Comments Add Comment

घिऊकुमारी बेच्नेसँग किसानले गरेको कागज !

Elovera-1

पुष्प दुलाल

९ साउन, काठमाडौं । पत्रकारिता पेसा छाडेर दुई वर्षअघि चितवनमा एलोभेरा र स्टेभियाको खेती सुरु गरेका कृष्ण बिष्टको २५ लाख रुपैयाँ डुब्यो । खेताला लगाएको र आफ्नो समेत गर्च जोड्दा ३२ लाख रुपैयाँ डुबेको बिष्टले हिसाब निकालेका छन् ।
पार्म एग्रोटेक एण्ड बायो-इनर्जी प्रालिका प्रबन्ध निर्देशक रुद्र गिरीले एलोभेरा र स्टेभियाको खेती गर्दा एक वर्षमै लगानीको दोब्बर आम्दानी हुन्छ भनेपछि आर्थिक साप्ताहिक पत्रिका ‘इकोनोमिक पोष्ट’ का प्रकाशक/सम्पादक विष्टले पत्रिका नै बन्द गरेर डेढ विगाह जमीनमा घिउकुमारी खेती सुरु गरेका हुन् ।

krishna-bistaप्रतिविरुवा ४० रुपैयाँका दरले ४० हजार बिरुवा रोपेका विष्ट भन्छन्- ‘एक वर्षमा २५ हजार बिरुवा र ३० हजार केजी पात उत्पादन गरी गिरीलाई बिक्री गरें तर, अहिलेसम्म एक रुपैयाँ पनि भुक्तानी पाएको छैन । मैले यसवापत उनीबाट पाँच लाख रुपैयाँ पाउनुपथ्र्यो ।’
‘एक वर्ष भयो, गिरीले फोन पनि उठाउँदैनन्’ विष्ट भन्छन्, ‘बैराग लागेर आयो, त्यसैले अहिले बारामा पशुपालन व्यवसाय सुरु गरेको छु ।
यसैसाता चितवनमा पक्राऊ परेका गिरीले किसानसँग पाँच वर्षको सम्पूर्ण उत्पादन आफूले किन्ने सम्झौता गरेका थिए । तर, उनले उधारोमा किन्ने र भुक्तानी नदिई सम्र्पकविहीन बन्ने गरेपछि बिष्टजस्तै धेरै किसानहरुको अहिले सडकको बास भएको छ ।
चितवन प्रहरीले शनिबार गिरीलाई पक्राउ गरेको खबर सुनेपछि विष्टले आफू निकै खुसी भएको प्रतिक्रिया दिए । ‘मान्छे भेटेका दिन असुल गरौँला भनेर बसेको थिएँ, शायद अब असूली गरेरै छाड्छु’ उनले भने- यस्ता ठगलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ ।’
समाचार छाप्दा लठ्ठिएपछि
काठमाडौंको भृकुटीमण्डपमा भएको कृषि मेलाको समाचार संकलनका क्रममा आर्थिक पत्रकार विष्टले गिरीलाई भेटेका थिए । ‘कृषि मेलामा गिरीले स्टल राखेका रहेछन्, मैले चासो दिएर एलोभेरा, स्टेभियाका बारेमा सोधेँ, विष्ट भन्छन्- ‘मेरो पत्रिकामा उनको अन्तरवाता र प्रोफाइल पनि छापेँ, उनका कुरा सुन्दा म प्रभावित भएँ । तर, त्यही भेट मेरा लागि अभिशाप बन्यो ।’ समाचारकर्म गर्नुपर्ने व्यक्तिले पैसा कमाउने आशमा व्यवसाय परिवर्तन गर्न खोज्दा उनी यतिबेला पशुपालक किसान बन्न पुगे ।
कर्पोरेट मिडियाले किसानलाई फसाए
गिरीले कर्पोरेट मिडियाको प्रयोग गरेर विज्ञापन गरी आफूजस्तै सयौं सर्वसाधारणमाथि ठगी गरेको विष्ट बताउँछन् । ‘भएभरका मिडिया र टीभीले एलोभेरा र स्टेभियाको खेती अत्यन्तै राम्रो हुन्छ भनेर देखाए, कृषिमा त अरुजस्तो ठगी हुँदैन होला भन्ने लाग्दा धेरै किसानहरु मजस्तै नराम्रोसित फसेँ’-विष्टले अनलाइनखबरसँग भने ।
त्यसो पत्रकार विष्ट र एलोभेराका बिरुवा ब्यापारी रुद्र गिरीको सम्बन्ध सुरुमा निकै राम्रो थियो । करिब एक दर्जनपटक गिरीकै गाडीमा विष्टले काठमाडौ-चितवनसमेत गरे । ‘तर, संगत बढ्दै गएपछि ऊ ठग हो भन्ने लाग्यो, तर त्यसबेला मैले उसँग बिरुवा किनेर रोपिसकेको थिएँ’ विष्ट भन्छन् -‘यात्राका क्रममा गिरीले कहिले मेरो दुईवटा बुद्धि छ भन्थे त कहिले अतालिएका देखिन्थे ।
साढे ४ सय किसानबाट ११ करोड ठगेको अनुमान
पत्रकार विष्टजस्तै ५६ जिल्लाका करिब ४ सय ५० किसानबाट गिरीले करिब ११ करोड बराबरको ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
गिरीलाई शनिबार पक्राउ गरी चितवन प्रहरीले ठगीको कसुरमा मुद्दा चलाएको छ । सम्झौताअनुसार काम नगरेको र बाउन्स चेकका उजुरीसमेत आइरहेको चितवनका डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
गिरीको कम्पनी पार्म एग्रोटेकले किसानलाई प्रति बिरुवा ४० रुपैयाँका दरले बिरुवा बिक्री गर्थेर् । एक किसानले ६ हजारभन्दा कम विरुवा किन्न नपाउने गिरीले नियमै बनाएका थिए । यसरी ४ सय ५० किसानलाई कम्तिमा पनि ११ करोड रुपैयाँ बराबरको बिरुवा बेचेको अनुमान गरिएको छ ।
संघर्ष समिति गठन
रुद्रा गिरीबाट पीडित किसानहरुले गत साउन ४ गते चितवनमा एलोभेरा पीडित संघर्ष समिति नै गठन गरेका छन् । रामनाथ अधिकारीको संयोजकत्वमा गठित समितिमा मुक्तिराम जीसी, चिरन पिया, प्रकाश चापागाई, रोशन दाहाल, शेरबहादुर कार्की, कृष्ण आचार्य, रविचन्द्र ढकाल, मित्रलाल पाण्डेलगायत छन् । उनीहरुसँग गिरीले लिखित सम्झौता गराई एलोभेरा र स्टेभियाका बिरुवा बिक्री गरी ठगी गरेको किसानको गुनासो छ ।

minute

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment