+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भक्तपुरमा रगतको चरम अभाव

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते ८:१८

१३ साउन, भक्तपुर । केही महिनाअघि सम्म रगत नपाए भक्तपुर जानु भन्ने कथन बोकेको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाअन्तर्गत रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव भएको छ । रक्तदान गर्नेको सङ्ख्यामा अकस्मात कमी आएपछि भक्तपुरमा पनि रगतको अभाव भएको हो ।blood

विगतका वर्षमा काठमाडौँमा रगतको अभाव हुँदा पनि भक्तपुरमा पर्याप्त रगत हुने भएकाले रगत नपाए भक्तपुर जानुपर्ने कथन नै बसेको भए पनि यस वर्ष भने भक्तपुरमा पनि रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिए ।

काठमाडाैँलगायत बाहिरी जिल्लाबाट समेत भक्तपुरमा रगत लिन आउँदा पनि रगत पुर्‍याएको भक्तपुरले यस वर्ष रक्तदाताको कमी भएका कारण रगतको अभाव सृजना भएको उनले वताए । रगत लिन भक्तपुर आउँदा रित्तो हात र्फकनु नपर्ने भए पनि अहिले रगतको कमी भएपछि बिरामीलाई मागअनुसारको रगत दिन नसकिएको सभापति थापाले बताए ।

उनले भने,’अहिले पनि रगत लिन आउनेलाई रित्तो हात फर्काएका छैनौँ तर धेरै रगत माग गर्नेलाई थोरै भए पनि रगत दिएका छौँ, आपत्कालीन अवस्थाका बिरामीका लागि रक्तदातालाई फोन गरी गरी बोलाएर रगत लिने गरेका छौँ ।’

रेडक्रस भक्तपुरले रक्तदानप्रति आकर्षण बढाउन वर्षमा चार पटकसम्म रक्तदान गर्ने रक्तदातालाई हरेक वर्ष विशेष कार्यक्रममा सम्मान गर्दै अवार्डसमेत दिने गरेको छ । ताजा रगत दिनुपर्ने अवस्थामा रेडक्रसले सम्पर्कमा रहेका पत्रकार, विद्यार्थी, शिक्षक, चिकित्सक, नर्स, सेना, प्रहरीलगायत सर्वसाधारण समेतलाई बोलाएर रक्तदान गर्न लगाउने गरेको छ ।

विगतमा एक महिनामा २८ पटकसम्म रक्तदान कार्यक्रम हुने गरे पनि अहिले भने एक महिनामा मुस्किलले पाँचपटक मात्र रक्तदान कार्यक्रम हुने गरेकाले पनि रगत अभाव भएको उनको भनाइ छ । एक महिनामा एक हजार पिन्टभन्दा बढी रगत सङ्कलन हुने गरेकामा अहिले मुस्किलले २०० पिन्ट रगत मात्र सङ्कलन हुने गरेको छ ।

गतवर्ष २५ हजार पिन्ट रगत सङ्कलन भए पनि यस वर्ष अहिलेको अनुपातमा कम हुने आशङ्का गरिएको छ । अहिले पनि काठमाडौै, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालबाट बिरामीका आफन्त रगत लिन भक्तपुर आउने गरेकाले भक्तपुरमा रगतको माग बढी रहेको हो । दैनिक २०० पिन्टसम्म रगत माग हुँदै आएकामा रेडक्रस रक्तसञ्चार केन्द्र भक्तपुरले दैनिक ७५ देखि १०० पिन्टसम्म रगत दिँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?