१७ मंसिर, काठमाडौं । प्रमुख चार राजनीतिक दलका नेताहरुले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमा सभापति डा. बाबुराम भट्टराईलाई ‘विवेक प्रयोग गर्न दिने’ सहमति गरेका छन् ।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा बुधबार बिहान बसेको चार दलको बैठकले सम्वाद समितिको प्रतिवेदन बनाउनेबारे सहमति गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरलाई बताए ।
‘सम्वाद समितिका सभापतिले विवेक प्रयोग गरेर प्रतिवेदन संविधानसभामा पठाउने सहमति भयो, बैठकमा सहभागी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘ प्रतिवेदन कस्तो बनाउने भन्नेबारे नेताहरुवीच थप छलफल हुनेछ ।’
बुधबार विहानै बसेको प्रमुख दलहरुको बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री सुहील कोइरालासमेत उपस्थित थिए । कांग्रेसका तर्फबाट शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो ।
बैठकमा एमालेका केपी ओली, झलनाथ खनाल, माधव नेपाललगायतका शीर्षनेता थिए । एमाओवादीबाट प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सहभागिता थियो । मधेसी मोर्चाबाट विजयकुमार गच्छदार पनि बैठकमा सहभागी थिए ।
सम्वाद समितिको प्रतिवेदनबारे प्रमुख दलका नेतावीच सहमति भएपछि आजै दिउँसो २ बजे समितिको बैठक बस्दैछ ।
सम्वाद समितिको प्रतिवेदनमा कांग्रेस र एमालेको सात प्रदेशको प्रस्तावलाई समेट्ने कि नसमेट्ने भन्नेबारे दलहरुवीच लामो विवादपछि बुधबार नेताहरुवीच सैद्धान्तिक सहमति भएको हो ।
यद्यपि सभापति डा. भट्टराईले अब कसरी विवेक प्रयोग गर्छन्, त्यो भने दिउँसोको बैठकपछि थाहा हुने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया 4