+
+

गाउँदा गाउँदै बनेका हिरोः को जमे, को जमेनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ३ गते ९:४३

bogati-kumar-prasanta

काठमाडौ । चलचित्र ‘बाटोमुनिको फूल’ मा नायकका रुपमा अनुवन्धित हुँदा बाबु बोगटी बारे धेरैले टिप्पणी गरेका थिए- ‘हिरो बन्ने रहर मात्रै हो टिक्न सक्दैनन् ।’

गायकका रुपमा राम्रै छवि बनाएका बाबुका लागि त्यही फिल्म पर्याप्त भयो हिरोका रुपमा स्थापित हुन । भलै, बाटोमुनिको फूल व्यवसायिकरुपमा सफल भएन । तर, बाबुले आफ्नो अभिनय क्षमता भने देखाए । अहिले नेपाली फिल्म बजारमा सांगीतिक प्रेमकथामा निर्माण हुने चलचित्रका नायकका रुपमा बाबुलाई लिन चाहन्छन् धेरै निर्माताहरु । प्रदर्शनको तयारीमा रहेको ‘हमजाएगा’ मा पनि मुख्य भूमिका उनकै छ ।

‘बाटो मुनिको फूल’बाटै नायक बन्ने प्रयास गरेका अर्का गायक यसकुमारका लागि भने त्यसपछि अभिनय तृष्णा मेट्ने माध्यम भिडियोमात्रै बन्यो । फिल्म हेर्नेहरुले यस कुमारको पनि प्रसंशा त गरेकै हुन् । तर, पछिल्लो समय निर्माताले गाउन मात्रै लगाए, पर्दामा देखिने अवसर दिएनन् ।

गायिका इन्दिरा जोशीले निर्माणाधीन फिल्म ‘फन्को’ को एउटा गीतमा नृत्य गरेपछि गायक गायिकाको अभिनय यात्राका बारेमा फेरि चर्चा सुरु भएको छ । नेपाली हिरोइनमा हुने सबै गुण भएकी इन्दिराले भने आगामी दिनमा फिल्ममा नदेखिने प्रतिक्रिया दिइसकेकी छिन् । आफ्ना गीतमा आफै मोडलको रुपमा प्रस्तुत हुँदै आएकी इन्दिराको गीतको जस्तै तारिफ हुन्छ अभिनयका पनि ।

गायक गायिकाले अभिनय गर्नु नेपालका लागि पुरानो संस्कार हो । स्वर्गीय शिवशंकर श्रेष्ठ गायक-नायक दुबै थिए ।
तेस्रो इण्डिय आइडल प्रशान्त तामाङ फिल्ममा जमेका नायकका रुपमा चिनिन्छन् । गोर्खा पल्टन, निशानीलगायत आधा दर्जन फिल्ममा मुख्य भूमिका निर्वाह गरेका प्रशान्त पछिल्लो समय गायनसँगै अभिनयमा पनि सक्रिय छन् ।

जसलाई फापेन पर्दा

पछिल्लो समय धेरै गायकले आफूलाई हिरोका रुपमा स्थापित गराउने प्रयाश गरे तर, सफल भएनन् । आफ्नै जीवन कथासँग नजिक रहेको भनिएको चलचित्र ‘आर्शिवाद’ मा नायक बनेका रामकृष्ण ढकाललाई फेरि निर्माताले दोहोर्‍याएनन् ।

आशिर्वाद खेल्दा रामकृष्णले राम्रो भूमिका पाएमा फिल्म खेल्छु भन्दै देखाएको रुची निर्माताको बेवास्तासँगै तुहियो । रामकृष्णले अभिनय गरे लगत्तै अर्का गायक यम बरालले पनि अनिल संग्रौला निर्देशित चलचित्र ‘मालती’ मा अतिथि कलाकारको भूमिका निर्वाह गर्दै एउटा गीतमा नृत्य समेत गरे । तर, उनको अभिनय र नृत्य हेरेर दर्शक रमाएनन्, हाँसे मात्रै ।

चलचित्र ‘आचार्य’ मा नायक बनेका सत्यराज आचार्यको निकै तारिफ गरे फिल्म हेर्नेहरुले । आफ्नै बुबा भक्तराज आचार्यको जीवन कथामा आधारित रहेर प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्ममा मुख्य भूमिका निर्वाह गरेका आचार्य अब अभिनयमै जम्ने भए भन्ने केहीको अनुमान थियो । तर, उनी फेरि फिल्ममा देखिएका छैनन् । म्युजिक भिडियोहरुमा भने उनको उपस्थित बाक्लै छ ।

प्रायः गायक गायिकाले म्युजिक भिडियोमा जमेरै अभिनय गरे पनि फिल्मी अभिनयलाई भने सफल बनाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?