Comments Add Comment

निगमलाई घाँडो बन्यो चिनियाँ जहाज

NAC

नविन अर्याल

२९ पुस, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २८ वर्षपछि चीनमा निर्मित जहाज भित्राउँदा कर्मचारीहरुमा खुशीको सीमा थिएन ।

निगमले पञ्चेबाजा बजाउँदै बैशाख १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एमए-६०’ जहाजलाई स्वागत गरेको थियो । पुरोहितबाट मन्त्रोचरण गराएर धुमधामसँग भित्राइएको त्यही जहाज अहिले निगमका लागि घाँडो बनेको छ ।

उडाउन नपाउँदै ग्राउन्डेड हुने समस्याका कारण निगमका लागि उक्त जहाज घाँडो बन्न पुगेको हो । चीनमा निर्मित जहाजले निगमलाई धरासायी बनाउने आंकलन व्यवस्थापन पक्षबाट हुन थालेको छ । निगमका प्रवक्ता रामहरि शर्माका अनुसार नियमित उडान सुरु गरेको ७ महिनाको अवधि करिव तीन महिना ‘एमए-६०’ ग्राउन्डेड भएको छ ।

पछिल्लो समय पुस १ गतेदेखि ग्राउन्डेड भएको जहाज २७ दिनपछि आइतबारदेखि उडेको छ । फ्यूल ट्याङ्क चुहिनुका साथै जहाजमा क्र्याक भएपछि जहाज लामो समय ग्राउन्डेड भएको हो ।

‘असार ११ गतेदेखि एमए-६० जहाजबाट व्यवसायिक उडान सुरु गरिएको थियो, अहिलेसम्म पटक-पटक गरी पाँचपटक ग्राउन्डेड भएको छ’ निगम प्रवक्ता शर्माले भने- ‘उडाउन नपाउँदै कहाँ ग्राउन्डेड हुने हो भन्ने समस्याले पिरोल्न थालेको छ ।’

पाँच पटक ग्राउन्डेड

जुलाई महिनामा प्रपोलरमा चरा ठोक्किएर र वेदर र्‍याडारमा समस्या देखिएर दुईपटक ग्राउन्डेड भयो । त्यस्तै, अगष्ट महिनामा एन्टी स्किड बिग्रियो भने अक्टोबरमा पावर लिभरमा समस्या देखियो । पछिल्लो पटक ग्राउन्डेड हुँदा फ्यूल लिकेज हुनुका साथै जहाजमा क्र्याक भएको थियो ।

Nepal-Airlines-MA-60,-two
पञ्चेबाजा बजाएर जहाजलार्इ स्वागत गरिँदै ।

५६ सीट क्षमताको ‘एमए-६०’ जहाज चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको जहाज हो । साथै, सानो १९ सीट क्षमताको ‘वाई १२ ई’ जहाज पनि निगमले अनुदानमा पाएको छ ।

निगमले जहाज अनुदानमा पाए पनि मर्मत तथा स्पेयर्स पार्टसको खर्च जोड्दा सिँगै जहाज आउने पैसा खर्च हुन थालिसकेको छ ।

४ जहाज ल्याउनै बाँकी

सम्झौताअनुसार अझै चीनको सहुलियत ऋणमा उपलब्ध ४ वटा जहाज ल्याउन बाँकी छ । नेपाल सरकार र चीन सरकारबीच सहमति गरेर जहाज ल्याइएको हो । निगमले जहाज थप्ने कुरा सरकारसँग गरे पनि चीनबाट जहाज ल्याउन नभनेको दाबी गर्छन् प्रवक्ता शर्मा ।

तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्माका पालामा नेपाल र चीनबीच पक्षबीच जहाज ल्याउने सहमति भएको थियो । यसमा आफ्नो कुनै हात नरहेको निगमको दाबी छ ।

जहाजमा समस्या देखिएपछि चिनियाँ पक्षले मर्मतमा ढिलाई गरिदिँदा निगम मर्कामा परेको हो । छोटो अवधिमा धेरै पटक समस्या आउनु, स्पेयर्स पार्टस निकै महंगो हुनु र मर्मतमा चीनले बेवास्ता गर्नुजस्ता कारणले ‘एमए-६०’ निगमलाई घाँडो बनेको हो ।

‘चिनियाँ प्राविधिकहरुले समयमै मर्मत गरिदिने हो भने पनि निगमलाई यति धेरै चाप पर्ने थिएन, लामो समय ग्राउन्डेड गर्नुपर्दा आर्थिक भार थपिएको छ’ निगमका उप-निर्देशक पुष्पलाल पोतेले बताए । उनका अनुसार अहिले निगमलाई ‘एमए-६०’ उडाउँदा घाटा हुने गरेको छ ।

Nepal-Airlines-MA-60,four
पर्यटन मन्त्रालय, निगम र चीनबाट उपस्थित उच्च अधिकारी तथा कर्मचारीहरू ।

मर्मतमा चीनको बेवास्ता

अन्तर्राष्ट्रिय प्राक्टिक्स अनुसार जहाज बिग्रिएको २४ देखि ४८ घण्टा भित्रमा मर्मत गरिदिनुपर्छ । तर, निगमको जहाज बनाउन ५/६ दिनसम्म ढिलाइ गरिदिने काम भएको छ ।

अहिलेको भाडादरमा दिनमा ४ वटा उडान गर्न सकेमा बल्ल नाफामा जान सकिने बताउँदै पोतेले अहिले मुस्किलले २ वटा उडान भइरहेको जानकारी दिए । त्यसमाथि अधिकांश समय जहाज ग्राउन्डेड हुन्छ ।

चीनको असहयोगका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति पाउन दुई महिना लाग्यो । त्यतिबेला ६३ दिनसम्म एमए-६० जहाज एयरपोर्टमा पार्किङ गर्नुपरेको थियो ।

पछिल्लोपटक दोभाषे पाइलट उपलब्ध नगराउँदा सानो कोइली जहाज ल्याउन समस्या पर्‍यो । जहाज काठमाडौंमा अवतरण गरेदेखि नै निगमले हैरानी बेहोर्न सुरु गरेको हो ।

पार्किङ शुल्क तिर्दै ठिक्क

‘जहाज ग्राउन्डेड हुँदा आम्दानी नहुने त एक ठाउँमा भयो’ प्रवक्ता शर्माले भने-‘उल्टै हामीले पार्किङ गरेवापत प्राधिकरणलाई चर्को शुल्क बुझाउनुपर्छ, बीमा शुल्क र चालक दलका सदस्यलाई पनि तलब भत्ता दिनुपर्छ ।’

यसरी जहाजले दुःख दिन थालेपछि निगमले चिनियाँ कम्पनीलाई यस बारेमा जानकारी गराइसकेको छ । यही विषयमा नोभेम्बरमा निगम, पर्यटन मन्त्रालय र चीनबीच त्रिपक्षीय छलफल भएको थियो । त्यतिबेला केही कुरा माइन्यूट भए पनि चिनियाँ पक्षले बेवास्ता गरेको प्रवक्ता शर्माले बताए ।

Nepal-Air
त्रिभुवन विमानस्थलमा निगमको ह्याङ्गरमा अाउँदै गरेको एमए-६० जहाज ।

माइन्यूटमा मर्मत छिटो गरिदिनुपर्ने, पार्टसको मूल्य घटाउनुपर्ने, टेक्निकल सहयोग प्रभावकारी गराउनुपर्ने उल्लेख गरिएको थियो । माइन्यूटमा उल्लेख गरिएका शर्तहरु पालना नभएको निगमको गुनासो छ ।

सरकारले आफ्ना कुराहरु दहरोसँग राख्न नसक्दा पनि चीनले नेपाललाई हेपेको निगमका कर्मचारीहरु बताउँछन् । ‘जहाज सित्तैमा दिएको देखाउने, तर अप्रत्यक्ष रुपमा जहाजको पैसा उठाउने प्रवृत्ति चीनको देखिन्छ’ कर्मचारीको भनाइ छ ।

उडाउन पाइलट र इञ्जिनियर डराउन थाले

अहिले यस जहाजले बिराटनगर, धनगढी, भैरहवा र नेपालगञ्जमा उडान भरिरहेको छ । यो जहाज उडाउन पाइलट र इञ्जिनियर समेत डराउन थालेको बताइन्छ । पटक-पटक धोका पाउँदा इञ्जिनियरहरु उडाउनका लागि अनुमति दिन डराउने, पाइलट पनि उडाउन डराउने गरेको निगमले बतायो ।

‘पुराना ट्वीनअटर जहाज बिग्रिएमा बनाएर उडाउन इञ्जिनियर र पाइलट सबै तयार हुन्छन, एमए-६० जहाज बनाएपछि पनि उडाउन डराउँछन्’ एक कर्मचारीले भने- ‘जहाजको इन्टेरियर राम्रो भएर मात्र के गर्नु, टेक्निकलरुपमा जहाज निकै कमजोर रहेछ ।’

जहाज पटक-पटक बिग्रिन थालेपछि निगमले बाँकी चार जहाज ल्याउने कि नल्याउने दोधारमा परेको छ । यस विषयमा निगम सञ्चालक समितिमा पनि कुरा उठेको थियो । चिनियाँ जहाज उडाउँदा निगमको बचेको इज्जत पनि खस्किने भएपछि बाँकी जहाज ल्याउन सोच्नुपर्नेबेला आएको कर्मचारीहरुको भनाइ छ ।

Nepal-Airlines-MA-60
पण्डितले जहाजलार्इ पुजा गरेर भित्राउँदै ।

निगमले अगाडि सारेका सर्तहरु पूरा गर्न चीन तयार भएमा मात्र बाँकी जहाज ल्याउने प्रवक्ता शर्माले बताए । अहिलेकै अवस्थामा चीनका जहाज उडाउन निकै समस्या पर्ने उनको ठम्याइ छ ।

बाँकी जहाज ल्याउन निगमका शर्त

चीनले स्पेयर्स पार्टस सस्तोमा उपलब्ध गराउनुपर्ने, नेपाली इञ्जिनियरलाई तालिम दिनुपर्ने, क्रुर सपोर्ट तथा प्रावधिक सपोर्ट लाइफ टाइम हुनुपर्ने माग निगमको छ ।

चिनियाँ पक्षले आश्वासन दिएर मात्र हुँदैन, कमिटमेन्ट गरेमा मात्र बाँकी जहाज ल्याउने बताउँछन् उप-निर्देशक पोते । ‘अहिलेसम्म जहाज ल्याउने विषयमा प्रकृया अगाडि बढाइएको छैन, चीनले कमिटमेन्ट गरेपछि मात्र मिति तय गरेर जहाज ल्याउँछौं’ उनको भनाइ थियो ।

निगम सकेसम्म चिनियाँ जहाज ल्याउन नपरे हुन्थ्यो भन्ने मानसिकतामा छ । सरकारले बाँकी जहाज नल्याउनका लागि चीनसँग पहल गरिदियोस भन्ने निगमलाई छ । चीनबाट जहाज ल्याउने सम्झौता सरकारले गरेको हुँदा, बाँकी जहाज ल्याउने नल्याउने निर्णय सरकारले नै गर्ने हो ।

Nepal-Airlines-MA-60,-three
जहाजलार्इ पानीको फोहोराले सिञ्चित गरेर स्वागत गरिँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment