+
+
Shares

नयाँ लुगा नलगाई अरुणिमालाई दसैं आउँदैन

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १५ गते १०:४०

140930_050628Arunima-lamsal-6१५ असोज, काठमाडौं । स्कुल छुट्टी भएपछि नायिका अरुणिमा लम्सालका  आमाबुबा घर -बिराटनगर) लैजाने सामान जोडजाममा लाग्थे । अरुणिमालाई पनि दसैंको रन्कोले छोइहाल्थ्यो । घर बस्दा लाउने, टीकाको दिन, मन्दिर जाँदा वा अन्य कामका लागि ।

अरुणिमा आफूलाई आवश्यक पर्ने लुगा कपडा आफैं पट्याउँदै सुटकेसमा राख्थिन् । दसैं भन्नेबित्तिकै ती दिनको याद आउँदोरहेछ । अरुणिमा भन्छिन्- ‘दसै आयो भन्दै १५ दिन अगाडिदेखि लुगा पट्याउँदै सुटकेसमा राखेको म कहिल्यै बिर्सन्न । ती दिन वास्तवमै रमाइला थिए ।’

दसैंमा नयाँ लुगा लगाउनुपर्छ भन्ने संस्कारमा हुर्केकै कारण हुनसक्छ, अहिले पनि उनलाई नयाँ लुगा नलगाएसम्म दसैं आउँदैन ।

‘अहिले पनि दसैं भन्नेबित्तिकै नयाँ लुगा लगाउन मन लाग्छ, दसैंकै लागि भनेर लुगा किनिसकें’ उनले अनलाइनखबरसँग भनिन् ।

आफ्नो पालाको कुरा सम्झेरै छोरीलाई धेरै लुगा र जुत्ता किनिदिएको कुरो गर्ने अरुणिमा अचेल भने काठमाडौमैं दसैं मनाउन थालेकी छिन् । तर, उनको बुझाइमा काठमाडौको दसैं बिराटनगरको जस्तो रसिक हुँदैन ।

आमालाई कवाफ, छोरीलाई छोयला

Arunima-lamsal-10

खाने मामलामा निकै सौखिन छ अरुणिमाको परिवार । मासुका विभिन्न परिवार बनाउने पुरानो चलनै हो उनको घरको । मटन कवाफका लागि आमा राधा लम्साल ‘भावु’ प्रसिद्ध छिन् भने छोयलाका लागि छोरी अरुणिमा ।

‘बिहे गरेर आएकै वर्षदेखि मैले मटन कवाफ बनाउन थालेकी हुँ । अहिले पनि मैले नै बनाउँछु ।’ भावुले भनिन् । भावुको भनाइ अनुसार माइतीहरु कवाफमा सौखिन थिए । त्यही कारण भावुले  पनि बेलैमा सिकेकी हुन् ।

पाँच वर्षयता ‘रेड मिट’ खान छाडेकी अरुणिमा प्रायः कुखुराको मासु खान्छिन् । छोयला उनलाई पनि मन पर्ने परिकार हो । उनले बनाएको छोयला अरुलाई पनि असाध्यै मन पर्छ । ‘म घरमा भएसम्म अचार र छोयला मबाहेक अरुले बनाउँदैन ।’ अरुणिमाले भनिन् ।

‘दर्जी’ देखेपछि दसैंको याद आउँछ: भावु

Radha-Lamsalभावु अहिले प्रायः आफ्ना लुगा बुटिकमा सिलाउँछिन् । आफूलाई जहिले आवश्यक पर्‍यो, त्यहीबेला लुगा सिलाउने गरेकी भावु  दसैंमा नयाँ लुगा लाएको प्रसंग कहिल्यै बिर्सन्नन् ।

पसल छेउ अथवा कुनै सार्वजनिक ठाउँमा मेसिन लिएर लुगा सिउन बसेका मान्छेहरु देख्नेबित्तिकै वाल्यकालको याद आउँदो रहेछ उनलाई । उनी सानो छँदा जामा लगाउने चलन थियो ।

बुबाले घर नजिकैका दर्जीलाई लुगा सिलाउन दिएपछि उनी हरेक दिन पुग्थिन दर्जी कहाँ । उनी भसन्छन्- ‘लुगा नसिएसम्म गएर सोध्थें, दाइ मेरो लुगा कहिले सिलाइदिने ?’

जुवामा दाउ लाग्दैन

जुवाको खाल पनि मजाले जम्छ अरुणिमाको परिवारमा । श्रीमान श्रीमती नन्द आमाजू, घरमा जो जो छन्, मिलाएर खेल्ने चलन छ दशैं र तिहारमा ।

प्रायः म्यारिजका सौखिन छन् सबैजना । ‘म्यारिज खेल्दा मज्जा आउँछ, दशैंमा हामी म्यारिजमै रमाउँछौं’ अरुणिमाले भनिन् ।

छोरी-ज्वाइँ लगायत अरुले तास खेलेको देख्दा भावुलाइ पनि खेल्न मन लाग्छ । तर, उनले सहजै मौका पाउँदिनन् । ‘कोरम पुगेन भने मात्रै हो, सकेसम्म ममीलाई खेलाउदैनांै, किनभने उहाँ सार्‍है ढीलो गर्नुहुन्छ’-अरुणिमाले भनिन् ।

तासका साथै आफ्नै घरमा कौडासमेत खेल्ने गरेकी अरुणिमाले आजसम्म जुवा खेलेर पैसा मारेको रेकर्ड छैन । ‘म मात्रै हैन, मेरा श्रीमानले पनि आजसम्म जुवा खेलेर पैसा मार्नुभएको छैन, तैपनि रहर लाग्छ ।’

सवारी साधनको समस्या

अहिले आफ्नै कार छ अरुणिमाको । सुटिङ होस् या अन्य कुनै पनि कार्यक्रममा उनी आफै कार चलाएर पुग्छिन् । अहिले मन लागेको ठाउँमा जाने हैसियत राखे पनि दसैंमा सार्वजनिक गाडी नपाउँदाका दुःख भने भुलेकी छैनन् उनले ।

बिराटनगरमा जन्मेकी अरुणिमा प्रायः टीकाकै दिन टीका लगाउन जान्थिन् आफन्तकहाँ । घरमा टीका लगाइसकेपछि बाहिरिने गरेकी अरुणिमा घरबाट निस्कँदा त रमाइलै मान्थिन् । तर, फर्किंदा सार्‍है सकस हुन्थ्यो रे । उनी भन्छिन् ‘चाडवाडका बेला सार्वजनिक बस नपाउँदा सार्‍है गार्‍हो हुन्थ्यो ।’

ट्याक्सी पनि सहजै नपाइने र पाइइहाले पनि दक्षिणाले भाडा नपुग्ने भएकाले बस कुर्न बाध्य भएको अनुभव छ उनीसँग । आफू बस कुरेर सडकमा बसिरहेका बेला कसैको  कार आएको देखेपछि  उनले ममीलाई भन्थिन्- ‘म ठूली भएपछि आफ्नै गाडीमा घुमाउँछु ।’

अहिले पनि चाडवाडका बेला सडक किनारामा धेरै मान्छेहरु गाडी कुरेर बसेको देखेकी अरुणिमालाई लाग्छ, ‘सार्वजनिक यातायात व्यवस्थित भइदिए हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?