+
+
Shares

हिन्दु राष्ट्रका नाममा जनआन्दोलन माथि ठट्टा

आधुनिक समाजको विकास हुँदै जाँदा पुरातन समाजमा जस्तो धर्मको सामाजिक महत्व रहेन । बरु धर्म निरपेक्षता आधुनिक समाजको अनिवार्य सर्त बन्यो । राज्यमा सबैको अपनत्व अनुभूति होस भन्नाका खातिर राज्यलाई पनि धर्मसँग अलग गरिन थालियो वा राज्य धर्म निरपेक्ष हुन थाल्यो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १८ गते १३:१४

प्रकाश राई
आधुनिक समाजको विकास हुँदै जाँदा पुरातन समाजमा जस्तो धर्मको सामाजिक महत्व रहेन । बरु धर्म निरपेक्षता आधुनिक समाजको अनिवार्य सर्त बन्यो । राज्यमा सबैको अपनत्व अनुभूति होस भन्नाका खातिर राज्यलाई पनि धर्मसँग अलग गरिन थालियो वा राज्य धर्म निरपेक्ष हुन थाल्यो ।

धर्म नितान्त ब्यक्तिगत विश्वासको कुरा भयो । ब्यक्ति ब्यक्तिले आफूलाई विश्वास लागेको धर्ममाथि आस्था राख्ने तर देश स्वयमको कुनै धर्म नहुने वा धर्म निरपेक्ष भयो । यो आधुनिक औद्योगिक समाजको अनिवार्य चरित्र बन्यो ।

Prakash-Rai
प्रकाश रार्इ

समाजशास्त्री म्याक्स वेवरल यसलाई समाजको सचेतनाको  प्रक्रियाका रुपमा ब्याख्या गरेका छन् । तर कतिपय देशहरु जो औधिगिक रुपमा विकसित भएपनि धार्मिक कट्टरतालाई कायम राख्ने जबरजस्त प्रयास गरे/गरिरहेका छन् र परिणाम स्वरुप धार्मिक द्वन्द्व र अतिवादी हिंसात्मक क्रियाकलापहरुको मारमा परिरहेका छन् । यो २१ औं सताब्दिको अप्रिय र डरलाग्दो कालो छायाँ हो ।

नेपालमा ०६२/६३ को जनआन्दोलन, त्यसपछिको मधेस बिद्रोह र आदिबासी जनजाति आन्दोलनको सुनामीले  धर्म निरपेक्ष गणतन्त्रात्मक संघीय  राज्य घोषित भएको हो । आन्दोलनको राप तापको समयमा यसको विरुद्ध कसैले बोल्न सकेन । तर, जति-जति जनआन्दोलनको राप ताप सेलाउँदै गयो र संक्रमणकाल लम्बिँदै गयो, जनआन्दोलनका मागहरु संस्थागत हुन ढिलाइ हुँदै गए । जनक्रान्तिको उज्यालो मधुर हुदै गयो, प्रतिक्रान्तिका अध्यारो फैलिँदै गयो ।

जनआन्दोलन, मधेस विद्रोह, आदिबासी जनजाति आन्दोलन लगायत बिभिन्न आन्दोलनले स्थापित गरेका तर पूर्ण संस्थागत भइनसकेका मागहरु विरुद्ध जनआन्दोलनले किनारामा फालिदिएका प्रतिक्रान्तिकारीहरु जस्तै राजावादीहरु, धार्मिक अतिवादीहरु विस्तारै एकजुट हुँदै जनआन्दोलनका उपलब्धिहरु विरुद्ध विष बमन गरिरहेका छन् ।

हरेकजसो पार्टीमा रहेका यथास्थितिवादी र परिवर्तन बिरोधीहरु विस्तारै टाउको उठाउन थाले । परिवर्तनको मीयो शक्ति पनि जनताको मन जित्दै गहिरोसँग स्थापित हुन नसक्दा परिवर्तन विरोधीहरुले ‘जुन जोगी आए पनि कानै चिरेका भन्दै’ यसको फाइदा उठाए ।

पृथ्वीनारायण शाहको नेपाललाई असली हिन्दुस्तान बनाउने सामन्ती सपनाको लास बोकेर कमल थापाहरु धर्म सापेक्ष राज्यको पक्षमा रथ यात्रा गरिरहेका छन् । उनीहरु जनआन्दोलनको उपलब्धिहरुको विरुद्धमा सुरुदेखि नै संगठितरुपमा लागिरहेका थिए/छन् । उनीहरु राजतन्त्रको पक्षमा थिए/छन् । एकात्मक राज्यको पक्षमा थिए/छन् ।

त्यसै मेसोमा नेपाललाई धर्म सापेक्ष बनाउनु पर्छ भन्दै नेपाली काङग्रेसका नेता खुमबहादुर खड्काहरु मिसिए । एमालेका नेता मोदनाथ प्रश्रिहरु मिसिन आए ।

उनीहरुले जनआन्दोलनको एउटा मुख्य उपलब्धिमाथि उपहास गर्दै कुतर्क गर्ने गरेका छन् नेपाललाई पश्चिमाहरुको स्वार्थ बमोजिम धर्म निरपेक्ष राज्य बनाइयो । धर्मको बैसाखी टेकेर अन्य धर्मावलम्बीहरुमाथि थिचोमिचो गर्नका लागि भनिरहेका छन् बहुसंख्यक हिन्दु भएकाले नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भनिरहेका छन् ।

यसै मेसोमा केही समयअघि जनआन्दोलनकारी शक्तिका तत्कालीन उपसभापति प्रधानमन्त्री सुशील कोइरालाले भने नेपाल कसरी धर्म निरपेक्षता राज्य भयो उनलाई थाहै भएन । यसको सीधा अर्थ हुन्छ, उनी यस विषयमा त्यति खुस छैनन् ।

त्यसपछि काङग्रेसका केही नेताहरुले समेत यो कुरामा हो मा हो मिलाए । नजानिँदो ढंगले यस मुद्दामा कमल थापा, खुमबहादुर खड्का, मोदनाथ प्रश्रतिहरु एक ठाउँमा उभिए । प्रधानमन्त्री सुशील कोइराला कहिले यता हेर्छन् त कहिले उता । सारमा उनी खुमबहादुरहरुप्रति नरम छन् । २१ औं शताव्दीको एउटा सचेत नागरिकको आखाँबाट हेर्दा योभन्दा उदेक लाग्दो कुरा के हुन सक्छ ? प्रजातन्त्रमाथि विश्वास गर्ने भनेर नथाक्ने प्रधानमन्त्री वा अरु कोहीका लागि योभन्दा ‘प्याराडक्स’  के हुन सक्छ ? जनआन्दोलन माथि योभन्दा अर्को ठूलो ठट्टा के हुन सक्छ ?

कतिपयले भन्ने गरेको सुनिन्छ, नेपालमा ८० प्रतिशत हिन्दु धर्मालम्वीहरु छन्, त्यसैले नेपाल हिन्दु धार्मिक देश हुनुपर्दछ वा हिन्दु धर्म सापेक्ष हुनु पर्दछ । तर, देश धर्म सापेक्ष हुने कि निरपेक्ष हुने भन्ने प्रश्न त्यहाँका जनताको जनसंख्या कति छ भनेर टुङ्गिने विषय हो र ? होइन । त्यसो हुन्थ्यो भने अमेरिका, चीन, भारत किन धर्म निरपेक्ष हुन्थे ? पक्कै हुँदैनथे ।

अमेरिकामा मुख्य चार वटा धर्म मान्ने मानिसहरु छन् । झण्डै ५६ प्रतिशत प्रोटेस्टेन्टहरु छन् । २८ प्रतिशत जति क्याथोलिकहरु छन् । यी दुई क्रिश्चियन धर्मालम्वी जोड्दा ८४ प्रतिशत हुन्छ ।

भारतमै पनि झण्डै ८२ प्रतिशत हिन्दुहरु छन् ।  धर्म  त देश कस्तो (प्रजातान्त्रिक कि अप्रजातान्त्रिक) भन्ने कुराले निर्धारण गर्दछ । सामन्तवादी समाजमा सामन्तहरुले धर्मको लाठी देखाएर आम जनतामाथि शासन गरे । अरुको स्वतन्त्र पहिचान माथि बलात अतिक्रमण गरे ।

के देशको धर्म हुन्छ ?

देशको कुनै धर्म हुँदैन, जसरी देशको कुनै जात हुँदैन । देश त सबै धर्ममा आस्था राख्ने मानिसहरुको सामुहिक घर हो । त्यसैले, एउटा देशमा थुप्रै धर्ममा आस्था राख्ने मानिसहरु बस्छन् । जसरी देश सबै नागरिकको बराबर हो, त्यसैगरी सबै धर्म देशका लागि बराबर हो/हुनुपर्दछ । त्यसैले धर्म सापेक्ष देश हुनु भनेको त्यहाँका शासकहरुले त्यो देशको अन्य फरक पहिचान र अस्तित्वलाई अस्वीकार गर्नु हो । धर्म निरपेक्षता, पहिचानसहितको संघीयता र स्वायत्तता अस्वीकार गर्नु राजनीतिक रुपमा आदिवासी जनजातिहरुको राजकीय अधिकार अस्वीकार गर्नु हो । उनीहरुको ऐतिहासिकता र फरक पहिचान सहितको अस्तित्व अस्विकार गर्नु हो ।

र, धर्म सापेक्ष राज्य हुनुपर्दछ भन्नु अन्य धार्मिक समुदायको धार्मिक र सांस्कृतिक अस्तित्वमाथि प्रश्न उठाउनु हो । २१ औं शताब्दीमा यो भन्दा अतिवाद के हुन्छ ?

किन चाहिएको हो हिन्दु धार्मिक देश ?

धर्म निरपेक्षता सबै धर्मको सहअस्तित्वको विषय हो । इतिहासको लामो कालखण्डदेखि धार्मिक साँस्कृतिक थिचोमिचोमा पारिएका नेपालका आदिवासी जनजातिहरु अहिले आफ्नो फरक पहिचान -ऐतिहासिक, सामाजिक, साँस्कृतिक आदि) राज्यले स्वीकार गर्नुपर्ने र राज्यमा आफ्नो पनि समानुपातिक सहभागिता हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

उनीहरुले यसलाई पहिचानको आन्दोलन भनेका छन् । तर, यो माग शासक वर्गलाई स्वीकार्य भइरहेको छैन । उनीहरु फरक पहिचान स्वीकार गर्न सकिरहेका छैनन् । यो अहंकारवादी सोच हो । यो विस्तारवादी सोच हो । समाजशास्त्रीहरुले प्रयोग गर्ने भाषामा यो हिन्दुकरणको प्रक्रिया हो । नेपालमा हिन्दुकरणको प्रक्रिया लिच्छबीकालबाट नै सुरु भएको हो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि यो प्रक्रियाले तिब्रता पायो । तर, जति-जति समय अघि बढ्दै गयो जनता आफ्नो पहिचानप्रति सचेत हुँदै गए । ०३८ सालमा ९१ प्रतिशत हिन्दु भनी प्रकाशित गरिएको तत्थ्याङ्क ०४८ सालमा ८६.५१ र ०५८ मा ८०.६२ मा झर्यो (तथापि आदिवासी जनजातिहरु यो तत्थ्याङ्कलाई मित्थाङ्क मान्छन्) । यो सचेतनाको प्रक्रिया अघि बढिरहेको परिस्थितिमा नेपाललाई धर्म सापेक्ष देश बनाउन किन माग गरिन्छ  ?

नेपाललाई हिन्दु सापेक्ष राज्य बनाउन माग गर्नेहरुले जस्तै अन्य धर्मालम्वी समुदायहरुले पनि नेपाललाई आफूले मान्ने धर्म जस्तै किरात सापेक्ष बनाउनुपर्छ भनेर रथयात्रा गर्न थाल्ने हो भने, बोल्न थाल्ने हो भने यो देशमा कस्तो परिस्थिति उत्पन्न हुन्छ ?

हिन्दु अतिवादीहरुले त्यस्तो माग गर्दा अन्य धार्मिक समुदायले त्यस्तो माग गर्न पाउछन् कि पाउँदैनन् ? अहिलेसम्म अन्य धर्मावलम्वीहरु सहिष्णु भएर मात्र अहिलेको स्थिति सम्भव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?