३ मंसिर, काठमाडौ । आगामी मंसिर १० र ११ गते काठमाडौमा हुन गइरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनको पर्यवेक्षणमा उच्च राजनीतिक नेतृत्व खटाइएको छ ।
छिमेकी चीनसहित पर्यवेक्षणका लागि इच्छुक अन्य मुलुकहरुले सार्कमा ‘हेवी वेट’का पदाधिकारी खटाएका हुन् ।
सार्क सम्मेलनको संयोजना गरिरहेको परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म पर्यवेक्षण गर्न चाहेका नौ मध्ये पाँच राष्ट्रले आफ्ना पर्यवेक्षकहरुको सूची पठाइसकेको राजधानी दैनिकमा खबर छ ।
सार्क सम्मेलनमा नौ राष्ट्रका पर्यवेक्षकहरुको सहभागिता हुन लागेकोमा पाँच राष्ट्रले आफ्नो पर्यवेक्षकको नाम पठाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म चीन, जापान, अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाले पर्यवेक्षक प्रतिनिधिको नाम पठाएका छन् ।
इरान, मेरिसस, म्यानमार र युरोपियन युनियनले भने अझैसम्म पर्यवेक्षकको नाम पठाएका छैनन् । सार्क सम्मेलनका लागि पठाइएका पर्यवेक्षक प्रतिनिधिहरुमा उपविदेशमन्त्रीदेखि सहायक विदेशसचिव सम्मका हैसियत भएका पदाधिकारी छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार छिमेकी राष्ट्र चीनबाट पर्यवेक्षकको रुपमा उपविदेशमन्त्री ल्यू चनमिन सहभागी हुन लागका छन् । सार्क मामिलामा जानकार ल्यूलाई चीनले पर्यवेक्षकको रुपमा खटाएको हो ।
प्रतिक्रिया 4