+
+
Shares

ओलीको आरोप : प्रचण्ड सहमतिमा एकैछिन टिकेनन्

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ५ गते २०:१६

KP-OLI

५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड आफूसँगको सहमतिमा एकघण्टा पनि टिक्न नसकेको बताएका छन् ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान बनाउने नियत नै नभएकाले एमाओवादी र मधेसी मोर्चासँग अहिलेसम्म सहमति हुन नसकेको बताए ।

‘बिहान ८ बजे मसँग एउटा सहमति भयो, ९ बजे सभामुखसहितको बैठकमा पनि सहमति भयो’ कार्यकर्तालाई जानकारी गराउँदै ओलीले भने ‘तर अब आ-आफ्नो दलमा सहमति गर्ने भनेर हिँडेको केहीबेरमै त्यो त हाम्रो सहमति नै थिएन भन्दै आए, त्यस्ताको कुनै दबाइ हुन्छ ?’

प्रज्ञा भवनभित्र र बाहिर खचाखच भरिएका कार्यकर्ता देखेर उत्साहित भएका ओलीले दुई तिहाइ बहुमत भत्काएर संविधानसभा असफल पार्ने माओवादी मोर्चाको षडयन्त्र कुनै हालतमा सफल हुन नदिने बताए ।

ओलीले के कुरामा प्रचण्ड भाँडिए भन्ने प्रष्ट पारेनन् । तर, संघीयताका सवालमा विवादित ५ जिल्लालाई छुट्टै प्रदेश बनाउने कुरा स्वीकार गर्न नसकिएको उनको संकेत थियो ।

‘एकथरि मेचीदेखि महाकालीको समथर भूभागलाई हिमाल पहाडसँग जोड्नै नहुने भन्छन्, मिलाउँछु भन्नेले त्यसो भए ५ जिल्लालाई छुट्टै प्रदेश बनाउँ भने’ ओलीले कार्यकर्तालाई भने ‘त्यो पनि अन्ततः हिमाल,पहाड र तराई टुक्राउने षडयन्त्र हो, जुन कुरा कुनै हालतमा स्वीकार्य छैन ‘

सत्ता गठबन्धन टुट्दैन

अध्यक्ष ओलीले संविधानसभामा संविधान बन्न नदिन एमाओवादी मोर्चाले कांग्रेस एमालेको दुई तिहाइ खण्डित गर्ने षडयन्त्र थालेको आरोपसमेत लगाए ।

उनले माघ ८ पछि एमालेले प्रधानमन्त्री मागेर कांग्रेससँगको गठबन्धन टुट्ने अपेक्षा गरेका विपक्षीलाई त्यस्तो सपना नदेख्न चुनौति दिए ।

‘एमालेका कुनै पनि नेताको ध्यान कुनै पदमा छैन, संविधानबाहेक अरु हामी सोच्दैनौं’ ओलीले भने ‘दुई तिहाइ भत्काउने षडयन्त्र हामीले बुझेका छौं, माघ ८ पछि के हुन्छ ? भन्ने प्रश्नको जवाफ यही हो ।’

दाँत भाँचिने चेतावनी

ओलीले एमाले कमजोर बनाएमात्र संविधान आउँदैन भन्ने बुझेकाले बिगतमा जस्तै एमालेका आदिवासी जनजाति, मधेसी, महिला सभासदहरुलाई भड्काउन खोजेको आरोप पनि लगाए ।

बिगतमा ककस बनाएर सकस दिए जस्तो यसपटक कसैको पनि प्रयास सफल नहुने भन्दै उनले एमालेका आदिवासी जनजाति,मधेसी सभासदहरु पार्टीका सिपाही बनेर मैदानमा उत्रिएको दावी गरे ।

‘एमालेका सभासदलाई भड्काउन सकिन्छ कि भनेर चाख्न नखोजे हुन्छ, दर्शनढुंगा चपाई हेर्दा दाँत भाँचिन्छ’ ओलीले भने ‘एमालेभित्र पसेर चाख्न खोज्नेको दाँत भाँचिनेछ ।’

माकाफुइँसँग डराउँदैनौं

काठमाडौंका स्थानीय नेवारका ज्वाइँ ओलीले कार्यकर्तालाई पटक पटक हसाउँदै अन्तमा नेवारी भाषाको एउटा उखान सुनाउँदै आफ्नो भनाइ सिध्याए ।

ओलीले भने-संविधानसभामा रक्तपात मच्चाउने, दुई तिहाइ भत्काउने भन्दैछन्, तिनीहरुलाई म नेवारीको एउटै कुरा सुनाउँछु, माकाफुइँसँग एमाले डराउँदैन ।’

नेवारी भाषामा माकाफुइँको अर्थ हुन्छ, बाँदरले लगाउने फुर्ति । उनले संविधानसभामा बाँदरहरु छिरेकाले हाँगो हल्लिँदा पनि रुखै हल्लिएजस्तो देखिने गरे पनि सविधानसभा रुपी रुख नहल्लिने बताए ।

‘बाँदरहरु रुख चढेपछि हाँगा हल्लिन्छन् तर रुख ढल्दैन,’ ओलीले भने ‘संविधानसभाले यसपटक संविधान जारी गरेरै छाड्छ ।’
ओलीले सहमतिका लागि लचिलो हुँदै अब माघ ८ मा संविधान नआए पनि प्रक्रिया भने शुरु भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?