Comments Add Comment

सक्कली सुकुम्बासी मै हुँ: चित्रबहादुर केसी

Kc-at-home ३ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सभासद चित्रबहादुर केसीको नाम नसुन्ने नेपाली राजनीतिज्ञ शायदै होलान् । केसीलाई कसैले संघीयताविरोधी नेताका रुपमा चिन्छन् त कसैले उनलाई सादगी नेताका रुपमा बुझ्छन् । कसैले चाँहि  उनलाई उखान तुक्का मिसाएर मीठो भाषण गर्ने स्वादिला नेताका रुपमा सम्झन्छन् ।

बाग्लुङमा जन्मेका केसी अहिले ७४ वर्ष पुगिसकेका छन् । घट्टेकुलोमा सामान्य डेरामा बस्ने केसी त्यहाँबाट सिंहदरबारसम्म पैदल हिँड्छन् । बानेश्वरस्थित संविधानसभा भवनमा पनि केसी  प्रायः पैदलै आवत-जावत गर्छन् । सादगीपन केसीको विशेषता हो ।

अनलाइनखबरकर्मी सुरेश भुसाल र श्रीधर पाैडेलले पिछा गर्दा केसीको दिनचर्या यस्तो देखियो –

भिडियो

KC-at-Night

किशोरावस्थामै आफ्ना पितासँग केसी काठमाडौं आएका थिए । त्यसबेला उनले केही समय गल्कोटे राजाको घरमा भान्छे काम गरे । त्यहाँबाट ‘विद्रोह’ गरेर निस्केपछि उनी नन्दी स्कुलमा भर्ना भए ।
त्यसबेलाको परिवेश सम्झँदै उनी भन्छन्- ‘पोखराबाट काठमाडौंसम्म प्लेन चल्थ्यो, गाडीको बाटो बनेकै थिएन । खाना पकाउने स्टोभ, ग्यास केही थिएनन्, दश पैसामा दाउरा किनेर भात पकाउनुपथ्र्यो ।’
kaji-walking-alone
माओवादीका कारण मर्निङवाक छाडें :  पहिले-पहिले बुढा-बुढी मिलेर दुईघण्टा सम्म मनिङवाक गर्ने चित्रबहादुर अहिले मर्निङवाक जाँदैनन् । मर्निङवाक गर्न छाडेपछि श्रीमतीलाई सुगर र प्रेसर भएको छ ।
माओवादी द्वन्द उत्कर्षमा पुगेका बेला मार्ने धम्की आएपछि केसी दम्पतीले मनिङवाक छाडेको बताए । निजी सवारी साधन नभएका कारण दिउँसो धेरै ठाउँ पैदल हिँड्नुपर्ने भएकाले त्यसैबाट मर्निङवाकको क्षतिपूर्ति हुने उनको तर्क छ ।

chitra bdr kc one day with onlinekhabr (3)

पढ्न सक्दिँन, सुन्ने र हेर्ने हो : केसी ७४ वर्षका भइसके । आँखा कमजोर भएका कारण उनी पत्रपत्रिका वा किताब पढ्न सक्दैनन् । समाचारका लागि उनी रेडियो र टेलिभिजनको साहारा लिन्छन् । उमेरमा पनि कोर्षभन्दा बाहिरका किताव कमै पढेको उनले सुनाए । तर, मार्क्र्सवाद सम्बन्धी किताव भने उनले प्रसस्तै पढेका छन् । उनले बीए पास गरेका छन् । भूमिगत भएपछि त्यसभन्दा माथि पढ्न नपाएका उनी लामो समय बाग्लुङमा शिक्षण पेशामा संलग्न थिए ।

Kc-at-home-1

घर भाडा छ हजार : काठमाडौंस्थित मैतिदेवीमा उनको सानो फ्ल्याट छ । उनी त्यहाँ बर्षैंदेखि बस्दै आएका छन् ।  पाँचजनाले त्यो घर किनबेच गरिसकेका छन् । तर कुनै घरबेटीले पनि केसीलाई हटाएका छैनन् । त्यो घरमा उनी पहिले एउटा कोठामा बस्थे । बिस्तारै फ्ल्याट नै लिए । केसीको अवस्था देखेर कुनै घरबेटीले पनि धेरै भाडा बढाएका छैनन् । छेउछाउका घरमा त्यस्तै फ्ल्याटको भाडा १२/१५ हजार परे पनि उनले ६ हजारमात्र तिर्दै आएका छन् ।

Kc-having-Launch

पाएसम्म ढिँडो खान्छु: केसी बिहान कहिल्यै खाजा खाँदैनन् । प्राय ९/१० बजेतिर एकैचोटि खाना खान्छन् । चियाका सौखिन केसीले मेसो मिले बिहानै दुई कप भ्याउँछन् । सम्भव भएसम्म उनी बिहानमा ढिँडो खान्छन् । कोदोको ढिँढो खाँदै उनले भने – ‘बाग्लुङबाट मगाएर सधैं ढिँडो खान सम्भव हुँदो रै’छ ।  ढिँडो नपाए मकैको च्याँख्ला खान्छु, त्यो पनि नभए भात ।’ खानामा टिम्बुरको अचार नभएसम्म उनी भागै बस्दैनन् । उनको यो सानैदेखिको आदत हो ।

Kc-DressUP०५६ सालमा सिलाएको कोट अहिलेसम्म : संसदमा जाँदा केसी कोट पाइन्ट लगाउँछन् । उनलाई कपडाको ब्राण्डको नामै थाहा छैन । आफू कपडा किन्दैनन् । अरुले दिएको ‘जडौरी’ लगाउँदा साइज नमिल्ने उनको भनाइ छ । उनलाई पैसा भए पनि गहना कपडामा खर्च गर्न मन लाग्दैन । ०५६ सालमा संसदका लागि सिलाएको कोट पाइन्ट अझै फाटेको छैन । कोट एकजना पार्टीको साथीलाई दिए भने पाइन्ट अहिलेसम्म लगाइरहेका छन् ।

‘भुमिगत हुँदा साथीहरुले दिएका कपडा अझै फाटेका छैनन्,’ उनले अनलाइनखबरको टोलीसँग भने – ‘आज भने कोट धुन दिएका कारण स्टकोट लगाएर संविधान सभामा जान्छु ।’

Kc-walking-singhadurbar

सम्भव भएसम्म पैदल : पार्टीले पटक-पटक गाडी चढ्न आग्रह गरे पनि केसीले मानेनन् । ‘मजस्ता लाखौं जनतालाई गाडी नचढे पनि चलेकै छ । फेरि मैले यो देशका लागि के ठूलो योगदान गरेको छु र गाडी चढ्नुर्‍यो ?’ उनी भन्छन्, ‘गाडी किन्न पार्टीले उठाएको दुई लाख रुपैयाँ पनि कार्यालय किन्दा उतै लगाएँ ।’

केसीलाई संविधानसभामा गएर संविधान बनाउन नसकेकोमा लाज लागेको छ । उनी भन्छन् – ‘म एक्लैले यो देशको परिवर्तन सम्भव छैन, अरु सत्ताकै मोजमा मस्त छन् ।’
kaji-&-son
छोराको नान पसलमा एकनजर : सिंहदरबारको गेटै अगाडिको तन्दुरीमा जेठो छोरा सचित्रले काम रोटी पकाउने काम गर्छन् । ‘ल यही हो मेरो छोराले नान हान्ने ठाउँ।’ केसीले सचित्रको पसल देखाउँदै भने- ‘तर, होटल आफ्नो होइन । के गर्नु, जीवनमा काम त गर्नैपर्‍यो ।’

छोराको पसलमा एकछिन टोल्हाएपछि केसी सिंहदरबारतिर लागे । उनले मैतिदेबीबाट सिंहदरबार पुग्दा बाटोमा धेरै मान्छेको नमस्कार थापे ।

Kc-at-singhadurbar

सिंहदरबारमा सरासर : सिंहदरवारमा केसीलाई कसैले पनि परिचयपत्र चेक गर्दैन । सधैं हिँडेर आउने भएका कारण सबैले चिनेका छन् ।  सिंहदरबारमा एकघण्टा जति काम गरेपछि उनी संविधानसभा बैठकको लागि नयाँ बानेश्वर लागे ।

kaji-at-tampo

टेम्पोमा टुसुक्क : सिंहदरबारदेखि संसदसम्म प्रायः उनी हिँडेरै जान्छन् । कहिलेकाँही घामपानीमा भने तीन पाङ्रे टेम्पोको सहारा लिन्छन् । संविधानसभा भवन जानका लागि माइतीघर गएर टेम्पो चढ्छन् रनयाँ बानेश्रमा ओर्लिन्छन् । संविधानसभा भवनमा पनि केसीलाई गेटमा बसेका सुरक्षाकर्मीले परिचयपत्र नहेरी नमस्कार गर्दै भित्र जान दिन्छन् ।

chitra bdr kc one day with onlinekhabr (1)

 

chitra bdr kc one day with onlinekhabr (4)

सबै तलब पार्टीलाई : केसीले संसदबाट बुझ्ने सबै तलब पार्टीलाई बुझाउँछन् । उनलाई पार्टीले मासिक २५ हजार घर खर्च दिन्छ । त्यही २५ हजारले जेनतेन घरखर्च धान्छन् । ‘दुख छ नि बाबु, यहाँ सबै चिज किनेर खानुपर्छ,’ उनी भन्छन् ।

Kc-having-Launch with budhi

सक्कली सुकुम्बासी मै हुँ: संविधासभा बैठक सकेर लुरुलुरु हिँड्दै केसी साँझपख घर पुग्छन् ।  घर पुगेर परिवारसँग गफ लगाउँछन् । लाइन भए टीभी हेर्छन्, नभए रेडियो सुन्छन् । उनी विहान ढीँडो खाए पनि बेलुका सधैं रोटी खान्छन् । ‘मलाई अहिलेसम्म कुनै रोग छैन । ‘ग्यास्टि्रक चाँहि छ, अरु कुनै रोग छैन’ ज्येष्ठ नागरिक केसीले भने-‘दुईपटक पत्थरीको अपरेसन गरेको हुँ।’

आफू सक्कली सुकुम्बासी भएको दाबी गर्ने जनमोर्चा नेता केसी आफ्नो नाममा एक टुक्रा पनि जग्गा नभएको बताउँछन् । बाग्लुङमा रहेको घर, भत्किएको छ । नवलपरासीमा ऐलानी जग्गामा घर छ । त्यसको लालपूर्जा पाउने आशमा छन् उनी ।Kc-at--singhadurbar

बुबा-आमाको किरिया गरिँन :  कम्युनिष्ट नेता केसी भौतिकवादी हुन् । बुबा आमाको मृत्यु हुँदा उनी धेरै रोए । तर, परम्परागत ढंगले किरिया चाँहि गरेनन् । ‘म अलि कठोर मान्छे हुँ, हत्तपत्त रुन्न, तर आमाको मायाले आँसु रोकिएन । केसी जोसँग पनि उखान तुक्का जोडर रमाइलोसँग गफ गर्छन् । उनको मुख्य आकर्षण भनेकै उखान टुक्का हो ।
प्रचण्ड सबैभन्दा जाली नेता: संघीयताविरोधी केसी माओवादीका कडा आलोचक हुन् । केसी आफूले संगत गरेका नेतामध्ये सबैभन्दा जाली र छलकपट गर्ने नेता प्रचण्ड रहेको बताउँछन् । ‘प्रचण्डको बोलीको ठेगान छैन । मैले तपाईलाई मात्र भनेको होइन, उनकै अगाडि पनि म यही भन्छु । मैले हिजो के बोलें र आज के बोलिरहेको छु भन्ने प्रचण्डलाई थाहा हुन्न,’ केसी भन्छन्- ‘मैले भोगेको कुरा भनिरहेको छु, प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनबाट राम्रोसँग चिन्ने मौका मिल्यो, उनले त्यतिबेला आफूले उठाएका रामराजालाई छाडेर गिरिजाबाबुसँग साँठगाँठ गर्न पुगेका थिए ।’

KC-at-Sachibawalayaकम्युनिष्टलाई छोरी दिँदा दुःख पाइयो : केसीका परिवारका सदस्यहरु सरल र सामान्य अवस्थामा छन् । तर, उनकी जेठी छोरीले भने धेरै नै दुख पाएकी छन् । केसीले प्युठानका तत्कालीन मसालका प्रवक्तालाई छोरीको विवाह गरिदिएका थिए । तर, नाताले मोहनविक्रमका भाइ पर्ने ती नेताले सौता हालेपछि केसीको चित्त दुखेको छ ।

चेलाहरुले माओवादी भरिभराउ: चित्रबहादुर केसी बाग्लुङमा हेडमास्टर हुँदा अहिलेका एमाले नेता झलनाथ खनाल सोही स्कुलमा विज्ञान शिक्षक थिए । त्यसैगरी केसीले माओवादी नेता मोहन वैद्यसँग पनि एउटै पार्टीमा राजनीतिक गरेका हुन् । पछि पार्टी फुटेपछि मोहन वैद्य, प्रचण्ड र वादलहरु एकातिर लागे भने केसी मोहनविक्रमतिर लागे ।

माओवादी नेता देव गुरुङ, देवेन्द्र पौडेल, बाबुराम भट्टराई, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, नवराज सुवेदी, डिलाराम आचार्य, सबै एक जमानामा केसीका कार्यकर्ता हुन् । परि थापा पनि केसीका चेला हुन् ।

kaji-at-sansad

संघीयता हुँदै हुन्न: नेता केसीमा संघीयताले नेपाल टुक्रिन्छ भन्ने दृढ विश्वास छ ।  संघीयताले कुनै पनि हालतमा मुलुकको हित नहुने उनी बताउँछन् । तर, संविधान निर्माणमा भने आफूहरु बाधक नबन्ने उनी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment