Comments Add Comment

रामचन्द्रका छोरा, सम्धी र ज्वाइँलाई सरकारी नियुक्ति

२१ कात्तिक, काठमाडौं । सत्र पटकसम्म प्रयास गर्दा पनि प्रधानमन्त्री बन्न नपाएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो परिवारका तीनजनालाई राजनीतिक नियुक्ति दिलाउन सफल भएका छन् ।

कार्यवाहक सभापतिसमेत नपाएपछि प्रधानमन्त्री सुशील कोइरालासँग असन्तुष्ट बनेका पौडेलले प्रधानमन्त्री कोइरालाले सम्हालेकै मन्त्रालय अन्तर्गत छोरालाई जागिर खुवाउन सफल भएका हुन् । पौडेलका इन्जिनियर छोरालाई करीव डेढ लाख मासिक तलब पाउने गरी सरकारी नियुक्ति दिलाइएको छ ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पौडेलपुत्र चिन्तन पौडेललाई ‘गरीव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्ड’को कार्यकारी प्रमुखमा नियुक्त गरिएको हो ।

गरिवी निवारण तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको यो बोर्ड पहिले गरीवी निवारण कोषअन्तर्गत थियो । दुई वर्षअघि बोर्डलाई कोषबाट मन्त्रालय अन्तर्गत लगिएको कोषका उपाध्यक्ष युवराज पाण्डेले जानकारी दिए ।

chintan poudel
चिन्तन पौडेल

कांग्रेस उपसभापति पौडेलका एक्ला छोरा चिन्तनलाई यसअघि वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको कार्यकारी निर्देशक बनाउन दबाव परेको थियो । त्यसका कार्यकारी निर्देशक गोविन्दराज पोखरेल योजना आयोगको उपाध्यक्ष नियुक्त भएपछि पौडेलले छोराका लागि प्रवर्द्धन केन्द्रमा नियुक्तिका लागि दबाव दिएका थिए ।

तर, बैकल्पिक उर्जामा कार्यकारी प्रमुख हुन सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनुपर्ने कानुनी प्राबधान रहेकाले सम्भव भएको थिएन ।

यो बोर्डको कार्यकारी प्रमुखमा यसअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी भाइ बुहारी दुर्गा भट्टराईलाई नियुक्त गरिएको थियो । उनको दुई वर्षे कार्यकाल सकिएपछि खिलराज रेग्मी सरकारका पालामा एक वर्ष थप गरिएको थियो ।

बाबुरामकी बुहारीको कार्यकाल सकिएपछि रामचन्द्रका छोरालाई नियुक्त गरिएको बोर्डका कर्मचारीले टिप्पणी गरेका छन् । ‘गरीव पहिचान गर्ने र परिचयपत्र बाँड्ने बोर्ड नेताका आफन्त भर्ति गर्ने थलो बनेको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

Yubraj-bhusal
युवराज भुसाल

ज्वाइँलाई खानेपानी, सम्धीलाई प्रतिष्ठान

पौडेलले यसअघि आफ्ना ज्वाइँ परमेश्वर पोखरेललाई खानेपानी संस्थानको अध्यक्षमा नियुक्ति दिलाइसकेका छन् ।

त्यस्तै पौडेलले सम्धी युवराज भुसाललाई सचिवबाट अवकाश पाएकै दिन कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा नियुक्ति दिलाइसकेका छन् ।

सुशील पनि कम छैनन्

प्रधानमन्त्री सुशील कोइरालामाथि पनि परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको आरोप लागेको छ । कोइरालाले पछिल्लोपटक भतिजा श्रीहर्ष कोइरालालाई नेपाल क्रिकेट संघ क्यानको उपाध्यक्ष बनाएका छन् ।

त्यस्तै भाञ्जा रमेश भण्डारी र दाजु विनोद कोइरालाका छोरा अतुल कोइरालालाई प्रधानमन्त्रीले स्वकीय सचिवालयमा नियुक्ति दिएका छन् ।

भागबण्डा मिल्यो

यसैबीच कांग्रेस र एमालेबीच राजनीतिक नियुक्तिको भागबण्डा मिलेपछि भटाभट मन्त्रिपरिषदबाट नियुक्ति दिइएको छ ।

यसअघि सुकुमबासी समस्या समाधान आयोगमा एमालेले एकलौटी गरेको भन्दै आयोग विघटनको प्रस्ताव प्रधानमन्त्रीले लैजाँदा एमाले मन्त्रीहरुले क्याबिनेट बैठक बहिस्कार गरेका थिए ।

त्यसपछि कांग्रेसबाट कृष्ण सिटौला र एमालेबाट भीम रावललाई भागबण्डा मिलाउने जिम्मा दिइएको थियो ।

सिटौला र रावलबीच सुकुम्बासी आयोगका केन्द्रदेखि जिल्लासम्म उपाध्यक्ष थपेर कांग्रेसलाई दिने र नगर विकास समितिहरुमा कांग्रेसले एकलौटी गरेका ठाउँमा एमालेलाई पनि कोटा दिने सहमति भएको रावलले बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलका इन्जिनियर छोरालाई करीव डेढ लाख मासिक तलब पाउने गरी सरकारी नियुक्ति दिलाइएको छ भने पौडेलकै सम्धी र ज्वाइँले पनि आकर्षक सेवा सुविधा पाउने गरी राजनीतिक नियुक्ति पाएका छन्

‘अरु नियुक्तिको मापदण्ड पहिले नै बनेको छ, सुकुम्बासी र नगर विकासमा दुवै पक्षका मिलाउने गरी हामीले प्रस्ताव दिएका हौं,’ रावलले अनलाइनखबरसँग भने ।

एमाले कार्यकर्ता नियुक्त

सोही सहमतिअनुसार मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न अस्पताल विकास समितिको अध्यक्षमा एमालेका कार्यकर्तालाई राजनीतिक नियुक्ति दिएको छ । कोशी अञ्चल अस्प्ताल विकास समितिको अध्यक्षमा एकराज भट्टराई, सेतीमा यज्ञराज पाण्डेय, मध्यपश्चिममा खुम्बराज थानी र मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय अध्यक्षमा श्रीधर शर्मा नियुक्त भएका छन् ।

त्यस्तै नेपाल औषधी लिमिटेडको अध्यक्षमा बाबुराम हुमागाई नियुक्त भएका छन् । उद्योग मन्त्रालय अन्तर्गतको दोलखा खरीढुंगास्थित म्याग्नेसाइट लिमिटेडको अध्यक्षमा दोलखाका एमाले नेता बसन्तराज कार्की नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment