Comments Add Comment

टलकजंग भर्सेज टुल्के लूट भन्दा फरक : निश्चल बस्नेत

nischhalमौलिक नेपाली कथामा बनाएको फिल्म अन्तराष्ट्रिय बजारमा समेत बिक्री हुन्छ भन्ने लाग्छ निश्चल बस्नेतलाई । नेपाली फिल्मको बजार क्रमशः उँधो लागिरहेको बेला ‘लुट’ बनाएका बस्नेतले फिल्मी बजारमा सानोतिनो क्रान्ति नै ल्याइदिए । नेपाली फिल्म भन्ने बित्तिकै नाक खुम्च्याउने दर्शकलाई हलमा आकर्षित मात्रै गरेनन्, नेपाली फिल्म चल्दैन भन्दै हलमा फिल्म चलाउन आनाकानी गर्ने मल्टिप्लेक्स हलका मालिक समेत नेपाली फिल्मप्रति सकारात्मक भए । उनै निर्देशक निश्चल बस्नेतले पछिल्लो समय ‘टलकजंग भर्सेज टुल्के’ फिल्म बनाएका छन् । ‘टलकजंग भर्सेज टुल्के’मा केन्दि्रत रहेर निर्देशक बस्नेतसँग अनलाइनखबरले गरेको कुराकानी :

तपाइको अघिल्लो फिल्म ‘लुट’ हेरेका दर्शकहरु तपाइको फिल्मप्रति बढी नै आशावादी छन् । ‘टलकजंग भर्सेज टुल्के’ले दर्शकको त्यो अपेक्षा पूरा गर्ला ?

कोही दर्शकहरु लुट जस्तै छ कि भनेर आउनु भयो भने उहाँहरुले हाफटाइम पुग्दा नपुग्दै थाहा पाउनु हुने छ । यो चलचित्र ‘लुट’ भन्दा फरक रहेछ भन्ने कुरो । को के सोच लिएर आउनु हुन्छ त्यो त थाहा हुन्न तर, जो मेरो फिल्म हेर्न आउनुहुन्छ उहाँहरुले फिल्म ठिकै रहेछ भन्नु हुन्छ जस्तो लाग्छ मलाई ?

यो फिल्म कुन वर्गका दर्शकका लागि हो ?

यस फिल्ममा भएको रमाइलो पन, इमोस्नल द्वन्द्व लगायतका कुरा गर्ने हो भने सबैखाले दर्शकले हेर्न मिल्छ । लुट चाँही मैले १८ वर्ष भन्दा माथिकालाई टार्गेट गरेर बनाएको थिएँ । त्यतिखेर म आफैले भनेको थिएँ, यो फिल्म १८ वर्ष भन्दा मुनिकाले हेर्न मिल्दैन । ‘टलकजंग भर्सेज टुल्के’को हकमा हामीले गुजारेको समय, गाउँठाउँमा हामीले देखेको मान्छे र मान्छेलाई हेर्ने दृष्टिकोण, आफ्नो पहिचानको लागि गरेको संघर्ष देखिन्छ ।

फिल्मको प्रोमो हेर्दा त माओवादी जनयुद्धले पारेको प्रभाव सिमान्तकृत समुदायको संघर्ष जस्ता प्रसंग समेटिए जस्तो देखिन्छ । हो ?

नेपालको इतिहास हेर्ने हो भने बिभिन्न समूहमा विभिन्न पार्टीले क्रान्ति गरेको देखिन्छ । क्रान्तिको इतिहास लामो छ । नेपाली कांग्रेस, नेकपा माले, माओवादी लगायतका पार्टीले विभिन्न समयमा क्रान्ति गरे । सबै क्रान्तिको नारा भने लगभग एउटै छ ‘जनताका लागि’ ।

जसका लागि यो आन्दोलन गरिएको थियो, ति नागरिकको स्थिति कस्तो छ त ?

क्रान्तिको पाटोलाई सहायक स्टोरीका रुपमा राखेका छौं हामीले । ठ्याक्कै समय तोकेका त छैनौं तर १०/१५ वर्ष अगाडीको घटनालाई लिएका छौं । जनतालाई गास, बास, कपासको ब्यवस्था गर्छौं भन्नेहरुले जनताका ति न्युनतम आवश्यकता पूरा गरेकी गरेनन् वा आन्दोलन आफै ‘मिसयूज’ भएको पो हो की भनेर एउटा साधारण मान्छेको कथा प्रस्तुत गरेका छौं ।

नेपालको राजनीतिप्रति एकथरीमा मान्छेमा बितृष्णा छ । ति असन्तुष्टहरुको आवाजलाई समेट्न खोज्नु भएको हो ?

हामी राजनीतिबाट असन्तुष्ट छौं, यसो गर्नुपर्छ भनेर हामीले भनेका छैनौं । हाम्रो देशमा कुन समयमा कस्तो घटना भएको थियो । एउटा समयकालमा मान्छेले कस्तो अवस्था भोग्नु पर्‍यो । हरेक पटकको क्रान्तिमा एउटा सामान्य मानिसको जीबन कस्तो रह्यो भन्ने विषयलाई प्रस्तुत गरेका छौं ।

टलकजंग भर्सेज टुल्के हेर्नुपर्ने कारण ?

यो फिल्म हो । फिल्म रमाइलोका लागि हेरिन्छ । रमाइलोसंगै केही आफ्ना भोगाइ पनि पाउन सकिन्छ ।

तपाइको फिल्मको विषय चाँही के हो भन्न मिल्छ ?

हामीसंग काल्पनिक विषयमा फिल्म बनाउने क्षमता र पैसाको अभाव छ । त्यसकारण हाम्रै गाउँका कथामा फिल्म बनाउन पर्छ । हाम्रो फिल्ममा बनावटी केही पनि लाग्दैन । हाम्रै वरिपरि विषेशगरी गण्डक क्षेत्रको एउटा परिवेशलाई लिएर फिल्म बनाएका छौं ।

नेपाली फिल्म समाज भन्दा टाढा छ भन्छन् नि । फिल्मलाई समाजसंग जोड्न के गर्नुपर्छ ?

समाज र फिल्म जोडिनका लागि निर्देशकले मात्रै चाहेर हुन्न । राइटरबाटै यो कामको सुरुवात हुनुपर्छ । समय र ठाउँको कुरा गर्छौं । हरेक फिल्ममा कथामा कुन ठाउँ र कुन समयको हो उल्लेख हुनुपर्छ । यो त अनिवार्य हो

पटक पटक यो समस्या दोहोरिनुको कारण ?

धेरैमा यो समस्या देखिनुको मुख्य कारण हेलचेक्राइ गर्ने प्रवृत्ति नै हो । फिल्ममा कम्तिमा समय र ठाउँ मात्रै लेखिदिए पनि हुन्छ । हाम्रा दर्शक धेरै बाठा भैसके अब कसैले झुक्याउन सक्दैन ।

लगातार फिल्म नचल्नुको कारण ?

एउटा समय थियो नेपाली फिल्मको स्वर्णकाल । मान्छेहरु लाईन लागेर नेपाली फिल्म हेर्न जान्थे । डिजिटल प्रविधि भित्रेपछि क्रमशः हाम्रो मौलिकता हराउदै जान थाल्यो । योङहरुले प्रयोग बढी गरे । फिल्ममा प्रयोग हुनु राम्रो हो । हामीले प्रयोगको नाममा अरु कुरामा ध्यान दियौं तर, स्टोरीमा ध्यान दिन सकेनौं ।

स्क्रिप्ट गतिलो नहुनुको कारण ?

राम्रो कथालाई स्क्रिप्टिङ गर्न नसक्नु नै सबैभन्दा ठूलो समस्या हो । कलाकारहरुमा खासै समस्या छैन ।

विदेशमा नेपाली फिल्मको बजार कस्तो छ ?

मैले दुईटा फिल्मको काम गरें । राम्रै छ । तर, यहाँ हल्ला गर्ने धेरै छन् । अमेरिकामा एउटा फिल्म २ लाखमा बेचेर यहाँ आएर १० लाखमा बेचें भन्नेहरु पनि छन् । अहिले विदेशमा पनि हप्तैपिच्छे फिल्म जानेक्रम सुरु भएको छ । कतिपय देशमा लौन मेरो फिल्मको टिकट काटिदिनुस् भन्नुपर्ने स्थिति छ । कतिपय मान्छेहरु टिकट लिन्छन् तर, फिल्म हेर्न आइदिन्नन् ।

नेपाली फिल्मको भविष्य ?

म त राम्रो देख्छु । पछिल्लो समय प्रयोग धेरै भएको छ । मुख्य कुरो हाम्रो आफ्नो कथामा फिल्म बनाउनेक्रम सुरु भएको छ । आफ्नै कथामा फिल्म बनाउने परिपाटीले हाम्रो फिल्मको आफ्नै शैली स्थापित गर्न सघाउछ ।

नेपालमा फिल्म चलाउन पनि समस्या छ भन्छन्, हो ?

हाम्रोमा यति धेरै फिल्म छन् । यहाँ वितरकलाई फिल्म पुर्‍याउन जाने चलन छ । अरु देशमा वितरक फिल्म माग्न आउछन् तर, हाम्रो उल्टो चलन छ । त्यसकारण निर्माताको बार्गेनिङ पावर घटेको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment