Comments Add Comment

निगमको दोस्रो जहाज ‘कोइली’ काठमाडौं आइपुग्यो, १० दिनमा उडान भर्ने तयारी

Nepal Air y-12 (8)

१७ कात्तिक, काठमाडौं । लामो समयको प्रतिक्षापछि नेपाल वायुसेवा निगमको दोस्रो जहाज ‘वाई-१२’ दिउँसो दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

जहाजको स्वागत गर्न नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताइ, पर्यटन सचिव सुरेश कुमार श्रेष्ठ लगायत निगमका उच्च अधिकारीहरुको विमानस्थल पुगेका थिए । जहाजलाई नेपाली परम्पराअनुसार पण्डितद्धारा पुजा गराई भित्राइएको थियो ।

जहाजलाई चिनिया पाइलटद्धय क्याप्टेन रावर्टस ल्याम्वर्टस र क्याप्टेन मारिया एभिचन्र्दोन्कले त्रिभुवन विमानस्थलमा अवतरण गराएका हुन् । उनीहरुले जहाजलाई चीनको चेन्दु, मण्डेला, कोलकत्ता हुँदै काठमाडौं ल्याइपुर्‍याएका हुन् ।

जहाजले लगतार साढे ३ घण्टाभन्दा लामो समय उडान भर्न नसक्ने नहुँदा धेरै ठाउँ अवतरण गराउँदै ल्याउनुपरेको हो । यो सँगै चीन सरकारले अनुदानमा उपलब्ध गराएका दुबै जहाज नेपाल आइसकेका छन् ।

यसभन्दा अगाडी एमए-६० जहाज बैशाख १४ गते नेपाल आइपुगेको थियो । अहिले उक्त जहाजबाट निगमले सुगम गन्तव्यमा उडान भरिरहेको छ । एमए-६० जहाज ५८ सीट क्षमताको हो ।

जहाज आएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा संचालन तथा अनुमति प्रमाणपत्र (एओसी)का लागि यथाशिघ्र काम अगाडी बढाउने निगमले जनाएकाे छ ।

Nepal Air y-12 (1)

वाई-१२ जहाज करिव साढे ३ महिना ढिलो गरेर नेपाल आइपुगेको हो । चीनले दिएको मितिअनुसार जहाज असार ३० मा नेपाल आइपुग्नुपर्ने थियो । चीनले अंग्रेजी भाषा बोल्ने प्रशिक्षक पाइलट नपाएको भन्दै जहाज उपलब्ध गराउन ढिलाई गरेको हो ।

नेपालको उड्डयन नियमअनुसार अंग्रेजी बुझ्ने र बोल्ने पाइलट अनिवार्य छ । यसभन्दा अगाडी निगमले ताकेता गरेपछि चीनले भदौ २० मा पठाएको प्रशिक्षक पाइलट अंग्रेजी भाष बुझ्न र बोल्न नसक्ने पुष्टी भएको थियो ।

चीनले गत असार पहिलो साता यो जहाज लिन निगमलाई पत्रचार गरेपछि महाप्रबन्धक मदन खरेलसहितको टोली असार १८ गते जहाज लिन चीनतर्फ गएको थियो । जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट म्यानुफ्याक्चरिङ कर्पोरेसनले निगमको टोलीलाई असार २२ गते जहाज हस्तान्तरण गरेको थियो ।

चीनले यसपटक जहाजसहित टंगोका पेनियटा मायाभीयालाई प्रशिक्षक पाइलटका रुपमा नेपाल पठाएको छ । प्रशिक्षक पाइलटलाई वर्क प्रमिट दिन भने अझै बाँकी छ ।

निगमको १८ सीट क्षमताको यो जहाजलाई नेपाल उड्डयन प्राधिकरणले ‘९एन-एकेएस’ कलसाइन दिएको छ । निगमले यस जहाजको नाम ‘कोइली’ राखिएको छ ।

१० दिनमा व्यवसायीक उडान

निगमले १० दिनभित्रमा प्राधिकरणबाट एओसी प्रकृया पुरा गरेर व्यवसायीक उडान सुरु गर्ने लक्ष्य राखेको महाप्रबन्धक खरेलले बताए । उनका अनुसार जहाजबाट २/३ दिनभित्रमा टेष्ट उडान गरिने छ ।

Nepal Air y-12 (12)

यस पटक जहाज नेपाली रजिष्ट्रेसनमा आएको र एओसीका प्रकृया धेरै पुरा गरिसकेको हुँदा छिट्टै उडान सुरु गर्ने महाप्रबन्धक खरेलको भनाई छ ।

वाई-१२ जहाले नेपालका सबै दुर्गम भेगमा उडान भर्न सक्ने उनले जानकारी दिए । यसले दुर्गम पहाडी भेगका जनताहरुलाई सेवा उपलब्ध गराउने छ ।

निगमले चीनबाट ४ वटा जहाज सहुलियत ऋणमा र २ वटा अनुदानमा ल्याउन लागेको हो । जसमध्ये अनुदानका दुबै जहाज आइपुगेका छन् भने बाँकी ४ जहाज तीन महिनाभित्रमा आइपुग्ने निगमले बतायो ।

‘अब तीनवटै जहाज एकै पटक त्रिभुवन विमानस्थलमा अवतरण हुनेछन’ महाप्रबन्धक खरेलले भने- ‘अब बाँकी जहाज ल्यउन पहिला जस्तो कठिन हुनेछैन ।’

एमए-६० र वाई-१२ एक/एकवटा अनुदानमा र ३ वटा वाई-१२ र एउटा एमए-६० जहाज सहुलियत ऋणमा चीनबाट ल्याउन लागिएको हो ।

Nepal Air y-12 (10) Nepal Air y-12 (3) Nepal Air y-12 (4) Nepal Air y-12 (6)  Nepal Air y-12 (2)

तस्वीर : श्रीधर पाैडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment