Comments Add Comment

दिल्लीका केजरीवाल, नेपालका ल्हारक्याल !

अरुण बराल

गतवर्ष दिल्लीमा अरविन्द केजरीवाल मुख्यमन्त्री बन्दा नेपालमा ‘नयाँ शक्ति’को सम्भावनाबारे बहस भएको थियो । लोकसभा चुनावमा मोदीसँग हारेका केजरीवाल दोस्रोपटक दिल्लीको मुख्यमन्त्री बन्ने पक्का भएपछि शायद अब नेपालमा अर्को बहस हुनेछ- के अब यसैगरी नेपालमा पनि एमाओवादीको पुनरोदय सम्भव होला ?

ArvindKejriwal2

केजरीवालको शानदार विजय र पुराना पार्टीहरुको शर्मनाक पराजयका आधारमा नेपालमा पनि यो ‘जेनेरलाइजेसन’ गर्न सकिन्छ कि राजनीतिमा इमान्दार प्रयास गरिरहने हो भने नयाँ शक्तिको उदय सम्भव हुँदोरहेछ । आफूलाई सप्तकोशी नदी बताउने पुराना पार्टीहरु  भसक्कै सुक्न सक्दारहेछन् ।

तर, केजरीवालको पुनरोदयकै आधारमा यो दाबी गर्न सकिँदैन कि यसैबाट नेपालमा एमाओवादीको पुनरोदय सम्भव छ ।

केजरीवालको आम आदमी पार्टी र नेपालको एमाओवादी पार्टीवीच एकापसमा तुलनै हुन सक्दैन । एमाओवादीले अहिले जुन प्रकारको कार्यनीति र व्यवहार देखाइरहेको छ, यसबाट उसको उत्थान भन्दा  पनि अझै ठूलो पराजय र विघटनको अनुमानचाँहि सहजै लगाउन सकिन्छ ।

यद्यपि कांग्रेस र एमालेको विकल्पमा नेपालमा नयाँ शक्तिको उदय नहोला भन्न सकिँदैन । कांग्रेस एमाले मिलेर सरकार चलाउने क्रममा जसरी भ्रष्टाचार र जनविरोधी गतिविधि गरिरहेका छन्, यसबाट उनीहरुको हालत पनि बीजेपी र कांग्रेस आइको जस्तो नहोला भन्न सकिन्न । तर, यसको ठाउँमा एमाओवादी, बीमाओवादी या सीमाओवादी भन्दा अरु नै कुनै नयाँ शक्तिले ठाउँ लिन सक्ने अनुमान लगाउनु अन्यथा नहोला ।

दिल्लीमा आपको पुनरोदयका सन्दर्भमा नेपालका एमाओवादी नेताहरुले यो कुरा भुल्नुहुँदैन कि केजरीवाल मुख्यमन्त्री हुँदासमेत  उनी जनताको समस्या समाधानका लागि सिरक ओढेर सडकमै सुतेका थिए । उनमा यस्तो त्याग र जनताप्रतिको समर्पण नभएको भए जनताले उनलाई फेरि विश्वास गर्ने थिएनन् ।

केजरीवालका पत्नी र छोराछोरीले जनतासरह सार्वजनिक रेलमा यात्रा गरे । केजरीवालका परिवारजनले आफूलाई आम आदमी (सर्वसाधारण मान्छे) भन्दा माथि राखेनन् । तर, एमाओवादी नेताले आफ्नी ‘अबैधानिक बुहारी’लाई टिकट बाँडे । राजनीतिमा मनोविज्ञानको प्रभाव कस्तो हुन्छ भन्ने एमाओवादी नेताले बुझेनन् ।

Lharkyal-Lama
ल्हारक्याल लामालार्इ स्वागत गर्दै प्रचण्ड

एमाओवादी अब सुध्रिँदैन भन्ने अर्को ताजा प्रमाण के देखिएको छ भने दोस्रो संविधानसभाको चुनावमा नराम्रो हण्डर खाएपछि पनि नेताहरुको बुद्धि फिरेन । अहिले ल्हारक्याल लामालाई भुतले खाजा खाने बेलामा सभासद बनाउनु यसैको ज्वलन्त उदाहरण हो । कहाँको केजरीवाल कहाँको ल्हारक्याल !

यस्तो तालले नेपालको राजनीतिमा अब एमाओवादीको पुनरोदय सम्भव होला ? जे होस् यो प्रश्नमाथि अब जबरजस्त बहस शुरु हुन सक्छ नेपालमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment