Comments Add Comment

‘यहाँ नीतिको होइन, नियतको समस्या छ’

sana-kisan-sammelan3

१८ कात्तिक, काठमाडौं । तराई मधेस लोकतान्त्रीक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले नेपालको कृषि क्षेत्रको विकासका लागि नीतिको समस्या नभई नियतको समस्या रहेको बताएका छन् ।

राजधानीमा भएको साना किसान सम्मेलनमा नेता त्रिपाठीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीमा निकै मार्मिक भाषण गरे ।

‘सरकार किसानलाई उन्न्त बिउ दिन्छ त्यो फल्दैन’ उनले भने- ‘यहाँ नीतिको होइन नियतको समस्या छ, संसारमा नियत बदल्ने औषधी नै छैन ।’

आजसम्म नेपालमा गरिबी निवारण गर्न भन्दा यो विषयलाई बेच्न खोजिएको भन्दै त्रिपाठीलेे गरिबी बिक्री गर्न तत्काल रोक्नुपर्ने बताए ।

‘गरिबी बेच्ने विषय होइन, यो विष्फोटमा परिणत भयो भने हामी सबै पत्तासाफ हुन्छौ’ उनले भने- ‘हामी अनुदानको सदुपयोग हैन तामझाम गर्न खर्च गर्छौं ।’

उनले कुनैपनि उत्पादकले उत्पादनको सही मुल्य नपाएको उनको भनाई थियो ।

उनले कृषि उद्यम सञ्चालन गर्नभन्दा गाडी किन्न सस्तोमा कर्जा पाइने भन्दै गभर्नरलाई प्रश्न गरे- ‘गभर्नरसाप किन यस्तो ? मैले बुझ्न सकिन ? बुझाइदिनु हुन्थ्यो कि ?’

६ प्रतिशतमा किसानलाई कर्जा दिने नीति अव्यवहारिक

कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले देश विकासको साँचो किसानका हातमा भएको बताए । आफू अर्थमन्त्री हुँदा सहकारी र किसानका लागि थुप्रै योजना ल्याएको उनले सुनाए ।

३ वर्षमा कृषि वस्तुको व्यापार घाटा १ सय ५० प्रतिशतले बढेको भन्दै यसतर्फ सरकार गंभिर बन्नुपर्नेमा जोड दिए ।

सरकारले केहीदिन अघि कार्यान्वयन गरेको किसानलाई ६ प्रतिशत व्याजदरमा कर्जा दिन ल्याएको कार्यविधि अव्यवहारिक भएको बताए ।

‘कार्यविधिले वाणिज्य बैंकहरुलाई ६ प्रतिशतमा कर्जा प्रवाह गर्न भनेको छ’ अधिकारीले भने -जबकी वाणिज्य बैंकहरुले बिनाधितो कृषिमा कर्जा प्रवाह गर्दैनन । कार्यविधिलाई संसोधन गरेर साना किसानको क्षेत्रमा काम गर्ने संस्थालाई व्याज अनुदान दिनु पर्छ ।

उदारीकरण र सहकारीता विपरित

एकीकृत माओवादीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सहकारीलाई प्राथमिकता नदिएको आरोप लगाए ।

‘यो सरकार नयाँ चरणको आर्थिक उदारीकरणको अभियानमा छ’ पुनले प्रशन गरे- आर्थिक उदारीकरणसँग सहकारी आन्दोलन र साना किसान कहाँनेर मेल खान्छ ?

आफू अर्थमन्त्री हुँदा आर्थिक उदारीकरणको विकल्प नरहेको बताउने पुनले किसान सममेलनमा भने उदारीकरणको व्यापक आलोचना गरे । अर्थमन्त्री डा. रामशरण महत नयाँ चरणको आर्थिक उदारीकरणको अभियानमा लागेका छन् ।

‘हामी तीनखम्बे आर्थिक नीतिमार्फत देशको विकास हुन्छ भन्नेमा विश्वस्त छौं’ उनले भने ।

नीतिगत विचलनका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र मुलुकको विकास नभएको पुनको भनाई थियो ।  साना किसान भन्दै ठूला किसानले र बेरोजगार भन्दै रोजगारहरुले फाइदा लिने गरेकाले त्यसतर्फ सचेत रहन उनले आग्रह गरे ।

खाद्यान्न बालीको न्यूनतम आधारमूल्य तोक्नुपर्छ

नेपाल राष्ट्र बैंकका गभर्नर डा.युवराज खतिवडाले सरकारले खाद्यान्न बालीको न्यूनतम आधार मुल्य तोक्नुपर्ने बताए । जमनिलाई सहकारीकरण गरेर किसानको पहुँच नबढाउने हो भने साना किसानको उन्नति नहुने खतिवडाको भनाई छ ।

‘प्राकृतिक स्रोत र साधनको वितरणलाई राज्यले व्यवस्थित नगर्ने हो भने साना किसान सीमान्त किसानमा परिणत हुन सक्छन’ खतिवडाले भने ।

उनले कृषि व्यवसायमा मुख्य पाँच वटा जोखिम रहेको बताए । खतिवडाका अनुसार प्राकृतिक प्रकोपबाट उत्पन्न हुने जोखिम, किटजन्य जोखिम, बजार उपलब्धता र मुल्यको जोखिम र बीमाको जोखिम विद्यमान छन् ।

‘जोखिम न्यूनिकरणका लागि सरकारले कृषि बीमा अनुदान बढाउनुपर्ने आवश्यकता छ’ उनले भने ।

सहकारी आन्दोलनलाई सुशासित आन्दोलनको रुपमा अघि बढाउन आग्रह गर्दै आफू सँधै किसनको साथमा रहेको खतिवडाले बताए ।

‘म तपाईहरुको साथमा छु, तपाईहरुको तरकारी बारी, बंगुरको खोरमा धेरैपटक गएको छु’ उनले भने- कृषि क्षेत्रको विकासमा म तपाईहरुसँगै छु र रहनेछु ।

खतिवडाले १४ लाख साना किसान आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने अवस्थामा रहेको मार्मिक तथ्यांकसमेत उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment