Comments Add Comment

‘मेलम्ची काण्ड’मा कुटनीतिक हस्तक्षेप गर्न चीनलाई आग्रह

Melamchi

२३ साउन काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. रामशरण महतले मेलम्ची खानेपानी आयोजनामा चिनियाँ बैंकले नेपाली बैंकलाई भुक्तानी नदिएकोमा कुटनीतिक हस्तक्षेप गर्न चिनियाँ समकक्षी लाउ बिजेसँग आग्रह गरेका छन् । बिहीबार चीनमा दुई देशका अर्थमन्त्रीबीच भएको भेटमा महतले यस्तो आग्रह गरेका हुन् ।

‘पश्चिम सेती जलविद्युत आयोजनामा भएको सुस्त कार्यप्रगति, मेलम्ची खानेपानी आयोजनामा चिनियाँ बैंकले नेपाली बैंकलाई भुक्तानी नदिएको जस्ता पक्षमा कुटनीतिक हस्तक्षेप गरी समस्या समाधान गर्नुपर्‍यो’ महतले भने ।

सो अवसरमा बिजेले आफ्नो ध्यानाकर्षण भएको प्रतिक्रिया दिएको अर्थमन्त्रालयले जनाएको छ । मेलम्ची परियोजनाका लागि जमानत बसेका हिमालयन र बैंक अफ काठमाण्डूको ८० करोड रुपैयाँभन्दा बढी फसेको छ ।  आयोजनाको ठेक्का लिएको चाइना रेल्वे कम्पनीले ठेक्का तोडेपछि नेपाली बैंकले भुक्तानीको अपिल गर्दै चिनियाँ अदालतमा निवेदन दिएका थिए । हालसम्म अदालतले फैसला गरेको छैन ।

चीनले नेपालको विकासमा सघाउने

यसैबीच चीन भ्रमणमा रहेका अर्थमन्त्री महतसँगको भेटमा निनियाँ अर्थमन्त्री जिबेले नेपालको विकासमा गर्दै आएको सहयोग बढाउन चीन सरकार तयार रहेको बताए । महतले नेपालको सडक र जलविद्युतलगायतका पूर्वाधारका क्षेत्रमा लगानी बढाउन चीन सरकारसमक्ष आग्रह गरेका थिए ।

‘आर्थिक सुधारलाई तीब्र रुपमा कार्यान्वयन गरेर नै चीनले आर्थिक विकास गरेको हो, नेपालले आफ्नै प्रयास अर्थात् आर्थिक सुधार गरेर पनि विकासमा फड्को मार्न सक्छ’ भेटका क्रममा बिजेलेे भने -आवश्यक परे चीनले थप सहयोग गर्ने छ ।

चीनले नेपाललाई वाषिर्क करिब ४ अर्ब रुपैयाँ बराबरको सहायता गर्दै आएको छ । निकट भविष्यमा सिंहदरवार भित्रको सौर्य उर्जा उत्पादन, लार्छा बाह्रविसे सडक बिस्तार, रसुवागढी सुख्खा बन्दरगाह लगायतका क्षेत्रमा चीनको सहायतामा परियोजनाहरु सञ्चालनमा ल्याउने बताइएको छ ।

केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा खर्च गर्न न्यून व्याजदरमा एक खर्ब रुपैयाँ सहयोगको घोषणा गरेका थिए । भारत सरकारको घोषणा लगत्तै चीनले पनि नेपालमा सहायता बढाउने बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment