Comments Add Comment

सर्वोच्चमा रहँदा अर्बपति हुने प्रस्ताव आएको थियो : वस्ती

३० असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको सदस्यमा प्रस्तावित पूर्व न्यायाधीश प्रकाश वस्तीले सर्वोच्चमा रहँदा आफूलाई अर्बपति हुने प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेको बताएका छन् ।

prakash-wastiसंसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा वस्तीले भने-न्यायाधीश भएर गएपछि आफर आयो र मलाई भनियो दाईलाई खर्बपति र तलाई अर्बपति बनाइदिन्छु ।’ आफूले यो कुरा सर्वोच्चका २१ जना न्यायाधीशको अगाडि भनेको भन्दै उनले भने-‘मैले एक पैसा घुस खानु भनेको आमाको रगत खानु बराबर हो । बरु तँसँग मागेर खान्छु भनेँ ।’

सर्वोच्चको स्थायी न्यायाधीश हुन खर्च गर्नुपर्छ । म लगानी गर्छु भन्ने प्रस्ताव पनि आएको र त्यसलाई आफूले सार्वजनिक रुपमा भनेको उनले बताए । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्माको नाम नलिइ पूर्व न्यायाधीश वस्तीले भने-‘ भगवान साक्षी राखेर भन्छु, मैले पब्लिक्ली भन्दा मलाई बोलाएर ग्रहशान्ति गनुपर्छ भनेकै हो ।’

उनले सर्वोच्चमा रहँदा आफूले घुस खाएको भन्ने भन्दा अरु मिथ्या आरोप केही हुन नसक्ने बताए । उनले भने-बरु मलाई मारिदिएको भए हुन्थ्यो ।’

सुनुवाइका क्रममा सभासद कुन्ती साहीले वस्तीलाई अस्थायी न्यायाधीशबाटै सर्वोच्चबाट विदा गर्दा अन्याय भएको र अहिले मानवअधिकार आयोगमा सिफारिस गर्दा न्याय भएको जस्तो लाग्छ भनी प्रश्न गरेकी थिइन् ।

जवाफमा उनले भने-‘म खुसी त भन्दिन तर, सन्तुष्ट छु । न्यायपरिषद्बाट निकालिएको व्यक्ति म । यसमा गुनासो छैन । तर, सन्तुष्ट किन छु भने बेइमानी, अनियमितताले निकालिएको त होइन रहेछ भन्ने यो सिफारिसले प्रष्ट पारेको छ ।’ आयोगको सदस्यमा भएको सिफारिस आफ्नो लागि अवसर भएको भन्दै उनले आफू गलत नभएको फेरि प्रमाणित गरेर देखाउने मौका समेत पाएको बताए ।

सर्वोच्चमा रहेको भए बढीमा प्रधानन्यायाधीश हुने र एउटा फोटो टाँसिने थियो भन्दै उनले नभएकोमा मिडिया र जनताबाट माया पाएको बताए ।

सुनुवाइका क्रममा वस्तीमाथि माओवादी नजिक भएको उजुरी आएको भन्दै प्रश्न सोधिएको थियो ।

तर, उनले आफूले कुनै पार्टीको सदस्य नलिएको बताए । नजिकै बसेका कांग्रेस प्रमुख सचेतक चिनाकाजी श्रेष्ठ आफ्नो राम्रो साथी भएको बताइदिए ।
आफू निष्पक्ष भएन भने अहिलेसम्म कमाएको सबै प्रतिष्ठा सकिनेमा आफू विश्वस्त समेत रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment