Comments Add Comment

नेपालमा उडान सुरू गर्दै अाधा दर्जन एयरलाइन्स

six-airlines

नविन अर्याल

१६ पुस, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बिमान अभावमा बजार गुमाइरहेका बेला थप ६ वटा बिदेशी बिमान कम्पनीले नेपाल उडान गर्ने तयारी गरिरहेका छन् ।

सन् २०१५ को सुरुवातमै यी बिमान कम्पनीहरुले त्रिभुवन बिमानस्थलबाट नियमित उडान थाल्नेछन् ।

उडान थाल्न लागेका एयरलाइन्सहरुमा बंगलादेशको रिजेन्ट एयरलाइन्स, मलेसियाबाट मालिन्दो एयरलाइन्स, चीनको छेन्दुबाट सिचुवान एयरलाइन्स, श्रीलंकाबाट मिहिलंका एयरलाइन्स, भारतबाट गो एयर र तिब्बतबाट हिमालयन एयरलाइन्सले उडान गर्ने भएका हुन् ।

हिमालयन एयरलाइन्स नेपाली व्यवसायी र तिब्बत एयरलाइन्सको सहकार्यमा सञ्चालनमा आउन लागेको हो । हाल नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडान सञ्चालन अनुमति (एओसी)को प्रकृयामा रहेको हिमालयन एयरलाइन्स फेब्रुअरीबाट उडान सुरु गर्ने तयारीमा छ ।

नयाँ एयरलाइन्सको प्रवेशसँगै नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनी ३३ पुग्ने छन् । अहिले नेपाल एयरलाइन्स र बुद्ध एयरसहित २७ वटा एयरलाइन्सले नेपालमा अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् ।

ढाका रुटमा प्रतिस्पर्धा बढ्ने

बंगलादेशको रिजेन्ट एयरलाइन्सले यही डिसेम्बर २७ तारिखदेखि सातामा सातै दिन उडान गर्नेगरी स्विकृत लिइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।

अहिले नेपालमा बंगलादेशबाट विमान बंगलादेशले उडान भरिरहेको छ । रिजेन्टको प्रवेशसँगै बंगलादेश-नेपाल उडान भर्ने एयरलाइन्सको संख्या दुई पुग्नेछन् । ढाका हुँदै मलेसिया जाने नेपाली श्रमिकको हवका रुपमा बंगलादेशी बिमान कम्पनीहरुले नेपालमा उडान गरिरहेका छन् ।

क्वालालम्पुर-काठमाण्डौमा चार बिमान कम्पनी

मलेसियाको मालिन्दो एयरले पनि छिट्टै उडान सुरु गर्ने तयारीमा रहेको मन्त्रालयको भनाई छ । मलेसियामा अहिले सबैभन्दा बढी नेपाली कामदारहरु कार्यरत छन् । अहिले एयर एसिया, मलेसियन एयरलाइन्स र नेपाल एयरलाइन्सले काठमाण्डौ-क्वालालम्पुर रुटमा उडान भरिरहेका छन् ।

मालिन्दो एयरको प्रवेशसँगै मलेसिया-नेपाल उडान भर्ने एयरलाइन्सको संख्या ४ पुग्ने छ ।

Airliance_ready to flyपहिलोपटक जोडिदै छ श्रीलंका

श्रीलंकाको मिहिनलंका एयरलाइन्सले पनि सन् २०१५को सुरुवातमै नेपालमा उडान सुरु गर्ने गरि प्रकृया अगाडि बढाइरहेको मन्त्रालयले जानकारी दियो । अहिले श्रीलंका-नेपाल सिधा हवाई सम्पर्क छैन् ।

मिहिनलंकाले उडान गरेपछि नेपाल र श्रीलंका सिधा हवाई मार्गमार्फत जोडिने छन् । बुद्धको जन्मस्थल नेपालमा श्रीलंकन बुद्धिष्ट पर्यटक भित्राउन पनि सिधा हवाई सम्पर्कमा जोडिनुपर्ने आवश्यकता थियो । मिहिनलंका एयरलाइन्सको उडानसँगै नेपालमा श्रीलंकन पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

चीनबाट सिचुवान र हिमालयन

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सले पनि २०१५ को सुरुवातदेखि नै उडान सुरु गर्ने गरी प्रक्रिया अगाडी बढाइरहेको छ । पछिल्लो समय नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमा चिनियाँ पहिलो नम्बरमा रहेका छन् । जसले गर्दा चिनियाँ एयरलाइन्सहरु नेपालमा उडान गर्न आकषिर्त देखिन्छन् ।

सिचुवानले नेपालमा ‘एयरबस ३२०’ सिरिज जहाजमार्फत उडान सुरु गर्ने बताएको छ । यसले छेन्दु-ल्हासा-काठमाडौं उडान गर्ने छ ।

फ्रेबुअरीदेखि उडान सुरु गर्ने हिमालयन एयरले पनि चिनिया पर्यटकलाई लक्षित गरेको छ । हिमालयनले तीब्बतसहित चीनका विभिन्न शहर, भारतका विभिन्न शहर, दक्षिण पूर्वि एशियामा उडान गर्ने लक्ष्य राखेको छ । यो एयरलाइन्सले कात्तिक १० गतेदेखि सेवा सुरु गर्ने बताए पनि एओसी प्रकृया लम्बिदा उडान तालिका पर सारेको हो ।

भारतबाट गो एयरले पनि छिट्टै आफ्नो सेवा नेपालमा विस्तार गर्ने योजनामा रहेको छ । सबैभन्दा बढी नेपाली तथा भारतीयहरुको आवत-जावत हुने दुई देशलाई एयर इन्डिया, स्पाइस जेट र इन्डिगो एयरले हवाई मार्गबाट जोडिसकेका छन् ।

नेपालमा कमजोर भौतिक संरचना भएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि लामो दुरीका मुलुकबाट सिधा हवाई सेवा सुरु गर्न नसकिएको ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष केशव पाण्डे बताउँछन् ।

‘नेपालको एयरपोर्ट निकै साँघुरो र धावनमार्ग पनि जिर्ण भइसकेको हुँदा यस्ता जहाज ल्याउन कठिन हुन्छ’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक बीरेन्द्रप्रसाद श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment