Comments Add Comment

सार्क क्षेत्रको व्यापारिक अवरोध हटाउन अर्थमन्त्रीको आग्रह

South-Asia-Ram-Sharan-Mahat

२० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले दक्षिण एसियाली राष्ट्रहरुको उन्नतिका लागि सबैभन्दा पहिला यस क्षेत्रमा रहेका व्यापारिक अवरोधहरु हटाएर लागत न्युनिकरण गर्नुपर्ने बताएका छन् ।

नयाँ दिल्लीमा आयोजित दक्षिण एसिया आर्थिक सम्मेलनमा विशिष्ट बक्ताको रुपमा बोल्दै महतले वस्तु तथा सेवाहरु विश्व बजारमा प्रतिस्पर्धी बनाउन लागत घटाउनुपर्ने बताएका छन् ।

‘यस क्षेत्रभित्रै व्यापार गर्नुभन्दा तेस्रो मुलुकसँग व्यापार गर्नु सस्तो पर्न जान्छ’ महतले भने- ‘भारत र पाकिस्तानले मात्र यस क्षेत्रको ९० प्रतिशत व्यापार हिस्सा ओगट्छन तर उनीहरुबीच हुने व्यापारको लागत भने चीनसँग वा अमेरिकासँगको भन्दा दोब्बर रहेको छ ।’

नेपाल दक्षिण एसियाकै एक मुलुक भएपनि श्रीलंकाले नेपालसँग व्यापार गर्नुभन्दा ब्राजिलसँग व्यापार गर्न सस्तो पर्ने बताउँदै मन्त्री महतले यसरी बढी लागत पर्नुको मुख्य कारण नै व्यापारिक अवरोधहरु भएको स्पष्ट पारे ।

दक्षिण एसियाली मुलुकहरुमा एकबाट अर्कोमा सामान पठाउँदा धेरै चेकजाँचहरु हुने गरेकोले व्यापारको लागत बढेको महतको भनाई थियो । उनले आपसमा खुल्ला छलफल गरी यी अवरोधहरुलाई हटाउनुपर्ने बताएका छन् ।

दक्षिण एसियाली मुलुकहरुले स्वास्थ्य, शिक्षा, उर्जा, पारवहन, पर्यटन जस्ता क्षेत्रको विकास गरी आर्थिक बृद्धि हासिल गर्न सक्ने महतले बताए । महतले भने- ‘हामीले बिगतमा प्रतिवद्धता धेरै व्यक्त गरिसकेका छौं । त्यसैले फेरि नयाँ प्रतिवद्धता थप्दै जानुभन्दा गृहकार्य भैसकेका क्षेत्रलाई आपसी सहमति कायम गरी कार्यान्वयन गर्नुपर्ने खाँचो छ ।’

लगानीका दृष्टिले दक्षिण एसियाली देशहरु विश्वका १८९ मुलुकमध्ये ९९ देखि १८३ औं स्थानमा रहेका छन । यो तथ्य प्रस्तुत गर्दै महतले लगानीमैत्री र व्यापारमैत्री वातावरण सिर्जना गरी यस क्षेत्रमा उत्पादन तथा प्रशोधन उद्योगहरुको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई लगानी सजिला देशमध्ये ५० मा स्थापित गरिछाड्ने प्रतिवद्धता व्यक्त गरेकोमा सराहना गर्दै उनले यसले अन्य देशहरुलाई पनि लगानीमैत्री वातावरण सिर्जना गर्न दबाब पैदा हुने र सकारात्मक प्रभाव फैलिने आशा व्यक्त गरे ।

व्यापारलाई सहजीकरण गर्नका लागि उनले यस क्षेत्रमा बिद्यमान पारबहन तथा व्यापारका पूर्वाधार तथा कोरिडरहरुलाई स्तरोन्नति गरिनुपर्नेमा महतले जोड दिए । यसमा अन्तरदेशीय विशेष आर्थिक क्षेत्रहरुको स्थापनामा उनको विशेष जोड थियो ।

प्रत्यक्ष विदेशी लगानीका लागि दक्षिण एसियाली देशले कुल लगानीको ४ प्रतिशत हिस्सा मात्र आकषिर्त गर्न सकेको उल्लेख गर्दै महतले नेपालले नेपालमा मात्र होइन देशबाहिर पनि लगानीको ढोका खोल्न लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment