Comments Add Comment

टेलिकमले सुरु गर्‍यो ‘फाइबर टु द होम’ सेवा, उच्च गतिको इन्टरनेट चलाउन पाइने

minendra risal and buddi parsad achharya (3)
फाइबर टु हाेम सेवाकाे सुरूवात गर्दै सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल ।

२० भदौ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा सुभारम्भ गरेको छ । ग्राहकहरुलाई तिब्र गतिको डाटा तथा भ्वाइस सेवा प्रदान गर्न कम्पनीले फाइबर टु होम सेवा सुरु गरेको हो ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले फाइबर टु द होम सेवाको औपचारिक सुभारम्भ गरे । विश्वव्यापी रुपमा प्रभावकारी प्रमाणित भएको यो सेवा पहिलो चरणमा काठमाडौंको दरबारमार्ग, कमलादी, काठमाडौं प्लाजा र जमलमा उपलब्ध हुने छ ।

भरपर्दो, गुणस्तरीय तथा तिब्र गतिको डाटा सर्भिस लिन चाहाने ग्राहकहरुको आवश्यकता फाइबर टु होम सेवाले पुरा गरिदिने अपेक्षा टेलिकमले लिएको छ । नेक्स्ट जेनेरेशन नेटवर्क प्रविधि अन्तर्गतको यस सेवालाई ‘एनटी फाइबर’ को नामबाट बजारीकरण गर्ने टेलिकमा प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले जानकारी दिए ।

‘हाल यस सेवामार्फत उच्च गतिको डाटा सेवा लगायत आइपी बेस्ड भ्वाइस सेवा उपलब्ध हुनेछ’ प्रबन्ध निर्देशक आचार्यले भने- ‘केही समय पश्चात मल्टिमिडिया सेवा समेत उपलब्ध गराउने हाम्रो योजना रहेको छ ।’ तत्कालाई सिमित क्षेत्रमा उपलब्ध गराएको यो सेवा विस्तारै राजधानीका अन्य क्षेत्र र उपत्यका बाहिरका मुख्य शहरहरुमा विस्तार गर्ने उनले बताए ।

१०० एमबीपीएससम्मको गति

फाइबर टु द होम सेवामार्फत अनलिमिटेड तथा भोल्यूम बेस्ड सेवा १ एमबीपीएस देखि १०० एमबीपीएस सम्मको गतिमा प्राप्त गर्न सकिने छ । ‘तत्काल कर्पोरेट हाउसलाई लक्षित गर्दै सेवा सुभारम्भ गरेका हौं’ प्रबन्ध निर्देशक आचार्यले भने- ‘विस्तारै सर्वसाधारणको घर-घरमा यो सेवा पुर्‍याउँछौं ।’

टेलिकमले यस सेवालाई सरकारको दूरसञ्चार नीतिको लक्ष्य हासिल गर्ने एक सहायक कार्यको रुपमा लिएको छ । त्यसो त सञ्चार मन्त्री मिनेन्द्र रिजालले पनि टेलिकमलाई अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग प्रतिस्पर्धी बनाउन हरतरहको सहयोग गर्ने आश्वासन दिएका छन् ।

गुणस्तरीय सेवा अहिलेको आवश्यकता भएको हुँदा त्यसतर्फ ध्यान पुर्‍याउनुपर्नेमा मन्त्री रिजालले जोड दिएका छन् । ‘ग्राहकहरुले सस्तोमा गुणस्तरीइ सेवा पाउने वातावरण तय हुनुपर्छ, टेलिकमले यसतर्फ ध्यान दिओस्’ उनले भने- ‘नव नियुक्त प्रबन्ध निर्देशकबाट सरकारले ठूलो आशा गरेको छ, उहाँले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निभाउनुहुनेछ ।’

minendra risal and buddi parsad achharya (4)
फाइबर टु हाेम सेवा सुरू भएपछि ताली बजाएर खुशी व्यक्त गर्दै टलिकमका कर्मचारी । साथमा सञ्चार मन्त्री रिजाल ।

प्रविधिको विकाससँगै निजी, सरकारी सेवा तथा व्यापारिक गतिविधिहरु इन्टरनेटको माध्यमबाट हुन लागेको जानकारी दिँदै प्रबन्ध निर्देशक आचार्यले ई-गभर्नेन्स, ई-बैंकिङ, ई-कमर्समा आधारित सेवाहरु सेवाग्राहीमा उच्च गतिको सेवामार्फत उपलब्ध गराउने तथा यस्ता सेवा प्रदायक कम्पनीकाे सेवा क्षेत्र विस्तारसँगै देशका कुनाकाप्चामा उपलब्ध गराउन टेलिकम लागिपरेको बताए ।

दोस्रो चरणमा कहाँ-कहाँ ?

टेलिकमले दोस्रो चरणमा काठमाडौं उपत्यकाभित्र ठमेल, लाजिम्पाट, सोह्रखुट्टे, चावाहिल, गौशाला, बिशाल नगर, सिनामंगल, बत्तिसपुतली, धुमबाराही, स्वयम्भू, क्षेत्रपाटी, बौद्ध, सितापाइला, पूरानो बानेश्वर, कलंकी, सोल्टीमोड, कुलेश्वर, कालिमाटी, बल्खु, ग्वार्को, सानेपा, कुपन्डोल, मानभवन, झम्सिखेल, पाटन दरवार, पुल्चोक, कुमारीपाटी, लगनखेल, सातदोबाटो र हात्तीवनमा फाइबर टु द होम सेवा विस्तार गर्ने जनाएको छ ।

त्यस्तै, उपत्यका बाहिर चितवनको भरतपुर, पोखरा, वीरगञ्ज, विराटनगर र बुटवलमा सेवा विस्तार गर्ने टेलिकमको लक्ष्य छ । यी क्षेत्रहरुमा आगामी ५ महिनाभित्र सेवा विस्तार भइसक्ने टेलिकमले जानकारी दिएको छ ।

के हो फाइबर टु होम सेवा ?

फाइबर टु होम प्रविधिमार्फत सेवा दिनका लागि परम्परागत कपर वायरको सट्टा ग्राहकहरुको घरसम्म अप्टिकल फाइवर जोडिने टेलिकमकी डेपुटी म्यानेजिङ डाइरेक्टर कामिनी राजभण्डारीले जानकारी दिइन् । अप्टिकल फाइवरको निहित गुणका कारण सेवाको गुणस्तर राम्रो हुने र ग्राहकहरुको लागि सेवा प्रभावकारी रहने उनको भनाइ छ ।

फाइबर टु द होम भनेको तिब्र गतिको इन्टरनेट सेवा दिनका लागि एनजिएन प्रविधिमा आधारित एउटा टेक्नोलोजी हो । यो प्रविधिबाट हामीले तिब्र गतिको इन्टरनेट चलाउन पाउने छौं ।

अहिलेको सिष्टमबाट दिन नसकेको तिब्र गतिको इन्टरनेट यस प्रविधिबाट दिन सकिन्छ । १०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट डाटा सेवा यस प्रविधिबाट उपभोग गर्न सकिन्छ । आवश्यकता अनुसार यो गतिलाई बढाउन पनि सकिन्छ ।

एउटै लिंकबाट तिब्र गतिमा इन्टरनेट पनि चलाउन सकिने, भ्वाइस सेवा पनि लिन सकिने र टिभी पनि हेर्न सकिने प्रविधि हो । टेलिकमले तत्काल टिभी हेर्न मिल्ने सुविधा उपलब्ध नगराउने भएपनि विस्तारै यो सेवा पनि सुरु गर्ने जानकारी दिएको छ ।

कसरी जडान गर्ने ?

यो सेवा लिन चाहाने ग्राहकहरुले सबैभन्दा पहिला नेपाल टेलिकममा निवेदन दिनुपर्छ । त्यसपछि टेलिकमबाट कष्टुमर प्रमिसेस इक्यूपमेन्ट (सीपीई) डिभाइस खरिद गर्नुपर्छ । अनि टेलिकमे सेवा पुगेको ठाउँमा अप्टिकल फाइवरको तार जडान गरिदिने छ ।

NTC-Fiber-to-hom-Lunch-programme-2
सञ्चार मन्त्री रिजाल, टलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद अाचार्य लगायत अन्य उच्च अधिकारीहरू

अप्टिकल फाइबरको तार सीपीईमा जडान गरेपछि त्यहाँबाट हामीले उच्च गतिको इन्टरनेट र गुणस्तरीय भ्वाइस सेवा लिन सकिन्छ । एडीएसल जडान गर्दा भ्वाइस सेवा अनिवार्य लिनुपर्छ । तर, फाइबर टु द होम सेवा लिँदा भ्वाइस सेवा नलिएर इन्टरनेट सेवामात्र पनि लिन सकिन्छ ।

त्यसपछि हामीले आफुलाई कति स्पीडसम्मको इन्टरनेट चाहिने हो त्यसैका आधारमा डाटा प्याकेज लिएर चलाउन सकिन्छ । एउटा सीपीईबाट ४ वटा कम्प्यूटरमा इन्टरनेट चलाउन र दुईवटा टेलिफोन चलाउन सकिन्छ ।

जडान खर्च कति ?

फाइबर टु द होम सेवा जडान गर्दा ग्राहकले रजिष्ट्रेसन दस्तुर ५ सय रुपैयाँ बुझाउनुपर्छ । ड्रप फाइबर केवलका लागि प्रतिमिटर ६० रुपैयाँ तिर्नुपर्छ । यो सेवा लिँदा डिपोजिट भने तिनुपर्दैन् ।

त्यसैगरि, ग्राहकले सीपीइ पनि आफै खरिद गर्नुपर्छ । यदि ग्राहकले १२ महिनाको प्याकेज सहित सीपीइ लिएमा १० हजार, ६ महिनाको प्याकेजसहित लिन खोजे १५ हजार रुपैयाँ र ६ महिनाभन्दा कम प्याकेजमा लिन चाहेमा २० हजार रुपैयाँ बुझाउनुपर्छ ।

यस्तो छ शुल्क

टेलिकमले यस सेवालाई अनलिमिटेड र भोल्यूम बेस्ड गरि दुई किसिमबाट उपलब्ध गराउने भएको छ ।

अनलिमिटेड इन्टरनेट प्याकेज

ब्यान्डविथ (एमबीपीएस) शुल्क प्रतिमहिना (रूपैयाँ)
१-४ ८,००० प्रति एमबीपीएस
५-१० ९,६०० प्रति एमबीपीएस
११-१५ ८,९०० प्रति एमबीपीएस
१६-२० ७,६०० प्रति एमबीपीएस

भोल्यूम बेस्ड इन्टरनेट प्याकेज (१-१० एमबीपीएस

अवधि भोल्यूम (जीबी) शुल्क (रूपैयाँ)
१ महिना २० जीबी १,१४०
१ महिना ३० जीबी १,५३०
१ महिना ४० जीबी १,८००
३ महिना ६० जीबी ३,३००
३ महिना ९० जीबी ४,३२०
३ महिना १२० जीबी ५,१६०
६ महिना १२० जीबी ६,०००
६ महिना १८० जीबी ७,७४०
६ महिना २४० जीबी ९,१२०
१२ महिना २४० जीबी १२,०००
१२ महिना ३६० जीबी १५,४८०
१२ महिना ४८० जीबी १८,२४०

 

भोल्यूम बेस्ड इन्टरनेट प्याकेज (१०-१०० एमबीपीएस)

अवधि भोल्यूम (जीबी) शुल्क (रूपैयाँ)
१ महिना ३० जीबी २,०४०
३ महिना ६० जीबी ३,६००
६ महिना १२० जीबी ६,६००
१२ महिना ४८० जीबी २३,०४०

भ्वाइस सेवा

टेलिकमले यही प्रविधिमार्फत भ्वाइस सेवा लिन चाहेमा त्यसकाे छुट्टै शुल्क बुझाउनुपर्छ । यस प्रविधिमार्फत ग्राहकले अधिकतम २ वटासम्म टेलिफाेन चलाउन सक्छ । यसका लागि ग्राहकले हरेक महिना एउटा फाेन सेटकाे न्यूनतम २ सय रूपैयाँ बुझाउनुपर्छ ।

यसमा हरेक महिना एउटा सेटबाट १७५ कल निःशुल्क प्राप्त गर्न सकिने टेलिकमले जानकारी दिएकाे छ । टेलिकमका अनुसार भ्वाइस कलकाे शुल्क पीएसटीएन सेवाकाे सरह हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment