Comments Add Comment

वीपीसँगै आलो मह खाने को-को थिए क्रान्तिकारी ?

BP_bichar yatraमात्रिका पौडेल

१ भदौ, भंगेरी (रामेछाप) । रामेछापको भँगेरीडाँडामा अहिले पनि प्रायः नेवारका घरमा माहुरीका घारहरु प्रशस्तै भेटिन्छन् । ७० वर्षअघि यही ठाउँमा अड्डा सार गर्दै ल्याइएका वीपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलाई मह खुवाएर पठाएको दृश्य अहिले पनि बुढापाकाले झल्झली सम्झिरहेका छन् ।

रामेछापको मात्र नभएर तत्कालीन ‘पूर्व २ नम्बरको गौंडा’ मानिने भँगेरी एउटा प्राचीन वस्ती हो । यो वस्तीका बूढाहरु अहिले भँगेरीडाँडाको पिपलमुनि बसेर ‘वीपी बिचार यात्रा’को बाटो हेर्दैछन् ।

वीपी जन्मिएको एक सय वर्षपछि नेपाली कांग्रेसले आइतबार बिराटनगरबाट शुरु गरेको वीपी विचारयात्रा भँगेरीमा आउँछ कि आउँदैन ? उनीहरु पर्खिरहेका छन् ।
वीपीसहितका क्रान्तिकारीहरुलाई बिराटनगरबाट राणा शासकहरुले अड्डासार गर्दै ल्याइएका गढी र गौंडाबाटै यो यात्रा आउने भनेकाले उनीहरु यहाँको गौंडा कुरेर बसेका छन् भन्दा पनि हुन्छ ।

त्यतिबेला कांग्रेस भनेका कस्ता रहेछन् भनेर हेर्न झुम्मिएका बालकहरु अहिले वृद्ध भइसकेका छन् । अहिले पनि उनीहरु झुम्मिएर बसेका छन् । तर, कांग्रेस हेर्न होइन, ‘वीपीको विचारयात्रालाई हेर्न ।’

ऊ बेलाका कांग्रेस

‘ऊ त्यही गौंडाबाट सेतो कमिज र पाइजामा लगाएका अग्ला कांग्रेसहरुलाई प्रहरीले लिएर आएका थिए’ ८३ वर्षीय शंकरबहादुर श्रेष्ठले सम्झिँदै भने-‘कांग्रेसहरु कस्ता हुँदा रहेछन् भनेर हेर्न हामी केटाकेटीहरु जम्मा भएका थियौं’ ।

‘त्यसबेला कांग्रेस कस्तो लाग्यो त ?’ त्यसबेला १३ वर्षे रहेका शंकरबहादुर फ्ल्यास ब्याकमा गए- ‘ओहो, कुरै नगर्नुस बाबु । कांग्रेस त अग्ला, गोरा र राम्रा राम्रा पो रहेछन् । विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र अरु दुईजना पनि थिए । सबैले कमिज र पाइजामा लाएका थिए । जुटमिलबाट समातेर ल्याएको भन्थे । हामीले खुट्टातिर पनि हेर्‍यौं, तर नेल र हत्कडीचाहिँ लाएका थिएनन्, नभाको कुरा गर्नुहुन्न ।’

Bhangeri Ramechha one
वीपी कोइरालाले मह खाएको ठाउँ देखाउँदै रामेछाप भंगेरीका एक वृद्द

महमा बस्यो वीपीको मन

भँगेरीमा अहिले पनि स्वर्गीय नारायणबाबु श्रेष्ठको चर्चा हुन्छ । उनकै बाबु ज्ञानबहादुर श्रेष्ठले राणा शासकले ‘मोस्ट वान्टेड’ सूचीमा राखेका वीपीसहितका क्रान्तिकारीलाई आफ्नै मौरीका घारबाट मह काढेर खुवाएका रहेछन् । अहिले ज्ञानबहादुर र नारायणबाबु त छैनन्, तर, यही घरमा बसेर बुढाहरुले त्योबेलाको घटना सम्झिए ।

मह खुवाएको प्रसङ्ग सम्झँदै शंकरबहादुर भन्छन्-कांग्रेसलाई मह ख्वाउँदा बडाहाकिमले सिध्याउलान् भन्न डर थियो । तर, बुढाले मरे पनि मरिन्छ एक बारको जुनीमा, बाहुनलाई खुवाएर मर्न पाए माथि ठाउँ पाइन्छ भन्दै मह काढें ।

आफ्नै हातले काढेको बाक्लो मह वीपी, गिरिजा र मनमोहन लगायतलाई अघाउँजी खान दिएर बिदा गरेको घटना अहिले पनि झलझली सम्झना आउँछ उनलाई । आहा, त्योबेलाको मह कुरै नगर्नुस् । बुढाहरु भन्न थाले- लौ हाम्रो त जीब्रोमै झुण्डिने भो यो मह भन्दै विश्वेश्वर प्रसादहरु अब जनताका दिन आउँछन्, हामी चाँडै फर्किन्छौं भनेर अर्को अड्डातिर पुसिलसँग गएका थिए, त्यसपछि कहिल्यै आएनन् ।

मनमोहनका मान्छे

शंकरबहादुरले कुरा नसिध्याउँदै कृष्णराम श्रेष्ठ अघि सरे । अनलाइनखबरकर्मीको हात समाउँदै उनले भने -मनमोहन अधिकारी त वीपीका भान्दाइका छोरा क्या । पछि तिनी कम्निस्ट भए । तीनैले दिएको वृद्धभत्ता खादैछौं हामी अहिले । साह्रै असल नेता ।’

त्यो टोलीमा वीपी, गिरिजा र मनमोहनसँगै मातृकाप्रसाद कोइराला थिए कि भन्ने बहस पनि बुढाहरुबीच चल्यो । ‘तर मात्रिका थिएनन्, हाम्रा बाजेले त्यतिबेला भनेको’ शंकरबहादुरले कुरा टुंग्याउदै भने -६ जना कांग्रेस थिए, पछि मनमोहनचाहिँ कम्निष्ट भयो भन्थे ।

को-को थिए टोलीमा ?

त्योबेला श्री ३ मोहन शमसेरको आदेशमा २९ दिन लगाएर बिराटनगरबाट काठमाडौं पुर्‍याइएका ६ जना क्रान्तिकारी को-को थिए ? कोइराला परिवारका सदस्य तथा एमालेका वयोवृद्ध नेता कमलप्रसाद कोइरालाले यो बहसलाई टुंगो लगाइदिए । त्यस बखत बिराटनगर जुटमिलबाट पक्राउ गरी विभिन्न गौंडा हुँदै सुन्दरीजलको जेलमा कोचिएका प्रायः सबै कोइराला परिवारका नातेदार रहेछन् ।

मातृकाप्रसादका छोरा कमल कोइराला भन्छन्-‘वीपी, गिरिजा र तारिणी तीन दाजुभाइ भइहाले, मनमोहन हाम्रा भानिजबाबुका छोरा । त्यसपछि हाम्रै नातेदार युवराज अधिकारी र गेहेन्द्रहरी शर्मा बिकु बाबु हुन् त्योबेला अड्डासार गरेर लगिएकाहरु ।

Bhangeri Ramechha People
वीपी कोइरालाले मह खाएको दिन सम्झँदै भंगेरीका बुढापाकाहरू

नाति पुस्ताको अपेक्षा

‘वीपीको नाममा शुरु भएको यात्रा यो गौंडामा आउँछ कि भन्ने आशामात्र छ, अब हाम्रा बाबुबाजेहरुलाई’ मह खुवाउने ज्ञानबहादुरका नाति तथा नारायणबाबुका छोरा रमेशबाबु श्रेष्ठले भने ‘यही घरबाट मह खाएर बिदा भएका वीपीले पछि क्रान्तिको नेतृत्व गरे’ । संयोग नै मान्नुपर्छ, यही घरमै कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल पनि जन्मिएका थिए ।

काठमाडौंमा व्यवसाय गरिरहेका रमेशबाबुका हजुरबाले वीपीलाई मह खुवाए । पिता नारायणबाबुले पुष्पलाललाई सघाए र पुष्पलाल गंगालालको जन्मस्थानको संरक्षण गरे । अब रमेशबाबुको पुस्ता चाहन्छ-वीपी र पुष्पलाल नेपाली राजनीतिका जननायक हुन् । उनीहरुको नाम जोडिएको भँगेरीमा तीनका अनुयायीहरुले राजनीतिक पर्यटनका लागि केही गरुन् ।

भँगेरी र दुम्जाको साइनो

संयोग नै मान्नुपर्छ, वीपीको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा र पुष्पलालको जन्मथलो रामेछापको भँगेरी अहिले सुनकोशीमाथि खुर्कोटमा पक्की पुल बनेपछि करीव डेढ घण्टाको दूरीमा खुम्चिएका छन् । कांग्रेस र कम्युनिस्टले आफ्ना इष्टदेवता सरहका नेताको पुख्र्यौली थलोलाई ‘मक्का मदिना’सरह विकास गरे हुँदैन र ? रमेशबाबुहरुको यो प्रश्नको जवाफ अनुत्तरित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment