Comments Add Comment

चालीस लाख नेपालीसँग एटीएम

Atm users

पुष्प दुलाल

१६ पुस, काठमाडौं । दश वर्ष अघिसम्म अटोमेटेड टेलर मेसिन (एटीएम) काउन्टरबाट पैसा निकाल्नेहरुको सान नै बेग्लै हुन्थ्यो । किनभने ०६०/०६१ सालतिर करिब २० हजार नेपालीसँग मात्रै एटीएम थियो ।

त्यसबेला बैंकहरुका एटीएम काउन्टरको संख्या पनि २ सयको हाराहारी मात्रै थियो । स्टान्डर्ड चार्टड, नबिल र इन्भेष्टमेन्ट जस्ता केही ठूला बैंकले मात्रै एटीएम सेवा दिन्थे ।

तर, अहिले अवस्था फेरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै बैंकिङ क्षेत्रको सेवामा पनि व्यापक विस्तार भएको छ । हाल सबै बैंक वित्तीय संस्थाहरुले एटीएम सेवा प्रदान गरिरहेका छन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार ४० लाख नेपालीहरुले एटीएम कार्ड चलाउँछन् । यो कूल जनसंख्याको १५.१० प्रतिशत हो । ०६८ को राष्ट्रिय जनगणना अनुसार देशको कुल जनसंख्या २ करोड ६५ लाख छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुले देशभर १६ सय ५२ वटा एटीएम काउन्टर सञ्चालन गरेका छन । जसअनुसार एक एटीएम काउन्टरबाट औषतमा २ हजार ४ सय २१ सय जनाले सेवा लिइरहेका छन् ।

एटीएमको बढ्दो प्रयोगसँगै बैंकिङ सेवा अत्यन्तै सुलभ भएको छ । ग्राहकले आफूले बैंकमा जम्मा गरेको रकम एटीएम काउन्टरबाट जुनसुकै बेला निकाल्न सक्ने छन् ।

ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुबीच स्वस्थ्य प्रतिस्पर्धा हुँदा एटीएम प्रयोगकर्ताको संख्यामा चमत्कारिकरुपमा वृद्धि भएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई बताए ।

‘पछिल्ला दश वर्षमा वित्तीय सेवाको पहुँच व्यापक विस्तार भएको छ । बैंकहरुबीच प्रतिस्पर्धा हुँदा ग्राहकले स्तरीय र सुलभ सेवा पाएका छन् ।’ श्रेष्ठले भने- एटीएम नभएको संस्थामा ग्राहकले खाता खोल्न हिचकिचाउन थालेपछि समेत संस्थाहरु एटीएम सेवा विस्तार गर्न बाध्य भएका छन् ।’

राजधानी बाहिरका धेरै जिल्लामा एटीएम सेवा विस्तार भइसकेको छ । हाल करिब ४० प्रतिशत अर्थात सवा करोड सर्वसाधारण बैंकिङ पहुँचमा छन् । बैंकिङ पहुँचभित्र रहेका ३५ प्रतिशतले एटीएम सेवा प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार ३० वाणिज्य बैंक, ८४ विकास बैंक, ५३ वित्त कम्पनी र ३७ लघुवित्त विकास कम्पनी गरी २ सय ४ वटा संस्था सञ्चालनमा छन् । यी संस्थाहरुले देशभर ३४ सय ५६ वटा शाखा सञ्चालन गरेका छन् ।

कुल ३० वाणिज्य बैंकका १ हजार ५ सय ४७ वटा, विकास बैंकका ८ सय १८ वटा, वित्त कम्पनीका २ सय ३९ वटा, लघुवित्त विकास बैंकका ८ सय ५२ वटा शाखा छन । जसअनुसार औषतमा एक शाखाले ८ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

सन् १९३७ मा नेपाल बैंक स्थापना भएपछि नेपालमा बैंकिङ कारोबारको सुरुवात भएपनि निजी बैंकहरुले ५० को दशकपछि एटीएम सेवा सुरु गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment