Comments Add Comment

लोग्नेलाई झुक्याएर गीतकार बनेकी गायत्री(भिडियाे सहित)

gayatri-thapa-photo
अन्जु पन्तको स्वरमा गीत रेकर्डिङ भएपछि निकै खुसी भएकी थिइन् गायत्री थापा । आफुले वर्षौ अघिदेखि डायरीमा लेख्दै राखेको मध्ये एउटा गीत रेकर्डिङ भएको थियो ।

यो गीत हिट भएमा अरु पनि गीत रेकर्ड हुने सम्भावना थियो । कुनै पनि गीत हिट बनाउनका लागि म्युजिक भिडियो अनिवार्य मानिन्थ्यो । श्रीमानलाई अफिस र केटाकेटीलाई स्कुल पठाएपछि एउटा झोलामा लुगाको पोको बोकेर घरवाट निस्किइन् गायात्री ।

आफ्नो गीतको सुटिङमा हिंडेकी गायात्रीलाई थाह थियो- उनको श्रीमानलाई घरका मान्छेले गाएको, नाचेको खासै मन पर्दैन । त्यसकारण उनी श्रीमानलाई थाहै नदिई घरवाट निस्किईन् ।

दिनभरि निकै रमाइलो भयो । मोडलसंगै बसेर गीतकारको मोडलिङ गरिन् । उनले विभिन्न पोशाकमा थरीथरीका पोज दिईन् । फेरी उही तनाब दोहोरियो । श्रीमानले थाह पाए भने के गर्ने ?

बेलुका घर आइपुग्दा झमक्क साँझ परिसकेको थियो । गेट खोलेर भित्र छिर्ने बित्तिकै थाह पाइन् श्रीमान आइसकेका रहेछन् । हत्तपत्त लुगा बोकेको झोला भर्‍याङमुनी लुकाइन् । र, श्रीमानको अगाडी गएर साखुल्ले बनिन् । ‘साथीकहाँ गएर आएको ।’ भन्ने उनको बहाना श्रीमानले पत्याए । समस्या केही भएन ।

अर्को दिन सबै जना घरमा बसेर टिभी हेरिरहेका थिए । टिभीमा गीत सम्बन्धि कार्यक्रम आयो । सम्बन्ध नै टुटेपछि… बोलको गीतको भिडियोको एउटा कुनामा गीतकार गायत्री थापा भनेर लेखेको देखियो । सोफामा बसेर टिभी हेरिरहेका श्रीमानले ठूलो स्वारमा सोधे । ‘गायत्री थापा भनेको तिमी नै हो कि क्या हो ।’ ‘थाहा छैन मलाई । गायत्री नाम गरेका जति सबै मै हुन्छु कि क्या हो ।’ अलि झर्केर जवाफ दिएपछि श्रीमान पनि चुप लागे ।

‘ढाँटेको कुरा काटे मिल्दैन’ भने झैं । श्रीमतिको गीतकार भएको कुरा एक हप्तामै थाह पाए उनका श्रीमानले । शिब दर्शन डिजिटलको नाममा भिसीडि बजारमा आइसकेको थियो ।

तर, गाली गरेनन् । त्यसको केही महिनापछि श्रीमान समेत मख्ख पो परे । कारण गायत्रीले भिसिडि बेचेर मात्रै एक सिजनमा १७ लाख कमाइ गरेकी थिईन् । त्यसअघि कष्मेटिक सामानको ब्यापारमा संलग्न थिइन गायत्री ।

गीत गाएकै कारण चाँडै बिहे

गुल्मीमा जन्मेकी गायत्री सानैदेखि गाउन र नाच्नमा सिपालु थिइन् । चिटिक्क मिलेको ज्यान, गोलो अनुहार, सुरिलो स्वर । गाउँघरमा हुने नारनपूजा, बिबाह र अन्य कार्यक्रममा समेत गाउन अघि सरिहाल्थिन् उनी ।

जे पर्दा पनि गाउन र नाच्न अघि सरेकै कारण गाउँमा उनको छुट्टै परिचय थियो । उनको त्यहि परिचय परिवारको लागि भने घाँडो हुँदै गएको थियो ।

उनी भन्छिन ‘गायत्रीले कस्तो गाउँछे भन्नेमा कसैले चासो थिएन । यो नाच्न गाउनमा रमाउन थाली, कोसँग पोइल जाने भै भनेर चिन्ता गर्न थाले घरका मान्छे ।’ त्यहि कारण उमेर नपुग्दै आफ्नो बिबाह भएको जस्तो लाग्छ उनलाई ।

तर, बिबाहको मामालामा छोरीलाई समाजले नै छेउ लगाएको धारणा राख्दै गायत्री भन्छिन् ‘कस्तो गार्‍हो छ । बा-आमाले खोज्देको केटासँग बिहे गर्दिन भन्ने बित्तिकै अन्तै कसैसँग लभ परेको शंका गर्छन ।’ त्यसकारण पनि उनले बिहेको सन्दर्भमा कुनै नाइनास्ती गरिनन् ।

नायिका बन्ने प्रस्ताव

बिबाहपछि गाउने नाच्ने काम नगरेपनि उनको परिचय बाँकी थियो  । उनको वारेमा बुझेका केही निर्देशकहरु उनको घरमै आएका थिए । गायत्रीलाई अभिनय गराउनु पर्‍यो भन्ने निर्देशकलाई श्रीमानले ‘हिरोइन-सिरोइन बन्न पर्दैन तपाइँहरु जानुस् ।’ भन्दै रुखो जवाफ दिएर फर्काए ।

बिबाह पछिका केही वर्ष त गीत संगीतका वारेमा सोच्दा पनि सोचिनन् । लेख्ने काम समेत बन्द भयो केही समय । एउटा बुहारी भैसकेपछि धेरै कुरा सम्हाल्नुपर्ने थियो । त्यहि क्रममा लेखनमा समेत अवरोध आयो ।

केटाकेटी हुर्कदै गएपछि श्रीमानसँग फेरी गाउने नाच्ने कुरो गरिन् तर, उनले वास्ता गरेनन् । लुकीछुपी रेकडिङ सुरु गरेकी गायत्री अहिले गीतकार मात्रै नभएर गायिकाका रुपमा समेत परिचित छिन् । अहिलेसम्म ६५ भन्दा धेरै गीत रेकर्ड भैसकेको छन उनका ।

आधुनिक, लोक, भजन र तीजका गीतमा उनी शब्द कोर्ने गर्छिन् । उनका आधुनिक गीतमा धेरै जसो अन्जु पन्तले स्वर दिएकी छिन् । भारतीय गायिका सञ्जिबनीदेखि उदय सोताङ, सत्यराज आचार्य, प्रमोद खरेल धेरैले गाईसकेका छन् ।

अब गायनमा पनि
एक महिनाअघि मात्रै मिस कल गर न …बोलको गीतमा स्वर दिएकी गायत्रीले एक महिनाको अन्तरमै फेरी अर्को गीत गाईन् जादुमाया…।

कतिपय गीतको भिडियोमा मोडलहरुले छोटो लुगा लगाएकोमा गुनासो गर्नेहरु धेरै छन् । तर, गायत्रीको बुझाइ फरक छ । उनी भन्छिन ‘रोमान्टिक गीत छ भने मोडलको लुगा छोटै भएपनि फरक पर्दैन ।’ कार्यक्रम प्रस्तुतिको शिलसिलामा विभिन्न स्थानमा पुगेकी गायत्रीलाई पोखराका एकजना शुभचिन्तकले सल्लाह दिएका थिए ‘तपाइको यस्तो खस्रो स्वर छ आइटम गीत गाउनुस् ।’

त्यसपछि नै हो उनले मिसकल गर न गाएको । अहिले युटुबमा राखिएको उनको गीत हेर्नेहरु हरेक दिन बढेकाले पनि उनी मख्ख छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment