Comments Add Comment

राष्ट्र बैंकले खारेज गर्‍यो सात सहकारीको इजाजत

४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सात सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । विभिन्न समयमा राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेपछि संस्थाहरुको इजाजत खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले १५ वटा सहकारी संस्थालाई वित्तीय कारोबार गर्ने इजाजत दिएको थियो । राष्ट्र बैंकले सर्लाहीको राजश्री सेभिङ एन्ड nrbक्रेडिट, काठमाडौंका युनाइटेड बचत तथा ऋण सहकारी संस्था, अमरावती ऋण तथा बचत तथा ऋण सहकारी संस्था नयाँबानेश्वर, नेपाल सहकारी संस्था लिमिटेड र यति बचत तथा ऋण सहकारी संस्थाको इजाजत रद्द गरेको हो ।

त्यसैगरी, बिराटनगरस्थित मायालु यातायात सहकारी संस्था र ललितपुरको पुल्चोकस्थित नेसनल डेभलपमेन्ट को-अपरेटिभ सोसाइटीको इजाजत पनि रद्द गरेको छ । यी संस्थाहरुको खारेजी २०६० साल यता भएको हो ।

ती सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले पटक-पटक सुधारको अवसर प्रदान गर्दा पनि संस्थामा कुनै सुधार नआएपछि इजाजत नै रद्द गरेको जनाएको छ । तत्कालीन सरकारले २० वर्षअघि राष्ट्र बैंकको स्वीकृति लिएर सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्न पाउने व्यवस्था गरेअनुसार १७ सहकारीले राष्ट्र बैंक बाट इजाजत लिएका थिए । तर, संस्थाहरु व्यावसायिकरुपमा सञ्चालन हुन नसकेपछि राष्ट्र बैंकले इजाजत नै खारेज गर्नु परेको हो ।

पछिल्लो समयमा पनि सहकारी विभागबाट इजाजत लिएर बग्रेल्ती खुलेका डेढ सय सहकारी संस्था समस्याग्रस्त छन् । ती संस्थाहरुले सर्वसाधारणको करिब १० अर्ब रुपैयाँ निक्षेप भुक्तानी गर्न नसकेको बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

देशभर सहकारी संस्थाहरुको संख्या करिब ३० हजार छ । जसमा १३ हजार सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment