Comments Add Comment

अर्थमन्त्रीले मागे अमेरिकासँग थप सहयोग

Mahat-and-bode

१२ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत र नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेबीच अर्थमन्त्रालयमा पारस्परिक सहयोग र हितका बारेमा छलफल भएको छ ।

छलफलमा महतले नेपालमा पछिल्लो समय राजनीतिक स्थायित्व कायम भएको, लगानीको वातावरणमा उल्लेख्य सुधार भएको र विदेशी लगानी धमाधम आउन थालेको जानकारी गराए । उनले राजदूत बोडेसँग अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न उपयुक्त भएको सन्देश सुनाइदिन समेत आग्रह गरे ।

विद्युत उत्पादनका क्षेत्रमा लगानीको वातावरण राम्रो भएको उल्लेख गर्दै अर्थमन्त्री महतले हालै भारतसँग विद्युत व्यापार सम्झौता भैसकेकाले उत्पादित विद्युतको ठूलो बजार प्राप्त हुने हुँदा यस क्षेत्रमा ढुक्कसँग लगानी गरी लाभ लिन सकिने दाबी गरे ।

महतले भने- ‘लगानीकर्ताहरुलाई सहज वातावरण बनाउनका लागि सरकारले तीन दर्जन जति कानूनहरुमा सुधार गर्ने व्यापक तयारी गरिरहेको छ । आउँदो अधिवेशनमा ती विधेयकहरु पारित हुनेछन ।’

पछिल्लो समयमा लगानीको वातावरणमा भएको सुधारबारे अन्तर्राष्ट्रिय निकायहरुले समेत प्रतिवेदनहरु सार्वजनिक गरिरहेको उनले जानकारी गराए । उनको भनाई थियो, पछिल्लो प्रतिवेदनका अनुसार नेपाल दक्षिण एसियाली देशहरुमै लगानीको लागि दोस्रो आकर्षक गन्तव्यस्थल बन्न सफल भएको छ ।

अर्थमन्त्री महतले नेपालका लागि ठूलो सहयोग आवश्यक परेको भन्दै अमेरिकासँग नियमित सहयोगका अतिरिक्त मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) मार्फत पनि सहयोग गर्न आग्रह गरेका छन् ।

राजदूत बोडेले एमसीसीमार्फत सहयोगको लागि आफूले सदासयतापूर्वक आफ्नो सरकारसमक्ष कुरा राख्ने जानकारी दिए । नेपालमा भैरहेको राजनीतिक तथा आर्थिक प्रगति र विकासका घट्नाक्रमलाई सकारात्मक भन्दै राजदूत बोडेले भने- ‘विद्युत व्यापार सम्झौता र आयोजना विकास सम्झौताले राम्रो सन्देश दिएको छ ।’

संविधान समयमै बन्ने गरी भैरहेको तयारीबारे पनि उनले आफूलाई उत्साहित बनाएको उल्लेख गरेका छन् । नेपालमा अहिले लगानीको वातावरण राम्रो भएको भन्दै राजदूत बोडेले आगामी दिनमा थप लगानी आउने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment