Comments Add Comment

वीपीको मृत्युपछि मलाई दोष लगाइयोः डा. सुन्दरमणि

२९ कात्तिक, काठमाडौं । नागरिक आन्दोलनका अगुवासमेत रहेका डा. सुन्दरमणि दीक्षितको जीवनको सबैभन्दा दुःखको क्षण वीपीको उपचारबारे कोइराला परिवारले उनीमाथि लगाएको आरोप हो ।

पाँच/छ वर्षसम्म वीपी कोइरालाको उपचार गरेका डा. दीक्षित आफूमाथि कोइराला परिवारले अपमान गरेको सम्झँदै भन्छन्- ‘म कोइराला परिवारसँग १० हात पर छु, आफूले सेवा गर्दागर्दै चार्ज आयो भने  दुःख लाग्छ ।’

नेपालको राजनीतिमा अग्रणी मानिने कोइराला परिवार र वौद्धिकतामा अग्रणी स्थानमा बनाएको दीक्षित परिवारवीच कुटुम्बको नाता निकै बलियो छ । तर, यही नाताभित्रै डा. सुन्दरमणिले कसरी कोइराला खलकबाट अपमान ब्यहोरे ? वीपीको उपचारमा कसरी हेलचेक्र्याइा भयो र उनको निधन भयो ?

यसबारे डा. सुन्दरमणि दीक्षितको रोचक स्मरण उनकै शब्दमाः

वीपी कोइरालालाई मैले नै मुख्य भएर उपचार गर्नुपर्‍यो । उहाँ एकप्रकारले मेरो सम्धी पनि हो । उहाँको सेकेन्डचोटिको क्यान्सर मैले नै डाइग्नोसिस गरेको हुँ । प्यारालाइसिस मैले नै डाइग्नोसिस गरें । दिल्ली पठाएको पनि हो । मुम्बई पठाएको पनि हो । वीपी बाबुलाई मैले निकै सेवा गरे । उहाँ त्यत्रो नेता, फेरि हाम्रो परिवारिक नाता पनि ।

एकचोटि वीपी बाबु निवासमा सिरियस हुनुहन्थ्यो । बत्तीसपुतली जानुपर्ने । बिहान ४ बजे बोलाए, गएँ । त्यसपछि ७/८ बजे कल आयो, फेरि गएँ । राति १० बजे फेरि कल आयो, फेरि गएँ । म चारचोटि पुगेको छु ।

नर्मल्ली म बिहान- बिहान जान्थें । भोलिपल्ट बिहान जान सकिँन र दिउँसो गएँ । त्यहाँ पुग्दाखेरि मलाई कसैले केही बताएन । उहाँ अलिकति बेहोसीमा गइराख्नुभएको थियो, मैले उहाँको उपचार गरिराखेको थिएँ । अहिलेका राष्ट्रपति डा. रामवरण यादव म भन्दा जुनियर हुन्, उनलाई मैले त्यहाँ खटाएको थिएँ । त्यसवीचमा मलाई कसैले केही भनेनन् ।

म रातिदेखि चारचोटि गएको छु, भोलिपल्ट बिहान गइन । त्यसवीचमा त उनीहरु ठूला मान्छे, तीनवटा अरु डाक्टरहरु लगिकन के-के गर्ने गरिसकेछन् । म चार बजे पुग्दाखेरि त मलाई कसैले केही भनेनन् । गिरिजाबाबुले पनि केही भन्नुभएन । म वीपी बाबुलाई हेरेर फर्कें ।

भोलिपल्ट बिहान म वीर हस्पिटल पुगें । सवा ८, साढे ८ बजेतिर पुग्थें म । मोटर रोकें । त्यहाँ मान्छे निकै भेला भएको देखें । एक जनालाई सोधें, कसलाई ल्याएको छ हँ ? वीपी कोइरालालाई ल्याएको छ ।

ह्वाट…. ? मेरो पेसेन्ट, यतिका वर्ष मैले हेरेको छु । मैले हिजो बेलुका मात्रै हेरेको छु । आज रातारात यहाँ ल्याइसके । क्या हो यो ? म त छक्कै परें । त्यहाँ सोध्ने पनि कुरा भएन । त्यसपछि माथि वार्डमा गएँ ।

म वार्डमा घुमिराखेको थिएँ, कृष्णप्रसाद भट्टराईजीको फोन आयो । हेल्लो डा. सुन्दरमणिजी, म कृष्णप्रसाद…..। मलाई रिस उठिसकेको थियो ।

मैले सोधें-‘किन ?’

‘ओ… यु नो..वीपीलाई आज बिहान यहाँ ल्यायौं ।’

‘कसले भनेर ल्याउनुभो ?’

‘ओ.. यु सी …यस्तो……।’

उहाँले तीनजना डाक्टरको नाम भन्नुभो । तीनजना डाक्टरले हेर्नुभएको थियो, वीर अस्पताल नलगी हुँदैन भनेर….।

डाक्टरले ल्याएर थन्क्याइदिए । अब मेरो त हात हुँदैन । मैले भनें- हेर्नोस् भट्टराईजी, आइएम सरी ।

म एक तलामाथि थिएँ । ठिक्क एक तलामुनि आइसीयू थियो । उहाँले डा. साप तल आइदिनुपर्‍यो भन्नुभयो । मैले भनें, म आउँदिन । अब मेरो पेसेन्ट होइन, म आउन्न । उहाँ नो नो नो भन्दै हुनुहुन्थ्यो, मैले आइ क्यान नट कम भनें ।

त्यसको केहीबेरपछि गिरिजाबाबु आउनुभो । गिरिजाबाबु, भट्टराईजी र अर्को मुख गोलो-गोलो भएको व्यक्तिसहित तीनजना माथि आउनुभो । मैले आफ्नो कोठामा लगें । गिरिजाबाबु चुप लागेर बस्नुभो ।

मैले भनें, हेर्नोस्, वीपीलाई ममाथि राम्रो विश्वास थियो र मैले यतिवर्ष उहाँको इलाज गरें । आज उहाँ बेहोस हुनुहुन्छ भन्नेबित्तिकै…।  म बिहान ४ बजे आएको छु, तपाईहरुले यत्रो काण्ड गरिसक्नु भो, मलाई थाहा पनि छैन । यो त इथिक्स पनि भएन । गद्दारी भो । मैले यत्रो सेवा गरेको छु । ममाथि विश्वास थिएन भने पहिल्यै भनिदिनुपर्थ्यो नि त ।

मैले यसो भनेपछि भट्टराईजीले के भन्नुभयो भने नो नो नो सुन्दरमणिजी … तपाईमाथि हाम्रो यत्रो विश्वास छ…..

उहाँले यसोभन्दा मैले झम्टिइहालें । भट्टराईजी यु ह्याव अ भेरी स्विट टङ । बट यु ह्याव अ डर्टी, ब्लडी, ब्याक हर्ट ।

त्यसपछि उहाँ चूप लाग्नुभो । मैले भनें, म आउन सक्दिन । तल हेर्नोस्, कसको नाममा हुनुहुन्छ वीपी बाबु ?

मलाई एकान्तमा लगेर गिरिजाबाबुले भन्नुभयो, डा.साप पीर नमान्नोस्, मेरो पनि केही लागेन । यो परिवारभित्रको समस्या पर्‍यो । गरौं भनेपछि मैले नाइँ भन्न सकिन । डा. सा’प मलाई माफ गरिदिनोस् । गिरिजाबाबुले मलाई भन्नुभयो ।

के भएछ भने तीनजना डाक्टर वीपी बाबुकोमा गए । मैले सिस्टरलाई जुन औषधि नहाल्नोस् है भनेको थिएँ, उनीहरुले गएर त्यही औषधी हाले ।

तीनजना डाक्टरको राय त मिलेन । भोलिपल्ट बैंककको डाक्टर बोलाए । उनीहरुलाई त केस के हो भन्ने थाहा छैन । उनीहरुले सास फेर्ने ठाउँमा चिरे । र, बैंकक उडाएर लगे ।

यहीँ चिरेर लगेपछि बैंकक पुर्‍याउँदा इन्फेक्सन भयो । डाक्टरले भन्यो, फंगस् इन्फेक्सन भएको छ । फर्काएर यहाँ ल्याइपुर्‍याउँदा नपुर्‍याउँदै वीपी बाबु मर्नुभो । मलाई दुःख लाग्यो ।

अब यहाँ कांग्रेसजनमा के फैलाइयो भने वीपीलाई फंगस् इन्फेक्सन भएको रहेछ, यो कुरा सुन्दरमणिले पत्ता लगाएन । कोइराला परिवारबाट सुन्दरमणिले डाइग्नोसिस गरेन भनेर अफवाह फैलाइयो । सबै दोष ममाथि आयो ।

पारिवारिक ‘कनेक्सन’

वीपी बाबु त मेरो दाइको सम्धी । बीपी बाबुकी एउटै छोरी मेरा दाइको कान्छो छोरासँग बिहे भएको । उहाँहरु अमेरिकामा बस्ने ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेपछि ०४६ सालपछि दाइहरु नेपाल आउनुभयो । सम्धीको नाताले गिरिजाबाबुले बालुवाटारमा निम्ता दिनुभो । दाइले भन्नु भो, बाबु त्यहाँ जानुपर्छ है ।

मैले भनें, म जाँदिन । म त्यो कोइराला परिवारकोमा ज्यान गए जान्न । यिनीहरुले यत्रो मेरो बेइज्जत गरे । म जान्न ।

दाइले भन्नुभो, हैन भाइ सम्धीको नाताबाट त गइदिनुपर्छ । मैले भनें, नो, म जान्न ।

बालुवाटार जानुअघि दाइहरु सुशीला कोइरालाकोमा जानुभो । त्यसबेला सुशीलाले दाइसँग के भन्नुभो रे, थाहा छ ? प्रकाशबाबु हामीले डा. सुन्दरमणिमाथि ठूलो अन्याय गरेका हौं । त्योबेलामा हामीले साँच्चिकै नराम्रो काम गरेका हौं । उहाँसँग हामीले माफी नै माग्नुपर्ने अवस्था छ भनेर सुशीलाले भनेको कुरा मलाई प्रकाश दाइले आएर भन्नुभयो ।

प्रकाश दाइले यति भनेर अब त हामीसँग गइदेऊ भनेपछि बल्ल हामी सबै परिवार मिलेर बालुवाटारमा गयौं र कोइराला परिवारसँग भेट्यौं ।

कोइराला परिवारसँग हाम्रो पारिवारिक सम्बन्ध छ । कतिसम्म भने कोइरालाहरु मेरा बाबाका मामा खलक । दाइको सम्धी । अर्को दाएको साढुदाइ । अनि हाम्रो नेता नै भैहाले । यत्रो सम्बन्ध भए पनि तिनीहरुले मलाई यतिसम्म गरे ।

म १० हात पर छु 

आन्दोलन चलिराखेको थियो, मलाई फोन आयो- जय नेपाल सर ।

मैले भनें, जय नेपाल ।

पुलिसले फोन गरेको रहेछ । पुलिसले मलाई भन्यो, सर, यहाँ जेलमा एकजना महिला हुनुहुन्छ । कोइराला परिवारको मान्छे हुनुहुँदोरहेछ । उहाँले हजुरकोमा औषधि गरेको रे । तपाई आइदिनुपर्‍यो रे ।

मैले भनें, माफ गर्नोस् । म कोइराला परिवारसँग म १० हात पर छु है ।

– अनलाइनखबरसँग कुराकानीमा आधारित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment