३० कात्तिक, काठमाडौं । सरकारले आगामी मंसिर १० र ११ गते हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औँ शिखर सम्मेलनमा भीआईपीको स्वास्थ्य उपचार तयारी पूरा गरेको छ ।
दक्षिण एसियाली देशका सरकार तथा राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्ति (भीआईपी)हरुको सहभागिता रहने सम्मेलनलाई लक्षित गर्दै सरकारले स्वास्थ्य उपचारको पनि विशेष तयारी गरेको छ ।
भीआईपीहरुको स्वास्थ्य उपचारमा कहीँ कतै कमीकमजोरी हुन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा मात्र नभई भीआईपी बस्ने होटलदेखि सम्मेलनस्थलसम्म विशेष स्वास्थ्य टोलीको व्यवस्था गर्ने भएको छ ।
अस्पताल, सम्मेलनस्थल, होटलका अलवा भीआईपीहरु गुड्ने तथा आउजाउ गर्ने सडकमा समेत एम्बुलेन्स सहितको टोली गुडाउने तयारी मन्त्रालयको छ ।
मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले सार्क सम्मेलनमा सहभागी हुने विशिष्ट व्यक्तिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन राजधानीका सबै ठूला सरकारी र निजी अस्पताललाई निर्देशन दिइएको बताए ।
डाक्टर र प्राविधिक सहित ११ एम्बुलेन्स
डा. लोहनीका अनुसार मन्त्रालयले भीआईपीको स्वास्थ्य सुरक्षाका लाागि तालिमप्राप्त चिकित्सकसहितको टोली र दक्ष प्राविधिकसहितको ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।
यीमध्ये ८ वटा एम्बुलेन्स प्रत्येक देशका लागि एक-एकवटा उपलब्ध गराइने छ । बाँकी तीन एम्बुलेन्स पनि ‘अलर्ट’ बनाएर राखिने डा. लोहनीले जानकारी दिए ।
‘विशिष्ट व्यक्तिको सवारीका बेला प्रत्येक देशका टोलीका लागि छुट्टाछुट्टै एक-एकवटा एम्बुलेन्स संगै रहने र अन्य तीन एम्बुलेन्स पनि तयारी अवस्थामा रहने गरी व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘ती सबै एम्बुलेन्समा बरिष्ठ चिकित्सकसहित दक्ष प्राविधिक र आवश्यक पर्ने उपकरणहरु राखिएका हुन्छन् ।’
भीआईपीका लागि राख्न लागिएको एम्बुलेन्समा आकस्मिक उपचार गर्ने सबै व्यवस्था हुने भएकाले ती एम्बुलेन्स एक हिसाबले मिनि अस्पताल जस्तै हुनेछन् ।
सोल्टीमा चौबिसै घण्टा मेडिकल टिम
मन्त्रालयले विशिष्ट व्यक्ति रहने सोल्टी होटलमा पनि चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको मेडिकल टीम राख्ने भएको छ । मन्त्रालयले सार्क राष्ट्रका भिआइपीहरुसँग आफ्नै देशबाट आएका चिकित्सक सहितको टोली हुने भए पनि नेपालबाट पनि छुट्टै टिम समेत राख्ने भएको छ ।
सार्क सदस्य राष्ट्रहरूका लागि एक-एक वटा सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराइने छ भने विशिष्ट पाहुनाहरूका लागि राजधानीका सरकारी तथा निजी अस्पतालहरूमा भीअार्इपी शैया छुट्याइएको छ
नेपाली मेडिकल टिमले होटलमा चौबिसै घण्टा सेवा दिनेगरी व्यवस्थापन गरिएको डा. लोहनीको भनाई छ । उनका अनुसार होटलमा चिकित्सकसहित मेडिकल टीम खटाउने जिम्मा वीर अस्पताललाई दिइएको छ ।
भीआईपीको उपचार तथा स्वास्थ्य जाँचका लागि सम्मेलनस्थल राष्ट्रिय सभागृहमा पनि मेडिकल टिम रहने छन् । सम्मेलनस्थलमा मेडिकल टिम राख्ने जिम्मा मन्त्रालयले सिभिल अस्पताललाई दिएको छ । अस्पतालले सम्मेलनस्थलमा आवश्यक पर्ने सबै तयारी पूरा गरिसकेको जानएको छ ।
भीआईपी भर्ना गर्नु परे टिचिङमा
सम्मेलनमा सहभागी हुन आएका भीआईपीमध्ये कोही बिरामी भएर अस्पताल भर्ना गर्नु पर्ने अवस्था आएमा त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा व्यवस्था गरिएको छ ।
‘कुनै विशिष्ट पाहुना अस्पताल भर्ना गर्नुपर्ने भए त्रिवि शिक्षण अस्पताललाई व्यवस्था मिलाउने जिम्मा दिइएको छ,’ डा. लोहनीले भने ।
उनका अनुसार सरकारले अन्य अस्पतालहरु आर्मी, नर्भिक अस्पताललाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।
‘पहिले शिक्षणमा भर्ना हुने र त्यसपछि थप अवश्यकता परेमा अवस्था हेरेर टिचिङले अन्यत्र पठाउने व्यवस्था समेत गरिएको छ,’ उनले भने, ‘यस्का अलावा सम्बन्धित देशका मेडिकल टीम पनि संगै आउने भएकाले उनीहरुसंग परामर्श गरी तत्काल थप गरिनुपर्ने व्यवस्था भएमा त्यस्ता सेवा समेत थप्ने योजनामा हामी छौँ ।’
प्रतिक्रिया 4