- अरुण बराल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment