२७ माघ काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार मूल्यांकन र विलविजकीकरण प्रणाली व्यवस्थित गरिनुपर्नेमा जोड दिंदै स्वच्छ व्यापार स्वतन्त्रतापूर्वक गर्न पाउनुपर्ने बताका छन ।
खिचापोखरी न्यूरोड व्यापार संघको सातौं वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन । श्रेष्ठको प्रमुख आतिथ्यमा भएको साधारणसभामा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले करप्रशासन सुधारका लागि तीन महिनादेखि उच्चस्तरीय करप्रशासन सुधार आयोगले काम गरिरहेको बताए।
महानिर्देशक शर्माले करदातामैत्री करप्रशासन बनाउनका लागि आफूहरु लागिपरेको दाबीसमेत गरे । करप्रशासन र करदातावीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिंदै शर्माले स्वच्छ व्यापारप्रति व्यवसायीहरु पनि उत्तिकै इमान्दार हुनुपर्नेमा जोड दिए ।
काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक पूर्णभक्त तण्डुकारले महानगरभित्र व्यापार व्यवसाय गर्ने पूर्वाधार विकासका काम निरन्तर भैरहेको दाबी गर्दै यसलाई अझ व्यवस्थित गरिने आश्वासन दिए ।
त्यसैगरी खिचापोखरी न्यूरोड व्यापार संघका अध्यक्ष राजेन्द्र शेरचनले यसक्षेत्रमा सटर तथा व्यापारिक भवन भाडा, पार्किङलगायतका समस्या समाधानप्रति सरकारी निकायको ध्यान पुग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माले शान्तिसुरक्षाको प्रत्याभूति दिइने जनाउँदै व्यापारिक पूर्वाधार व्यवस्थित गर्ने क्रममा समेत आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
त्यसैगरी विभिन्न क्षेत्रमा रहेका व्यापार संघका अध्यक्ष तथा प्रतिनिधिले कारोबारमा मिसम्याचका समस्यासँगै भन्सार मूल्यांकन प्रणाली अवैज्ञानिक हुँदा व्यापार गर्न निकै कठिन भएको गुनासो गरेका थिए । खिचापोखरी न्यूरोड व्यापार संघमा यसक्षेत्रका ६ सय जना भन्दा बढी व्यापारी सदस्य रहेका छन् ।
प्रतिक्रिया 4