Comments Add Comment

वनमन्त्रीलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने चेतावनी

mornag

१ पुस, काठमाडौं । वन तथा भू-संरक्षणमन्त्री महेश आचार्यलाई स्थानीयले चुरे वातावरण संरक्षण क्षेत्र खारेजी नगरे जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

मन्त्री आचार्यको गृह जिल्ला मोरङका वासिन्दाले राष्ट्रपति चुरे-तराई संरक्षण विकास समिति र चुरे वातावरण संरक्षण क्षेत्र घोषणा खारेजी नगरे जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएको सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठकले जानकारी दिइन् ।

चुरे संघर्ष समितिको आन्दोलनको क्रममा सोमबार बेलवारीमा आयोजना गरिएको कार्यक्रममा स्थानीयले सरकारले गरेको घोषणालाई जनविरोधीको संज्ञा दिँदै आवश्यक परे राजधानी केन्द्रीत आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

सभामा नेकपा एमाले, लिम्बुवान लगायतका विभिन्न दलका जिल्लास्तरीय नेताले पनि वन उपभोक्ताको आन्दोलनलाई साथ दिएका थिए ।

त्यसैगरी चुरे संघर्ष समितिले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको विरोधसभामा पनि नेपाली काँग्रेसका स्थानीय नेताले आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।

सभामा सामुदायिक वन अन्तर्राष्ट्रिय सञ्जालका संयोजक घनश्याम पाण्डे, सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष भीमप्रसाद खड्का लगायतले चुरे संरक्षणका नाममा सामुदायिक वनमाथिको हस्तक्षेप अन्त्य गर्न सरकारसँग माग गरेका थिए ।

चुरे संघर्ष समितिले पुस सात गतेसम्म चुरे क्षेत्रका २३ जिल्लामा चुरे संरक्षण जनअधिकार अभियान चलाएको छ । समितिले भोलि कैलालीको अत्तरिया, सुनसरीको धरान र चितवनको टिकौलीमा प्रदर्शन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment