+
+

सीके राउतको रिहाइका लागि प्रधानमन्त्री कोइराला सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २१ गते १५:१४

२१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले राज्यद्रोहको अभियोगमा थुनामा रहेका डा. सीके राउतको रिहाइबारे गृहमन्त्रीसँग कुरा गर्ने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले मंगलबार राउतको परिवार र नागरिक समाजका अगुवा गणेश मण्डलसँगको भेटमा यस्तो आश्वासन दिएका हुन् । भेटमा राउत परिवारका साथै कानुन व्यवसायी दीपेन्द्र झा र सरेन्द्र महतोसमेत थिए ।

विशेष अदालत परिसरमा राउत । फाइल फोटो
विशेष अदालत परिसरमा राउत । फाइल फोटो

अधिवक्ता झाका अनुसार प्रधानमन्त्रीले वीपी कोइरालाको नाम लिँदै बोलेकै आधारमा थुनेको र आफूहरु समेत जेल परेको भन्दै राजाका पालामा जस्तो बोल्दैमा थुन्न नहुने बताएका छन् ।

‘लोकतन्त्रमा मान्छेलाई बोलेकै आधारमा थुन्ने हो भने लोकतन्त्रको अर्थ रहँदैन’ प्रधानमन्त्री कोइरालाको भनाइ उदृत गर्दै झाले अनलाइनखबरसँग भने-‘यसबारे गृहमन्त्री र महान्यायाधिवक्तासँग कुरा गर्छु ।’

अर्का अधिवक्ता महतोले भेट सकारात्मक भएको भन्दै प्रधानमन्त्री कोइराला राउतलाई बोलेकै आधारमा मुद्दा चलाउन नहुने पक्षमा देखिएको बताए ।

यसअघि राउतको अनसन तोडाउने क्रममा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मिनेन्द्र रिजाल र कृषिमन्त्री हरिप्रसाद पराजुलीले पनि अभिव्यक्ति स्वतन्त्रता र नागरिक हकको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । राउतलाई जुस खुवाएर अनसन तोडाउँदा कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि शिक्षण अस्पतालमा उपस्थित थिए ।

भेटमा अधिवक्ताद्वय महतो र झाले राउतलाई रिहा गर्ने कानुनी बाटोबारे प्रधानमन्त्री कोइरालालार्इ ब्रिफिङ गरेका थिए ।

राज्य विरुद्धको अपराधमा अनुसन्धानका लागि राउतलाई १४ दिन न्यायिक हिरासतमा राख्न विशेष अदालतले दिएको समयसीमा आजै मंगलबार सकिँदैछ ।

भदौ २८ गते पक्राउ परेका उनी प्रहरी हिराउतमा रहेको २५ दिन पुगेको छ । ‘अब प्रहरीले प्रमाण पुगेन भनेर रिहा गर्न सकिन्छ । मुद्दा गृहमन्त्रीको हातमा छ’ झाले भने ।

मुद्दा अझै सरकारको हातमा रहेको भन्दै उनीहरुले प्रहरीले मुद्दा चलाउन सिफारिस गरे सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै राउतलाई रिहा गर्न सक्ने प्रधानमन्त्रीलाई बताएका छन् ।

मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्दै अभियान चलाएका राउत मोरङको रंगेलीबाट पक्राउ परेका थिए ।
प्रमुख विपक्षी एमाओवादी र मधेसवादी दलहरुले सरकारले राउतलाई पक्राउ गरेर मधेसमा हिरो बनाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

तर, प्रहरीले भने राज्य विरुद्धको अपराधमा राउतमाथि अनुसन्धान गरिरहेको छ । राउतको रिहाइका लागि परेको रिटलाई सर्वोच्च अदालतले समेत खारेज गरिसकेको अवस्थामा प्रधानमन्त्रीले उनको रिहाइका लागि आश्वासन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?