Comments Add Comment

एसएमएसबाट बैठक स्थगनपछि कांग्रेस सभासद रुष्ट

congress-flag२४ असोज, काठमाडौं । मध्यराती मोबाइलमा आएको एसएमएस मार्फत् संसदीय दलको बैठक स्थगित भएको जानकारी पाएपछि कांग्रेस सभासदहरुले असन्तुष्टि जनाएका छन् ।

दलको बैठकमा पार्टी नेतृत्व र सरकारको जमेर आलोचना गर्ने तयारीमा रहेका सभासदहरुले रातारात बैठक स्थगित हुनुको कारण खोज्दै शीर्ष नेताहरुलाई सम्पर्क गरेका थिए । तर, नेतृत्वले तयारी नपुगेको भन्ने झारा टार्ने जवाफ दिएर सभासदहरुलाई उल्लु बनाएको सभासद रामहरी खतिवडाले बताए ।

कांग्रेस संसदीय दलको कार्य समिति निर्वाचन अहिलेसम्म हुन नसक्दा दलको नियमित कामकारवाही सुस्त भएको भन्दै सभासदहरुले निर्वाचनको माग गरिरहेका छन् ।

गत फागुन ८ गते १२ सदस्यीय कार्य समितिको निर्वाचनका लागि दुई मत खसेपछि लाइनमा रहेका सभासदहरुलाई घर पठाएर दलका नेता सुशील कोइरालाले निर्वाचन स्थगित गरेका थिए ।

सहमतिका लागि भन्दै एक सातालाई स्थगित भएको निर्वाचन अहिलेसम्म हुन सकेको छैन । ‘कांग्रेसको एक साता ३ सय ६५ दिनको हुने भयो जस्तो छ’ सभासद खतिवडाले व्यंग्य गरे ।

दलित, महिला, जनजाति, मधेशी सहितको १२ सदस्यीय कार्य समितिको निर्वाचनपछि संसदीय दलको सचिव र कोषाध्यक्ष चयन हुने कांग्रेसको विधानमा उल्लेख छ ।

अहिले कांग्रेस सभासदहरुको मासिक तलबबाट ५ हजार रुपैया दलले कटाउछ । त्यो रकम दलका कोषाध्यक्ष मार्फत पार्टी कोषमा पठाउने विधानमा उल्लेख छ ।

कांग्रेसका मन्त्रीहरुले व्यक्तिगत फाइदाको काममात्र गरेको र केही मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको भन्दै सभासदहरुले दलको बैठकमै धज्जी उडाउने तयारी गरिरहेका छन् ।

अर्थमन्त्री रामशरण महत, स्थानीय विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पुर्वाधार मन्त्री विमलेन्द्र निधी, शिक्षामन्त्री चित्रलेखा यादव र सूचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजालको कार्यशैलीप्रति कांग्रेस सभासदहरु रुष्ट छन् ।

संघीयताबारे कांग्रेसले अहिलेसम्म पार्टीको बटमलाइन नबनाएकाले सभासदहरुले संविधानसभामा पार्टीको आधिकारिक धारणा राख्न नपाएको अर्का सभासद आङदावा शेर्पाले बताए ।

‘एमालेले बढिमा ८ प्रदेशको स्पष्ट धारणा लिएर आयो, एमाओवादी र जातीय पार्टीहरु पनि जातीय राज्यमा प्रष्ट छन्, तर हाम्रो आधिकारिक धारणा नहुदा अलमलमा छौं,’ सभासद खतिवडाले भने ।

कांग्रेस सभासदहरुले पार्टीले अडान छाडेर उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति जनाएर एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई संयोजक बनाएकामा पनि दलको बैठकमा विरोध गर्ने तयारी गरिरहेका छन् ।

पार्टीका आधिकारिक निकायहरुमा बैठक र छलफल नगरी केही नेताले मनपरी निर्णय गर्ने परिपाटी स्थापित हुदै गएकाले बैठक स्थगित भएको सभासदहरुको आरोप छ ।

दलको शुक्रवार स्थगित भएको बैठक शनिवार विहान बस्ने जानकारी मुख्य सचिव जीवनप्रेम श्रेष्ठले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment