Comments Add Comment

छुरी हानेर कान्तिपुर कलेजकी छात्राको हत्या

Protest-in-ritu-murder

  • हत्याको विरोधमा राजधानीमा भएको प्रदर्शन

२१ मंसिर, काठमाडौं । नयाँ बानेश्वरस्थित कान्तिपुर कलेजमा अध्ययनरत एक छात्राको दिन दहाडै छुरी हानी हत्या भएको छ ।

घटना भएको २४ घण्टा बितिसक्दा पनि प्रहरीले हत्यारालाई समाउन नसकेको भन्दै अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले आइतबार सिंहदरबार नजिकै मृतक छात्राको तस्वीर बोकेर प्रदर्शन गरेका छन् ।

शनिबार दिउँसो मैदीदेवीस्थित सेतोपुल भन्दा केही तल अनामनगरतर्फ हिँडिरहेको अवस्थामा एक युवकले रीतु महासेठमाथि एक्कासी ५/६ पटक छुरी रोपेका थिए ।

रीतु महासेठ
रीतु महासेठ

रीतुलाई तत्कालै ट्याक्सीमा हालेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई महाराजगञ्जस्थित शिक्षण कलेजमा पुर्‍याइएको थियो । रीतुको शनिबार अपरान्ह साढे ४ बजे शिक्षण अस्पतालमा निधन भएको हो ।

जनकपुरबाट काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्न आएकी रीतु मैतीदेवीस्थित ‘फेमिली गल्र्स होस्टल’मा बस्थिन् । उनी बानेश्वरको कान्तिपुर कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत थिइन् ।

शनिबार दिउँसो साथीको विवाहका लागि होस्टलबाट निस्केकी रीतुमाथि दिनदहाडै छुरी प्रहार गरेर अपराधी उम्कन सफल भएको छ ।

राजधानीजस्तो देशको प्रशासनिक केन्द्रमा दिनदहाडै महिलामाथि छुरी प्रहार हुँदा पनि प्रहरीले अपराधीलाई समात्न नसकेको भन्दै विभिन्न विद्यार्थी संगठनले हत्यारालाई तत्काल कारवाहीको माग गरेका छन् ।

स्रोतहरुका अनुसार रीतुलाई छुरी प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसके पनि विद्यालयकालदेखि नै उनलाई एकतर्फी प्रेमका लागि पछ्याइरहेको जनकपुरतिरकै किशोरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

हत्यारा नसमातिए आन्दोलन : लामा

यसैवीच एमालेसमर्थित अनेरास्ववियूकी महासचिव नविना लामाले सरकारले तत्काल हत्यारालाई पक्राउ नगरे आन्दोलनमा उत्रने बताएकी छन् ।

महिला विद्यार्थीमाथि हिंसा हुँदा पनि प्रहरी मूकदर्शक बनेको उनले बताइन् । यसबारे अखिलले गृहमन्त्री वामदेव गौतमलाई भेटेर ध्यानाकर्षण गराउने उनले बताइन् । रीतुका हत्यारालाई कारवाहीको माग गर्दै अनेरास्ववियू र मधेसी विद्यार्थी संगठनका नेताहरुले आइतबार हनुमानस्थानमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा तमलोपाका केही नेताहरु झण्डासहित आउन लागेको र आफूहरुले रोकेको नविनाले अनलाइनखबरलाई बताइन् । यस्तो घटनालाई राजनीतिकरण वा कुनै पनि रंग दिन नहुने र सबैले मिलेर महिला हिंसाको विरुद्ध लाग्नुपर्ने उनले बताइन् । हत्यारालाई फाँसी दिइनुपर्ने उनले बताइन् ।

हत्या विरुद्धको प्रदर्शनमा सहभागी पत्रकार राजेश अहिराजले सिंहदरबारको नजिकै विद्यार्थीको हत्या हुँदा पनि हत्यारा पक्राउ पर्न नसकेपछि बाहिरबाट काठमाडौंमा अध्ययन गर्न आउने विद्यार्थीहरुले असुरक्षित महसुस गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment