१० असार, काठमाडौं । राजधानीमा खसीको भन्दा ब्रोइलर कुखुराको मासुको मूल्यवृद्धि उच्च देखिएको छ । अघिल्लो असारदेखि अहिलेसम्म एक वर्षको अवधिमा खसीको भाउ ८० रुपैयाँले बढेको छ भने ब्रोइलरको भाउ ९० रुपैयाँले बढेको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका अनुसार अघिल्लो असारमा खसीको मासुको भाऊ प्रतिकिलो ७ सय रुपैयाँ रहेकोमा यस असारमा ७ सय ८० रुपैयाँ पुगेको छ । ब्रोइलर कुखुराको मासुको भाउ २ सय ६० रुपैयाँबाट ३ सय ५० रुपैयाँ पुगेको छ ।
यस बीचमा जेठ महिनामा खसीको भाउ प्रतिकिलो ८ सय रुपैयाँ पुगेको भए पनि असार महिनामा २० रुपैयाँ घटेर ७ सय ८० रुपैयाँ कायम हुन पुगेको हो । खसी र ब्रोइलर मासुको भाउमा अघिल्लो असारदेखि यो असारसम्म उतार-चढाव देखिएको छ ।
मासुको सबैभन्दा बढी खपत हुने महिनाहरु असोजमा खसीको मासु ७२० रुपैयाँ रहेकोमा कार्तिक महिनामा एक्कासी बढेर ७ सय ९० रुपैयाँ पुगेको थियो । असोजमा ३ सय १० रुपैयाँ रहेको ब्रोइलरको मासु कार्तिक महिनामा ३ सय ५० रुपैयाँ पुगेको थियो ।
चैत महिनामा आइपुग्दा खसीको मासु घटेर ७ सय ५० रुपैयाँमा झरेको थियो भने ब्रोइलर कुखुराको मासु ३ सय ४० रुपैयाँमा झरेको थियो । बैशाख महिनामा सोही मूल्यमा किनबेच भएको खसीको मासु जेठमा ८ सय पुगेको बल्खु तरकारी बजार व्यवस्थापनले जानकारी दियो । अहिले खसीको मासु घटेर ७ सय ८० रुपैयाँ र कुखुराको मासु ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
मास/महिना | (०७०)असार | साउन | असोज | कार्तिक | चैत | बैशाख | जेठ | (०७१)असार |
---|---|---|---|---|---|---|---|---|
खसी | ७०० | ७१० | ७२० | ७९० | ७५० | ७५० | ८०० | ७८० |
ब्रोइलर | २६० | २९५ | ३१० | ३५० | ३४० | ३४० | ३४० | ३५० |
प्रतिक्रिया 4