२१ माघ, काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तमा जनता बैंकले गत वर्षको यसै अवधिको भन्दा ७ सय ६३ प्रतिशत बढी नाफा कमाएको छ । २०७० पुसमा १ करोड २६ लाख रुपैयाँ नाफा कमाएको बैंकले ०७१ पुसमा १० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैदेशिक मुद्रा कारोबारबाट हुने आम्दानीमा भएको वृद्धि, खुद व्याज आम्दानीमा भएको वृद्धि र संभावि जोखिा व्यवस्थाका लागि छुट्याइएको उल्लेख्य रकम फिर्ता (राइटव्याक) गरेपछि बैंकको नाफा उच्चदरले बढेको हो ।
गत वर्षको पुसमा बैदेशिक मुद्राको कारोबारमा ७ करोड रुपैयाँ नोक्सानी व्यहोरेको बैंकले यो पुसमा यस्तो कारोबारबाट २ करोड २२ लाख रुपैयाँ कमाएको छ ।
त्यसैगरी, गत वर्षको पुसकोभन्दा यो पुसमा ६ करोड रुपैयाँ बढी खुद व्याज आम्दानी गरेको छ । ०७० पुसमा २५ करोड ३८ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले ०७१ पुसमा ३१ करोड ३७ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । त्यस्तै, गत वर्षको पुसमा कति पनि रकम राइटव्याक नगरेको बैंकले यो वर्षको पुसमा ११ करोड ५८ लाख रुपैयाँ राइटव्याक गरेको छ ।
प्रमुख कार्यकारी अधिकृतमा डा. रमेश भट्टराई आएपछि बैंकमा सुधार आइरहेको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत विजय पन्तले बैदेशिक मुद्राको कारोबारलगायतमा ९ करोड रुपैयाँ डुबाएका थिए ।
बैंकको खराब कर्जाको अनुपात ०.८६ छ । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च ४८ प्रतिशत बढेको छ । बैंकको कोषको लागत घटेर ५.१६ मा सिमित भएको छ । बैंकसँग २ करोड ५६ लाख रुपैयाँ मात्रै सञ्चिती छ ।
बैंकको यो अवधिमा कर्जा लगानी ४२ प्रतिशतले र निक्षेप ३९ प्रतिशतले बढेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको छ । बैंकले रियल इस्टेट कर्जा १ अर्ब ३ करोड रूपैयाँ छ । यो कुल कर्जाको ५.६३ प्रतिशत हो । असोजमसान्तमा बैंकको सञ्चालन नोक्सान दुई करोड १० लाख थियो ।
प्रतिक्रिया 4