२६ माघ, काठमाण्डौं । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत नेकपा माओवादी शान्ति प्रक्रियाको एउटा हिस्सा भएकाले लचक र जिम्मेवार भएर संविधान लेखन प्रक्रियामा आउनु पर्ने बताएकी छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले सहमतिको लागि गरेको पहल सकारात्मक भएको भन्दै उनले अब एमाओवादी जिम्मेवारपूर्वक प्रस्तुत हुनुपर्ने बताइन् ।
सोमबार काठमाडौंमा संचारकर्मीसँग कुरा गर्दै कोइरालाले भनिन्, ‘विपक्षि मोर्चालाई विश्वासमा ल्याउने दायित्वलाई वोध गर्दै प्रधानमन्त्रीले सकारात्मक भुमिका खेल्नु भएको छ, अब एमाओवादी अझै बढि जिम्मेवार र समझदार भएर आउनु पर्छ ।’
बहुमतीय प्रक्रियाबाट संविधान लेखन प्रक्रिया अघि बढेपनि सरकारले सहमतिको प्रयासमा वार्ता र छलफललाई पनि जारी राख्नुपर्नेमा उनले जोड दिइन् ।
कोइरालाले एमाओवादीले नेतृत्व गरेको मोर्चालाई पार्टीगत र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर मुलुक र जनताको अधिकतम हितलाई ध्यान दिन सुझाव दिइन् । ‘एमाओवादी लगाएतका दलहरुले पार्टीगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको पक्षमा आउनु पर्छ,’ कोइरालाले भनिन्, ‘के कुरामा ध्यान दिनुपर्छ भने केहि पाउनका लागि केहि गुमाउन पनि सक्नु पर्छ ।’
प्रतिक्रिया 4