News Summary
Generated by OK AI. Editorially reviewed.- याक्थुङ लिम्बू समुदायले अन्नबाली थन्काउने समयमा मनाउने चासोक थिसोकलाई आफ्नो मौलिक पहिचानको रूपमा लिएका छन्।
- चासोक थिसोकमा याक्थुङ मुन्धुमअनुसार अन्नबालीको विउ छर्ने, मर्चा र जांड बनाउने विधि सिकाइएको छ।
- धरानमा मंसिर १८ गतेदेखि पाँच दिनसम्म चासोक तङनाम उत्सव चुम्लुङ हिम परिसरमा मनाइने तयारी गरिएको छ।
यतिबेला पुर्वका लिम्बू समुदाय धुमधामले चासोक थिसोक (चासोक तङ्नाम) मनाइरहेका छन् । खेतबारीमा लगाएको अन्नबाली थन्काउने बेलामा चासोक थिसोक मनाउने गर्छन्। पछिल्लो तीन दशकयता भने यो सांस्कृतिक चाडलाई ‘चासोक तङ्नाम’ भन्न थालिएको छ।
अन्नबाली खेतबारीमा फल्न वा पाक्न थालेपछि आफ्नो समयअनुकुल कात्तिकदेखि मंसिर–पुसमा थन्काउने गरिन्छ । औल तिर केही साता चाडै पाक्ने भएकाले कात्तिक तिरै अन्नबाली थन्काउछन् । तर लेक तिरको अन्नबाली पाक्न केही समय बढी लाग्ने भएकाले मंसिर पुस पर्खिनु पर्छ। पाक्ने समय एकै नास नहुदा कसैले कात्तिकमै चासोक थिसोक मनाउने गरेका छन् भने कसैले मंसिर पुसमा।
सरकारले भने यो चासोक थिसोकलाई अन्य प्रकृतिपुजक आदिबासीको मंसिरे पूर्णिमालाई उद्यौली पर्वमा समावेश गरेर विदा दिने गरेको छ। यद्यपि, याक्थुङ लिम्बू समुदायले मनाउने चासोक थिसोक उद्यौली पर्व होइन । उद्यौली र उभौली पर्वसंग चासोक थिसोकको इतिहास र साइनो जोडिन्न।
मुजिङ्ना खेयङ्नाले ल्याएको अन्नबालीको बिउ र मर्चा
याक्थुङ मुन्धुमसावा भवानी अन्छङ्बो, मुन्धुमविदहरु बैरागी काइला, तुम्याहाङ लक्ष्मण मेन्याङ्बो, तुम्याहाङ एसवी ताप्मादेनहरुका अनुसार याक्थुङ मुन्धुमले लिम्बूका पुर्खाहरुलाई सावायेहाङ भन्छ। मुन्धुमअनुसार सावायेहाङहरु आदिमकालका अगुवा स्त्री मुजिङ्ना खेयोङ्ना (मुजिङ्ना मयङ्ना) का सन्तान हुन्।
तिनै आदिम स्त्री मुजिङ्ना खेयोङ्नालाई तागेरानिङ्वाफुमा(ङ) (सर्वसशक्तिमान प्रकृति) ले नै अन्नबालीको विउविजन दिएपछि उनले त्यो अन्नबालीको विउविजन पाखा भित्तामा भस्मे फाडेर छरपोख गर्छिन्।
अन्नबालीको विउविजनसंगै उनले तागेरानिङ्वाफुमाबाट मर्चा बनाउने र जांड बनाउने विधि पनि सिकेर आएकी हुन्छन् । उनले आफुबाट फैलिएका सन्तानहरुलाई अन्नको वीउ विजन र मर्चा र अन्नको जांड बनाउने विधि पनि सिकाउछिन्।
मुन्धुमसावा अन्छङ्बो भन्छन्, ‘अन्नबाली चाही सावायेहाङहरुको शरीरमा पौष्टिक आहार मिलोस भनेर दिएको हो भने मर्चा र जांड भने त्यो प्राचीन समयमा घाउचोट लाग्दा, थकित हुदा शारिरिक दुखाई कम गराउने अहिलेको एनेस्थेसिया वा पेनकिलर जस्तै हो ।’

उनका अनुसार अन्नबालीका विउ लिदा र मर्चा र जांड बनाउने विधि सिकेको बेला मुजिङ्ना खेयोङ्ना सुरितकेजङमा बतास (अनाम वेनाम कुनै पुरुष?)संग सहवास गरेर गर्भवती भएकी थिइन्। निर्धारित नौ महिना पछि नवजात शिशु जन्मदा प्रशव पिडाले सताउने भएकाले त्यो पिडालाई कम गर्न मर्चाले बनेको कोदोको जांड बनाएर खानु भनेर उपदेश दिएकाले आदिम स्त्री मुजिङ्ना खेयङ्नाले पनि तागेरानिङ्वाफुमाको निर्देशन पालना गर्छिन्।
मुजिङ्ना खेयोङ्ना तरुनी भएपछि यौन सहपाठी खोज्ने क्रममा रुखको कापेमा बसेर सुसेलेको र बताससंग संसर्ग गरेर गर्भवती भएको स्थल ताप्लेजुङको फक्ताङ्लुङ गाउ पालिकास्थित तमर नदी (स्थानीय र याक्थुङ मुन्धुमी भाषामा इम्बिरी याङ्धाङ्वा) किनारमा पर्ने सांगुयक कोपियकमा सुरितकेजङ डाडा रहेको मुन्धुमले बर्णन गरेको छ।
अन्नबालीको विउ छर्ने, बाड्ने र मर्चा, जांडको प्रयोग गर्ने मुजिङ्ना खेयोङ्नाले पहिलो बच्चा सुसुवेङ लालावेङ् जन्माएर सालनाल काटेर धोइपखाली गरी नुहाइदिएको र जंगली बेसारका सुकेका पातको थाङ्ना बनाएर राखेको स्थललाई थाप्लाङ्वा भनिन्छ जुन साविक तापेथोकको छिरुवानीमा पर्छ। थाप्लाङ्वाको भित्ता पहराका छन् । पहराको चेपबाट एकातिरबाट सेगाङ्वा र अर्को तिरबाट लेगाङ्वा झरना वग्छ र केही समथर परेको थाप्लङ्वा हुदै करिव दुइसय मिटर तल वगेपछि तमर नदीमा मिसिन्छ।
मुजिङ्ना खेयङ्नालाई तागेरा निङ्वाफुमाले तीन महिनामा पाक्ने अन्नबालीहरु पारामा (पाङ्दुरे कोदो), पया (कागुनो), घैया (धान), लेकमा हुने धान ताक्मारुया ?, तुम्री, साङ्घामाका बिउ दिन्छन् । उनले ल्याएको विउ छरपोख गरेर फैलिएजस्तै सावायेहाङहरु पनि इम्बिरीयाङ्धाङ्वा (तमर आसपास) फैलिन्छन्।
मुजिङ्ना खेयङ्नाले सुसुवेङ् लालावेङलाई जन्म दिन्छन् । वयस्क भएपछि सुसुवेङ लालावेङले आफुलाई महान शिकारीको रुपमा चिनाउन आफ्नो नाम बदल्दै सावायुक्पुङकेम्बा राखेपछि थोसुलुङ्मा फियमलुङ्मा र उनका साथी सुसाङ्लिङ्मा, योसुलुङ्मा चुगुतलुम्मा र उनका साथी तुसाङ्लिङ्मा संग बेग्ला बेग्लै ठाउमा भेट भएर सहबासी गर्छन्।
सहबासको नतिजा सन्तान फैलिन्छन्। अर्थात थोसुलुङ्मा फियमलुङ्माबाट सुच्छुरु सुहाम्फेवा, सुसाङ्लिङ्माबाट थोसुखेवा साम्दाङखेवा, योसुलुङ्मा चुगुतलुङ्माबाट तेत्लारा लाहादङ्ना र तुसाङलिङ्माबाट योसुखेवा लिङ्दाङ्खेवा जन्मिन्छन्।
याक्थुङ मुन्धुमले आदिमकालमा अन्नबाली छरपोख गरेर उव्जाउने विधि पहिले सिकेको जानकारी दिन्छ। त्यसपछि मात्र विवाह संस्कार, घर बनाउने संस्कार, साइनो सम्बन्ध गांस्ने, मृत्यु संस्कार आदिलाई अंगाल्ने चलन सुरु भएको देखिन्छ।
मुन्धुमअनुसार सावायेहाङहरुका सन्तान बढेर यत्रतत्र फैलिएपछि आफूलाई बचाउने प्रकृतिलाई र अन्नको विउ विजन छरपोख गरेर आगोमा पकाएर खान सिकाउने पितृलाई सवैभन्दा पहिले अर्पण गरेर मात्र खानुपर्छ भन्ने संस्कृतिको निर्माण गरे । यो संस्कृति निर्माण हुन लामो समय लाग्यो।
उनीहरुले अन्नबालीको विउ छर्ने र पाकेपछि टिप्ने समयको क्यालेण्डरको रुपमा इम्बिरी याङ्धाङ्वा क्षेत्र भित्रै उत्पती भएको पैयुं र आरु फुल्ने सिजनलाई माने । पैयुं र आरुको बोट पुर्वी नेपालको रैथाने जातिमा पर्छ।
हिमालय हुदै सिक्किम र दक्षिण चिनका पहाडबाट अन्यत्र फैलिएको वनस्पतीशास्त्रीहरुले बताउदै आएका छन्। सावायेहाङहरुले प्राचीनकालमा कात्तिक मंसिरमा पैयुं फुलेपछि अन्नबाली पाक्ने र विउ सुरक्षित थन्काउदै पितृ र प्रकृतिलाई चढाउने चलन सुरु गरे।

याक्थुङ मुन्धुमको तकसोक थिसोक (चासोक) मुन्धुममा ‘नासादिङ् फुन्छिङ फेक्किले खाम्बुदाक कुयुम्मा (माटो थ्रिगेर अन्न पाक्ने समयमा पैयुं फुल्छ) भनेर उल्लेख छ। यस्तै माघ फागुनमा फुल्ने लेकाली झुसे आरु फुल्न थालेको बेला माटोको उर्वराशक्ती बढ्ने र त्यसैबेला विउविजन छरपोख गर्नुपर्छ भन्ने ज्ञान पाए।
यसलाई याक्थुङ मुन्धुममा ‘नासादिङ खाम्रेक फेक्किले खाम्पुत्थाङ् कुयुम्मा’ भनेर उल्लेख गरिएको छ । याक्थुङ मुन्धुमी भाषामा फुन्छिङ भनेको पैयं र खम्रेक भनेको झुसे आरु हो । चासोक बारेमा साक्मा युमाङ्पोक्मा मुन्धुमले विस्तृत रुपमा बर्णन र व्याख्या गरेको छ।
बीउ छर्ने समयमा युमाङ खमा मुन्धुम सम्पन्न गरिन्छ । खेतबारीमा लगाएको बालिनाली नविग्रियोस्, सप्रियोस्, बाढी पहिरो, महामारी नआवोस् भनेर तिनै प्रकृति खोलानाला, डाडापाखा, हावापानी, आकास, बादल, भरीलाई नै सम्बोधन गरेर पुकारिन्छ।
मुन्धुम सावा अन्छङ्बोकाअनुसार अन्नबाली पाकेपछि चोखो अन्नबाली पकाएर मुजिङ्ना खेयङ्ना (मुजिना मयङ्ना)लाई अर्पण गर्नुलाई तकसोक थिसोक भनिन्छ । यहा तक भनेको अन्नलाई भॉडामा पकाएपछि बनेको भात हो भने थि भनेको कोदोको जाँड भन्ने बुझ्नुपर्छ। यसरी प्रारम्भ भएको हो तकसोक थिसोकको प्रचलन। आधुनिक समयमा आएर किरात याक्थुङ चुम्लुङले अन्नबाली छर्ने समयलाई यक्वा तङ्नाम र छरेको अन्नबाली थन्क्याउने समयलाई चासोक तङ्नाम भन्ने गरेको छ।
चासोक थिसोकः आदिम याक्थुङ सभ्यता सम्झाउने कडी
याक्थुङ लिम्बूले चासोक थिसोक मनाउनु भनेको कुनै धर्म वा धार्मिक ग्रन्थअनुसार कर्मकाण्ड गर्नु होइन । यो संस्कृतिसंग जोडिएको छ । संस्कृति मान्छेले प्रकतिलाई आफ्नो अनुकुल बनाउने क्रममा निर्माण र विस्तार हुन्छ । मुन्धुम निर्देशित जीवनशैली अपनाउने शिलशिलामा याक्थुङ लिम्बूहरुले अनादिकालदेखि यो चाडलाई निरन्तरता दिदै आएका छन्।

यो चाडको अवसरमा याक्थुङ लिम्बूहरुले आफ्नो पुर्खा (पितृ) र प्रकृतिलाई कृतज्ञता प्रकट गर्ने नै भए अन्य धेरै माङ–साम्माङको पनि पूजाआराधना गर्छन्। मुन्धुमसावा येवा, येमानी, साम्बा र फेदाङ्माको सहयोगमा याक्थुङ लिम्बूहरुले चासोक थिसोकमा मातृशक्ती र समग्र समाज र परिवार संरक्षणकर्ताको प्रतिक युमा, पितृ शक्ति र बल–विर्यका प्रतिक थेवा, शिकारीको प्रतिक कुइकुदाप र ताङभुङ्ना घाम र प्रकृति अनुग्रहको प्रतिक थुङ्दाङ्वा, घरको संरक्षकताको प्रतिक हिम साम्माङ, हिम साम्माङका सहयोगीहरु फाक्मुरा चखोवालगायतको थान बनाएर नया अन्नबाली, जांडको तोङ्बा, फलफुल, धुप अक्षता अर्पण गरेर मुन्धुम फलाक्दै सुख, शान्ति र समृद्धिको आशिर्वाद माग्ने चलन छ।
सम्पूर्णता, स्वाभिमान, सहअस्त्वि र सामूहिकता
याक्थुङ मुन्धुमले चराचर जगतमा सम्पूर्णता, सृष्टि पछिको सौन्दर्य, व्यक्तिगत मानवीय स्वाभिमानको आग्रह र संरक्षण, एकापसमा सहअस्तित्वको बाचा र सामुहिकता पछि सामाजिक एकताको बर्णन गर्दै आएको छ । त्यसैले याक्थुङ लिम्बू समुदायले अन्नबाली पाकेपछि सवैभन्दा पहिले प्रकृतिलाई चढाउने चढाउने गर्दछन्।
प्रकृति वा अन्नबालीको खेती गर्न सिकाउने मुल पुर्खालाई सम्झेर मनाउने चासोक तङनाम वास्तवमा अन्नबाली भित्राउदाको उत्सव मात्र नभएर आदिम कृषीयुगसँग जोडिएको मुन्धुमी विरासत मानिएको छ। पुर्खाहरुले निर्माण गरिदिएको आदिम संस्कृति चासोक थिसोकलाई याक्थुङ लिम्बूहरुले अहिले आएर आफ्नो मौलिक पहिचानको रुपमा लिदै आएका छन्।
आधुनिक र मिश्रित संस्कृतिले गांजेको बेला नयाँ पुस्ता (जेनजी) पुस्तालाई हस्तान्तरण गर्न पछिल्लो समयमा याक्थुङ लिम्बू समुदायका जातीय संस्था, थरगत थुमगत संस्थाहरुले चासोक तङ्नाम भनेर विभिन्न कार्यक्रम गर्दै आएका छन्।

पछिल्लो समयमा याक्थुङ लिम्बू समुदायले चासोक तङ्नामको अवसरमा मौलिक भेषभूषामा सजिएर एकआपसमा भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, साइनो नलाग्ने तरुनी तन्नेरीवीच एकापसको हात समाएर परम्परागतरुपमा पालाम भन्दै यालाङ (धान नाच्ने) केलाङ (च्याब्रुङ बजाउदै नाच्ने) बुढाबुढीहरु ख्याली र हाक्पारेका लयमा जीवन र जगतमा हुने प्रेम र विरहका कथा सुनाउने गरेका छन्।
आधुनिक र मिश्रीत संस्कृतिले गांजेको बेला नया पुस्ता (जेनजी) पुस्तालाई हस्तान्तरण गर्न पछिल्लो समयमा याक्थुङ लिम्बू समुदायका जातीय संस्था, थरगत थुमगत संस्थाहरुले चासोक तङ्नाम भनेर विभिन्न कार्यक्रम गर्दै आएका छन्।
भेला भएको बेला लेकाली भेगको रुखमा पलाउने एक प्रकारको खाने झ्याउ (याङ्वेन), कोदोको जांडको तोङ्बा र तीनपाने रक्सी, चाम्रे, फिलिङ्गेको अचार, किनेमाको अचार, सेर्गेङ जस्ता मीठामीठा परिकार बनाएर हुक्वा (कोशेली) को साटासाट गर्दै खाने गर्दछन् ।
आफ्नो सभ्यता निर्माणको क्रममा पुर्खाले मानि ल्याएको र थामिल्याएको संस्कृतिको रुपमा यसैबेला याक्थुङ लिम्बुका आदिम पुर्खा पोरोक्मी यम्भामीले गुलेली र तिरले सिकार गरेको स्मरण गर्दै लि आप्मा (गुलेली हान्ने), ढुङ्गा हानेर बल प्रदर्शन गरेकालाई सम्झदै पक्लुङ लेप्मा (छेलो हान्ने) जस्ता खेल पनि प्रदर्शन गर्दै आएका छन्।
याक्थुङ सभ्यता निर्माणमा प्रमुख भूमिका खेल्ने प्रमुख पात्रकारुपमा परिचित विवेक र सौन्दर्यले परिपूर्ण मानिएकी आदिम स्त्री युमालाई सम्झेर लिम्बुहरु कपडा बुन्न कला र शील्प थाक् थाक्मा (तान बुन्ने) कला पनि प्रदर्शन गर्छन् । यसैवेला तरुनी तन्नेरीहरूको फुङ्वा चाङ्मा (जीवनरूपी फूल जगाउने) मुन्धुमी संस्कार पनि गर्दछन् ।
दशैंको स्थानमा चासोक तङ्नामः चुम्लुङ
नया अन्नबाली पाकेको बेला घरमा आफ्नै अनुकुल समयमा मनाउदै आ एपनि ०४६ सालको परिवर्तन पछि लिम्बूजातिले यो चाडलाई किरात याक्थुङ चुम्लुङले एकिकृत रुपमा मनाउन थाल्यो। चुम्लुङ हिम (कार्यालय) परिसरमा भेला भएर एकदिन देखि तीनदिन सम्म मनाउने चलन बसायो।
धरानमा भने न्यूनतम पाचदिनदेखि १० दिनसम्म मनाउने परिपाटी बसेको छ। यसपाली पनि आयोजना कियाचु धरान नगरसमितिले धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा मंसिर १८ गतेदेखि पाचदिनसम्म ‘चासोक तङनाम उत्सव’ मनाउने तयारी गरेको चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4