नारायण पंगेनी
दोस्रो संविधानसभाको निर्वाचनमा अन्य कम्युनिष्ट घटकसमेत एक भई बनेको एकीकृत नेकपा माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिले झण्डै पाँच टुक्रामा विभक्त छ । पाँचवटा पार्टीमा विभाजित भएका माओवादीमध्ये तीनवटा माओवादी अस्तित्वमै छन् भने मात्रिका यादव नेतृत्वको नेकपा (माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नाम मात्रैका छन् ।
पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनअघि नै अनौपचारिक एकता प्रक्रिया अघि बढेको एकता केन्द्र संविधानसभा निर्वाचन सम्पन्न भएपछि औपचारिक रुपमै एक हुन पुग्यो । क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकतालाई आम नागरिकबाट पनि प्रशंशै गरे भने गैरमाओवादी पार्टीहरुलाई आफ्नो राजनीतिक बचाई राख्नका लागि नै संकट पर्ने अवस्था आएको थियो ।
खासगरी दश वर्षे सशस्त्र युद्धबाट खारिएका माओवादी नेताहरु जबजब सरकारको चास्नीमा डुब्दै गए, तब-तब हजारौं बलिदानीबाट प्राप्त उपलब्धीलाई मात्र विर्सिएनन्, आफ्नो इमानसमेत बिर्सिए । नेताहरु सहर केन्दि्रत खुला राजनीतिमा अवतरण गरेसँगै विलासितामा रमाउन थाले ।
विभिन्न हथकण्डा अपनाएर व्यक्तिगत धनदौलत आर्जन गर्ने लोभलालचमा फस्दै जान थाले । फलस्वरुप सरकार सञ्चालनको जिम्मेवारी पाएर पनि परिवर्तनलाई आत्मसाथ गर्ने र दश वर्षे सशस्त्र संघर्षमा साथ दिने आम कार्यकर्ता तथा शुभचिन्तकहरुलाई हित गर्ने कामहरु माओवादी सरकारबाट हुनै सकेन । बरु व्यक्तिगत रुपमा आफू कसरी कुर्सीमा पुग्ने र भाइभजिता, नातागोता र आफन्तलाई जागिर दिलाउने जस्ता व्यक्तिगत फाइदामा तल्लीन देखिए । फलस्वरुप पार्टी विभाजनको श्रृंखला शुरु भयो ।
विभाजनको श्रृंखलाअन्तर्गत रविन्द्र श्रेष्ठ र मणि थापा पार्टीबाट बाहिरिए भने पार्टीमा मधेसकै खम्बा मानिने मात्रिका यादव पनि एमाओवादीमा अटाउन सकेनन् र नेकपा (माओवादी)लाई नै पुनर्गठित गरे । शान्ति प्रक्रियालाई टुंग्याउने र माओवादी सेनालाई व्यवस्थापन गर्ने नाममा पार्टी पुरै गोलचक्करमा फस्दै गयो । अन्ततः अर्थहीन सेना समायोजन प्रक्रिया पूरा गरियो । सेना समायोजनकै विषयलाई लिएर पार्टीमा पुनः दुई लाइन संघर्ष चर्कियो ।
पार्टीभित्रको दुई लाइन संघर्ष उत्कर्षमा पुगेपछि मोहन वैद्य नेतृत्वमा नेकपा-माओवादी पार्टी गठन भयो । दश वर्षे सशस्त्र युद्धको नेतृत्व हाँकेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नव संसोधनवादमा पतन भएको आरोप लगाउदै वैद्य नेतृत्वमा नयाँ पार्टी गठन भयो । पार्टी विभाजनपछि दुई माओवादी अस्तित्वमा आए । तर, एमाओवादीबाट अलग भएर पनि क्रान्तिको कार्यदिशालाई आत्मसाथ गर्न नसकेको भन्दै एमाओवादीबाट अलग भएको अढाइ वर्षपछि हालसालै तत्कालीन वैद्य माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ वैद्य माओवादीबाटै अलग भए ।
एमाओवादीबाट विभाजन भएर पनि अढाइ वर्षसम्म पनि क्रान्तिको तयारी नगरिएको भन्दै एकीकृत क्रान्तिको अवधारण अघि सार्दै नेता विप्लवले नयाँ माओवादी गठन गरे ।
वैद्य माओवादीको यक्ष प्रश्न
विप्लवले नयाँ माओवादी गठन गरेसँगै प्रचण्ड, वैद्य, विप्लव, मात्रिका र मणि थापा नेतृत्वका छुट्टाछुट्टै माओवादी पार्टीहरु रहन पुगेको अवस्था छ । वैद्य माओवादीबाट विप्लवको बर्हिगमनपछि नयाँ रणनीति बनाउन भन्दै नेकपा-माओवादीले राष्ट्रिय भेला नै आयोजना गर्यो । तर, माओवादीको राष्ट्रिय भेला हुनुअघि विप्लवको बर्हिगमनसँगै वैद्य माओवादीको अस्तित्वमाथि प्रश्नचिन्हहरु खडा भए ।
जनयुद्ध हाँकेका नेता संसोधनवादी र माओवादीका युवा हस्ती भनिएका विप्लव क्रान्तिकारी देखिएपछि वैद्य माओवादीको अस्तित्व के भन्ने यज्ञ प्रश्नहरु देखा परे । नागरिकको नजरमा वैद्य माओवादी प्रचण्ड र विप्लव नेतृत्वको दुई माओवादीको चेपुवामा पर्ने देखियो ।
विभिन्न अड्कलबाजी भइरहेकै सन्दर्भमा वैद्य माओवादीले राष्ट्रिय भेला गर्यो । तर राष्ट्रिय भेलाले पनि क्रान्तिको बाटो कसरी पहिल्याउने भन्ने कुनै भेउ पाउन सकेन । एमाओवादीसँग अलग्गिएपछि भएको वैद्य माओवादीको सातौं महाधिवेशनले ‘जनयुद्धको जगमा जनविद्रोह’ कार्यदिशा तय गरेको थियो । तर, नेकपा-माओवादीले न त जनयुद्धको जग पहिल्याउन सक्यो न त जनविद्रोह नै ।
तसर्थ सातौं महाधिवेशनसँगै कार्यदिशा सारसंग्रहवादी भएको भन्ने प्रश्नहरु पनि उठाइए । कार्यदिशामा जनयुद्धको जग भनेको स्पष्ट नभएको एकाथरिले तर्क गरे । जनविद्रोहको कार्यदिशा पारित गरेको दुई वर्षसम्म पनि जनविद्रोहको तयारी किन भएन जस्ता प्रश्नहरु पार्टी नेता कार्यकर्ताहरुबाट भई नै रहे ।
पार्टी पंक्तिबाटै खोजिएका यी प्रश्नहरुको यथार्थता आउन नसके पनि कार्यदिशाबारे उठ्ने गरेका प्रश्नहरु वैद्यले आफ्नो पछिल्लो राजनीतिक दस्तावेजमा छाप्ने काम चाँही गरेका छन् ।
एमाओवादीसँगको एकताको प्रसंग
एमाओवादीसँगको विभाजनपछि नेकपा-माओवादीले सवै भन्दा ठूलो निर्णय गर्यो, दोस्रो संविधानसभा निर्वाचनको सशक्त बहिष्कार गर्ने । एमाओवादी नेतृत्वको सरकारकै समयमा भएको पहिलो ऐतिहासिक संविधानसभा विटघनको जस पखाल्न लागि परेको एमाओवादी वैद्यको सशक्त निर्वाचन बहिष्कारको वेवास्ता गर्दै देशब्यापी निर्वाचनको माहौला खडा गर्यो ।
प्रचण्ड आफै निर्वाचनको माहौल बनाउन सबै दलको मोहरा बनेपछि बम बारुद पड्काएरै भए पनि निर्वाचन हुन नदिने तयारी गरेको वैद्य माओवादी अन्तिम समयमा एमाओवादीलाई निर्वाचन परिणामबाटै सिध्याउने प्रतिशोधका रुपमा उभियो ।
फलस्वरुप वैद्य माओवादीको निर्वाचन बहिष्कार कार्यक्रम सफल भएन भने प्रचण्ड माओवादी तेस्रो पार्टीमा खुम्चियो । पार्टी सरकारमा गएपछि घटेको जनविश्वास, पार्टीबाटै आधा हिस्सा बाहिरिएको अवस्था हुँदा हुँदै पनि पहिलो शक्ति नै बन्ने कोकोहोलो मच्चाउँदा प्रचण्ड-बाबुराम स्वयंले हार चाख्न बाध्य भए ।
परिणामतः गैरमाओवादी पंक्ति बलियो बन्दै गएपछि भने विभाजित माओवादी नेताहरुको चेत खुलेको छ । त्यसैले होला, पुनः एकताका लागि प्रचण्ड-वैद्यबीच एकताका लागि पहलहरु हुन थाले । वैद्य माओवादीले एकताका लागि ६ बुँदे प्रस्ताव नै अघि सार्यो । ड्यास माओवादीले सारेको ६ बुँदे प्रस्तावमध्ये पाँच बुँदामा सहमति भइसकेको स्वयं वैद्यले राष्ट्रिय भेलामा नै प्रष्ट्याइसकेका छन् ।
यद्यपि दुई माओवादी एकता वार्ता अघि बढिरहँदा विभाजनको मार एकातिर खेप्नु परेको छ भने एमाओवादी नेतृत्व नै बाबुराम भट्टराईलाई सुम्पिने चर्चा अर्कोतिर चलिरहेको छ ।
धोवीघाट गठबन्धन र विस्तारवादी नजर
एमाओवादीमा चुलिएको विवाद मत्थर पार्न सुप्रिमो प्रचण्डले बाबुराम भट्टराईलाई नेतृत्व सुम्पिने प्रस्ताव पछिल्लो केन्द्रीय समिति वैठकमा औपचारिक रुपमै राखेका छन् । तर, वैद्य माओवादीका लागि समस्या यहीँनेर जटिल बनेको देखिन्छ । विगतमा प्रचण्डको एकल तानाशाही प्रवृत्तिका विरुद्ध वैद्यले गरेको धोविघाट गठबन्धनको आरोप अझैसम्म पनि झेलिरहेका छन् ।
वैद्य-भट्टराईको धोबीघाट गठबन्धनबाटै प्रधानमन्त्रीसमेत बन्न पुगेका भट्टराईले सरकारको नेतृत्व सम्हाल्नासाथ आफ्नो भारतप्रेम देखाइदिएपछि पार्टी वैद्य माओवादीले भट्टराईलाई भारतपरस्त नै भनी किटान गर्यो । जुन अहिलेको विप्लव छुट्टएिपछिका भेलामा समेत बाबुराम नियोजितरुपमै भारतसँग जोडिएको कुरा वैद्यले भट्टराईप्रतिको दृष्टिकोण स्पष्ट गरेका छन् ।
तत्काल पार्टी एकता गर्दा एकातिर एमाओवादीसँग एकताका लागि हतार गरेको विप्लवको आरोप पुष्टि हुने देखिन्छ भने अर्कोतर्फ एमाओवादीको नेतृत्व भट्टराईमा हस्तान्तरण भएका आफूहरुको अस्तित्व के होला भन्ने प्रश्न पनि उत्तिकै खडा भएको देखिन्छ ।
त्यसैले पार्टी विभाजनबारे विप्लव प्रवृत्तिको आलोचना गरी समय बर्बाद गर्नु भन्दा वैद्य माओवादीले विगतमा भएका आफूहरुको कमी कमजोरीहरुलाई एकपटक गम्भीर ढंगले समीक्षा पनि उत्तिकै जरुरी देखिन्छ ।
प्रतिक्रिया 4