
२६ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी पोलिटब्यूरो गठनका लागि मतदानमा गए आफूले भोट नहाल्ने घोषणा गरेका छन् ।
चुनावमा जाँदा पार्टी एकता खलबलिने भन्दै गौतमले पोलिटब्यूरो गठनका लागि चुनाव भए दुबै पक्षलाई भोट नहाल्ने घोषणा गरेका हुन् ।
विधान विवाद मिलेपछि एमाले निर्वाचन आयोगले शनिबार १२ बजेबाट चुनावी प्रक्रिया सुरु गर्दैछ । नेताहरुबीच भएको सहमति अनुसार एक कार्यकाल केन्द्रीय सदस्य रहेकाहरु उम्मेदवार हुन पाउनेछन् भने पूर्ण केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउनेछन् ।
यो पनि पढ्नुस् : विधानको विवाद टुंगियो, पोलिटव्यूरो सदस्य छान्ने जिम्मा ओली र नेपाललाई
चुनावी तयारी सुरु भएपछि गौतमले सहमतिका लागि दबाव दिँदै चुनावमा भाग नलिने घोषणा गरेको स्रोतले बताएको छ । गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई बुहमतको सुविधा उपलब्ध दिने गरी सहमतिका आधारमा पोलिटब्यूरो गठनको प्रस्ताव गरेका छन् ।
गत साउनमा भएको महाधिवेशनमा गौतम अध्यक्ष ओलीको प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।
बामदेवका १३ मतदाता
केन्द्रीय कमिटीमा गौतम पक्षमा उनीसहित १३ जना छन् । उनीहरुको मत निर्णायक जस्तै मानिन्छ ।
बामदेव पक्षमा मताधिकार प्राप्त गौतमसहित रविन्द्र अधिकारी, किरण गुरुङ, सूर्य थापा, राधा ज्ञवाली, पद्मा अर्याल, सावित्रा भुसाल, लालबहादुर थापा, यमलाल कँडेल, महेश्वर पाठक, दलबहादुर राना र गणेश सिंह ठगुन्ना केन्द्रीय सदस्य छन् ।
पोलिटब्यूरो सदस्य निर्वाचमा एक सय सत्रजना पूर्ण केन्द्रीय सदस्यहरुले मतदानमा भाग लिन पाउने छन् । कुल एक सय ६२ सदस्यीय केन्द्रीय कमिटीका अन्य वैकल्पिक सदस्यले मतदान गर्न पाउने छैनन् । उनीहरुबाट २३ जना पूर्ण र १५ जना वैकल्पिक पोलिटब्यूरो सदस्यको चयन हुने एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया 4