Comments Add Comment

जिविसले गाउँलेलाई दियो सोलार सेट र सुधारिएको चुलो

२ पुस, म्याग्दी । म्याग्दीको दरवाङ गाविस- ९ दिच्यामका बासिन्दालाई जिल्ला विकास समितिले निःशुल्क सोलार सेट र सुधारिएको चुलो वितरण गरेको छ ।

२७ घरधुरीलाई उज्यालोका लागि सोलार सेट र १५ घरधुरीलाई सुधारिएको चुलो उपलब्ध गराइएको हो । भौगोलिक रुपमा विकट ठाउँमा अवस्थित दिच्याम गाउँका आर्थिक रुपमा विपन्न समुदायलाई नागरिक सचेतना केन्द्रमार्फत सौर्य ऊर्जा र सुधारिएको चुलो वितरण गरिएको दरवाङ गाविसका सचिव शिव शर्माले जानकारी दिए ।

उनीहरुलाई २० वाट क्षमताको एक/एक थानका दरले सोलार सेट र दुई मुखे सुधारिएको चुलो उपलब्ध गराइएको हो । जिविसको दुई लाख ७६ हजार रुपैयाँ लगानीमा दिच्यामका बासिन्दाको घरघरमा सौर्य ऊर्जा र सुधारिएको चुलो जडान गरिएको गाविस सचिव शर्माले बताए ।

जिविसले वितरण गरेको सोलार र सुधारिएको चुलो ढुवानी एवम् जडानका लागि समुदायले थप रु ८१ हजार लगानी गरेका छन् । बस्तीका सबै घरमा सौर्य ऊर्जा जडान गरी एकै पटक झलमल्ल उज्यालो भएपछि स्थानीयवासी उत्साहित भएका छन् । यसअघि उनीहरुले मट्टतिेलको टुकीको भरमा रात कटाउने गरेका थिए ।

सोलार र सुधारिएको चुलो जडान भएपछि राहत मिलेको स्थानीयवासी सरला सुवेदीले बताए । यसले खर्च बचत हुनुका साथै सरसफाइमा सहयोग पुग्ने सुवेदीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment