ध्रुव भट्टराई
१ साउन, बिराटनगर । रोजगारीका लागि दिनहुँजसो नेपाली युवा विदेशिइरहेका अवस्थामा मोरङ कटहरीका युवा उपेन्द्र सिंह भने विदेशबाट आफ्नै बारीमा लौका खेती गरेर लाखौं आम्दानी गरिरहेका छन् ।
कटहरी-९, नयाँजारका २९ वर्षीय युवक सिंहले विगत ३ वर्षदेखि तरकारी खेती गर्दै आएका छन् । उनले तरकारी खेतीबाटै वाषिर्क सात लाख आम्दानी गर्ने गरेको बताए ।
सिंहले खाली रहँदै आएको आफ्नो १ विघा ५ कठ्ठा क्षेत्रफलमा तरकारी खेती लगाएका छन् । उनको बारीमा यतिखेर काँक्रा, लौका, बोडी, तितेकरेलालगायतका तरकारी फलेको प्रशस्त देख्न सकिन्छ ।
आम्दानीको भरपर्दो स्रोतको अभावमा उनी ४ वर्ष विदेश बसेर फर्किएका हुन् । पढाइमा अति लगनशील भए पनि आम्दानीको स्रोत नभएपछि वीचैमा प्रमाणपत्र तहको अध्ययन रोकेर उनी सन २००६ मा वैदेशिक रोजागरीका लागि मलेसिया हानिएका थिए । मलेसियामा चार वर्ष बसेपछि उनले सन् ०११ मा स्वदेश फर्किएर तरकारी खेती गर्न थालेका हुन् ।
सिंहका अनुसार उनले मलेसियामा अर्काको अधीनमा बसेर काम गर्दा वाषिर्क ३ लाख कमाउँथे । तर, अहिले तरकारी खेतीबाट उनको वाषिर्क कमाइ सात लाख रहेको छ । तरकारी खेतीका लागि अहिले उनले पाँच जनालाई दैनिक रुपमा रोजगारी समेत दिएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका वागवनी विकास अधिकृत काशी चौधरीको सहयोगमा उनले ६० हजार लगानीमा तरकारी खेती करिव ७ कठ्ठा क्षेत्रफलबाट गर्न शुरु गरेको सिंहको भनाइ छ । तरकारी खेतीवाट मन्नग्गे आम्दानी भएपछि प्रत्येक वर्ष तरकारी खेती विस्तार गर्दै उनले १ विघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती विस्तार गरेका हुन । अहिले उनी जिल्लाकै जुझारु एवं सफल कृषकका रुपमा समेत चिनिन थालेका छन् ।
जिल्ला कृषि विकास कार्यालयबाट उनले यसैवर्ष युवा स्वरोजगार कार्यक्रम मार्फत ६० हजार अनुदानसमेत पाएका छन् भने हाते ट्याक्ट्रर खरिदका लागि ६२ हजार अनुदान कार्यालयले उपलव्ध गराएको छ ।
काम गर्ने इच्छाशक्ति भए आफ्नै बारीमा सुन फलाउन सकिँदो रहेछ भन्ने उनको अनुभव छ । ‘बेरोजगार भएर म आफै विदेशिएँ, तर त्यहाँको जस्तो दुःख नगरी पनि देशमै प्रशस्त कमाइ गर्न सकेको छु,’सिंह भन्छन्- ‘हामीले कुनै पनि कामलाई सानो ठूलो भनेर छुटाउन नहुने रहेछ भन्ने पाठ समेत सिकेको छु ।’
सिंहको तरकारी खेतीबाट दैनिक २ हजार मुल्य वरावारको सब्जी बिराटनगर बजारका पुग्ने गरेको छ । तरकारी खेतीको अम्दानीबाटै उनले जग्गा जमीन र घरसमेत जोडेका छन् । २ सन्तानका बुबा सिंह भन्छन् -‘युवाहरु विदेशिनुको साटो मेहनत गर्न सके आफ्नै ठाउँमा सुन फलाउन सकिँदोरहेछ ।’
प्रतिक्रिया 4