Comments Add Comment

थोराङ पासबाट फर्केका प्रदीप ज्ञवाली भन्छन्- धन्न बाँचिएछ

Pradeep-gyali-in-thorang

मात्रिका पौडेल

२९ असोज, काठमाडौं । मुस्ताङमा दुर्घटनाको खबर सुनेपछि पूर्वपर्यटनमन्त्री समेत रहेका एमाले सचिव प्रदीप ज्ञवालीले हिउँमा पुरिनबाट धन्न बाँचिएछ भन्दै लामो स्वास फेरे ।

एक साताअघि मात्रै थोराङ पास हुँदै अन्नपूर्ण सर्किटको पदयात्रा सकेर काठमाडौं फर्किएका एमाले नेता ज्ञवाली हिमपातमा परेर २४ जनाभन्दा बढीको ज्यान गएको खबरलाई ‘अनपेक्षित’ घटना बताउँछन् । ‘यसमा ट्राभल एजेन्सी र पर्यटकहरुको कुनै कमजोरी छैन, यो अनपेक्षित घटना हो’ ज्ञवालीले अनलाइनखबरसँग भने ‘अन्नपूर्ण सर्किटमा पदयात्रा गर्ने सबैभन्दा उपयुक्त मौसम नै अक्टोबर हो ।’

पछाडि फर्किने उपाय नै थिएन

त्यसो भए यति ठूलो घटना कसरी हुन गयो त ? पर्यटन व्यसायीहरु आफैं चकित छन् । इतिहासमा बिरलै हुने घटनामध्येको यसपालिको थोराङ पास दुर्घटना हो भन्छन् उनीहरु ।

‘अहिले हिमपातको सिजन होइन । तर, अचानक आइदियो’ मुस्ताङ्गी पर्यटन व्यवसायी अनिल ताङ्बे भन्छन् ‘अप्रत्याशित हिमपात भएकाले बीच बाटोमा परे, आत्मसुृरक्षाको उपाय नै थिएन’ ।

पिक सिजन

अक्टोबर महिनामा अन्नपूर्ण सर्किटमा पदयात्रा गर्नुपर्छ भन्ने विश्वका प्रायः पदयात्रीहरुलाई जानकारी छ । यो समयमा त्यस क्षेत्रमा हिमपात नहुने र बाटो पनि सजिलो हुने भएकाले हजारौं स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण पदयात्रामा निस्कछन् ।

thrang-4

पचास वर्षदेखि निरन्तर पदयात्रा गरिरहेका पर्यटन व्यवसायी तथा होटल र्‍याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठ मनाङ र मुस्ताङमा अचानक भएको हिमपातपछिको क्षतिलाई अकल्पनीय भन्छन् । ‘मैले जीवनमा धेरैपटक अन्नपूर्ण सर्किटको पदयात्रा गरेँ, तर अक्टोबर महिनामा यस्तो विपत्ति विरलै हुने गर्छ’ श्रेष्ठले अनलाइनखबरसँग भने ‘यसमा पदयात्री र एजेन्सीहरुको लापरवाहीभन्दा पनि आकस्मिक विपत्ति मान्नुपर्छ ।’

अनुभवीहरुका अनुसार अक्टोबर र नोभेम्बर महिनामा यस क्षेत्रमा हिमपात कमै हुने गरेकाले हिउँबाट बच्ने लजिस्टिकहरु पनि कमै लगिएको हुन्छ । अचानक हिमपात भए के गर्ने भनेर सोचबिचार गरिएको पनि हुँदैन ।

डरलाग्दो भिरालोमा विपत्ति

एक साताअघि मात्रै थोराङ पास गरेर फर्किएका पूर्वमन्त्री ज्ञवालीका अनुसार जहाँ हिमपातबाट मान्छे मरे, त्यो ठाउँ अत्यन्तै खतरनाक छ । त्यहाँबाट पछि फर्किने अवस्था हुँदैन, अगाडि लाग्दा डरलाग्दो भिरालो छ ।

थोराङ पास गर्नुअघि हाइक्याम्प र बेसक्याम्पमा पर्यटकहरु बास बस्छन् । जहाँबाट बिहानै चार घण्टाको पैदल यात्रापछि थोराङ पार गरिन्छ ।

त्यसपछि अप्ठेरो भिरालो करीव चार-पाँच घण्टा हिँडेपछि मुक्तिनाथ क्षेत्रको अर्को क्याम्पमा पुग्नुपर्छ । यो बीचमा आश्रय लिने कुनै ठाउँ छैनन् । पूरै निर्जन क्षेत्र छ ।

सर्किटमा सयौं अलपत्र

व्यवसायीहरुका अनुसार धेरै पर्यटक तथा पथ प्रदर्शकहरु थोराङ पास गरेपछि हिमपातमा परेका छन् । उनीहरुका सामु फर्किएर बाँच्ने विकल्प पनि थिएन, अघि बढ्ने क्रममा बाटो नभेटिएर पनि धेरैले ज्यान गुमाए ।

पिक सिजन भएकाले अहिले सयौं पदयात्रीहरु अन्नपूर्ण सर्किटमा छन् । कतिपय सुरक्षित ठाउँबाट फर्किएका छन् भने कतिपय हराइरहेका छन् । पर्वतारोहण र पदयात्रा उसै पनि जोखिमपूर्ण कुरा हुन् । विश्वका साहसिक पदयात्रीहरुनै यस्तो जोखिम मोल्न नेपाल आउँछन् ।

किन यस्तो भयो ?

कुनै पनि बेला जुनसुकै विपत्ति आउन सक्छ भनेर पूर्व सावधानी अपनाउने र सोही अनुसारको लजिष्टिक सपोर्ट लैजाने कुरामा कहिँ न कहिँ कमजोरी भएको सरकारी अधिकारीहरु बताउँछन् ।

तर, भारतको अण्डमान टापुमा आएको समुद्री आँधीको यति ठूलो कहर नेपालसम्म आउँछ भन्ने कसैले सोचेका थिएनन् । जसका कारण ठूलो प्राकृतिक विपत्तिमा मानव जीवन समाप्त भयो । ‘नेपालभन्दा धेरै टाढाको समुद्री आँधीले पनि यहाँ विपत्ति ल्याउँछ भन्ने कुराको विश्लेषण गर्दै भविष्यमा थप सजगता अपनाउन यो घटनाले पाठ सिकाएको छ’ पूर्वमन्त्री ज्ञवालीले भने ।

सरकारले चाहे के हुन्थ्यो ?

यो घटना आकस्मिक र अविश्वसनीय भए पनि यसबाट सरकारले पाठ सिक्नुपर्ने कुराहरु धेरै देखिएका छन् ।
पहिलो कुरा त पर्यटकहरुसँग पदयात्राको लागि डलर लिएर पठाएपछि उनीहरु कसरी जान्छन्, सुरक्षाका उपायहरु के छन् भन्नेमा सरकार बेखबर छ ।

हुडहुड आँधीका कारण नेपालमा भारी वर्षातको संकेत देखिएपछि उच्च हिमाली क्षेत्रमा रहेका आन्तरिक र बाहृय पर्यटकको अवस्था बुझेर दुर्घटना हुनुअघि नै सुरक्षाको उपाय अपनाउन सकिन्थ्यो । यस्तो कुरामा नेपाल सरकार सदाझैं यसपटक पनि निकै पछि परेको छ र नेपालको उच्च हिमाली क्षेत्रको पदयात्रा असुरक्षित छ र सरकारले पदयात्रीलाई जोगाउन सक्दैन भन्ने नकारात्मक सन्देश गएको छ ।

पदयात्रीबाट उठाएको शुल्क पदमार्गको विकास तथा यसलाई आधुनिक प्रबिधिको बनाउन खर्च गर्ने हो भने यस्ता बिपत्तिमा पनि क्षति कम गराउन सकिन्छ ।

धेरैजसो पदमार्गमा बाक्लो हिमपातपछि पदयात्रीहरुले बाटो पहिल्याउन नसकेर दुर्घटना हुने गरेका छन् । त्यस्ता ठाउँमा बाटो जनाउने आधुनिक संकेतहरु राख्न पदयात्रीबाट उठाएको शुल्कबाटै सम्भव छ ।

मौसम पूर्वानुमान छैन

अर्कोतिर नेपालको मौसम पूर्वानुमान महाशाखा नाममात्रैको छ । तीन दिनको मौसम पूर्वानुमान समेत मिलाउन नसक्ने महाशाखाले एक साताको प्रक्षेपण गर्न सक्दैन । मौसम पूर्वानुमान महाशाखाका अधिकारीहरु आफूहरुलाई सरकारले उच्च प्रविधि नदिएका कारण के हुँदैछ भनेर भन्न नसक्ने बताउँछन् ।

पर्यटनलाई आर्थिक विकासको मूल आधार बनाउने नेपालजस्तो मुलुकले कम्तिमा मौसमको पुर्वानुमान गर्ने बलियो प्रबिधिको विकास गर्ने हो भने यति ठूलो दुर्घघटना नहुन सक्थ्यो कि ?

‘सरकारले मौसम खराब हुँदैछ, अहिले अघि नबढ भन्दा धेरैको ज्यान जोगिन सक्छ, तर दुर्भाग्य, हामीकहाँ यस्तो प्रविधि नै छैन’ पर्यटन व्यसायी सुरेश श्रेष्ठले भन्छन् ।

उद्दारमा पनि उस्तै

दुर्घटना भइसकेपछि उद्दार गर्ने प्रणाली समेत नेपालको निकै पिछडिएको छ । कुन कुन ठाउँमा विपत्ति परेको छ र त्यहाँ कसरी मानव जीवन जोगाउने भन्ने वैज्ञानिक सोचाइ नै सरकारमा छैन ।

विपत्ति रोक्न नसके पनि त्यसबाट हुने क्षतिलाई कम भन्दा कममा सीमित गर्ने र चाँडोभन्दा चाँडो उद्दार गर्ने प्रणाली तथा प्रविधि विकासमा सरकार संवेदनशील नबने नेपालको साहसिक पर्यटन अन्तर्राष्ट्रिय जगतमा बद्नाम हुन बेर लाग्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment