+
+
Shares

काठमाडौं जंगलजस्तै लाग्न थाल्यो ! (भिडियोसहित)

हिजो जंगलमा होइन, जनताको बीचमा रहेछौं । काठमाडौं आएपछि यो काठमाडौंको जंगलमा हराइएको छ भन्ने अनुभूति हुन्छ । कता हो कता, बुझिनसक्नु जंगलजस्तो लाग्छ ।

हामीलाई हिजो जंगलमा भन्छन्, त्यो जंगल होइन, जनताको काख थियो । एकअर्कामा कलेक्टिभ भावना, प्रेम माया, अर्कै उचाइमा थियो । त्यो अर्कै आनन्द थियो । तर, यसको अर्थ आनन्द थियो भनेर त्यही गर्ने भन्ने होइन । इतिहासले, वस्तुगत आवश्यकताले राष्ट्रको आवश्यकताले नयाँ-नयाँ गर्नुपर्ने बाध्यता नेतृत्वलाई हुँदोरहेछ । त्यसकारण जे गरिएको छ, मूलरुपमा गल्ती गरिएको छ भन्ने लागेको छैन । स्पेटहरुमा केही गल्ती भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १ गते १४:२२

अरुण बराल/राजकुमार श्रेष्ठ

 दुई दशकपहिले ०५२ साल फागुन १ गते सशस्त्र संघर्ष थाल्दा एमाओवादी अध्यक्ष प्रचण्ड कता भूमिगत थिए, थाहा थिएन । ०७१ साल फागुन १ गते बिहान ७ नबज्दै अनलाइनखबरको टोली लाजिम्पाट पुग्दा प्रचण्ड ब्याटमिन्टन खेलिरहेका थिए ।

Prachanda  (14)

हामीले प्रचण्डलाई सोध्यौं- जनयुद्धकाल र अहिलेको तुलना गर्दा तपाई कुन स्थितिमा बढी सन्तुष्ट हुनुहुन्छ ?
व्यक्तिगत प्रश्नको जवाफमा प्रचण्डले काठमाडौंको राजनीतिलाई बुझिनसक्नुको अरण्य जंगलसँग तुलना गरे । ‘यहाँ आएपछि धेरै तनाव भो, यति धेरै अप्ठ्यारो लडाइँ रहेछ, यो काठमाडौंको जंगलमा हराइएको छ भन्ने अनुभूति हुन्छ, बुझिनसक्नु जंगलजस्तो लाग्छ।’

‘जनयुद्ध दिवस’का दिन विगततिर फर्केर हेर्दा एमाओवादी हारेको हो कि बिग्रेको ?

– त्यस्तो लाग्दैन । जनयुद्धको पहल आजभन्दा २० वर्षअगाडि तयारी गरियो । त्यसले नेपाली समाजमा र सिंगो राजनीति वृत्तमा एउटा ठूलो रुपान्तरण र परिर्वतन भयो । त्यसमा गर्व छ । हारियो भन्ने लाग्दैन ।

शान्ति प्रक्रियामा आएपछि कयौं स्टेपहरुमा हामी चुक्यौं । केही गल्तीहरु गरियो ।  संविधानसभा दोस्रोपछि रियलाइजेशन पनि गरेका छौं

शान्ति प्रक्रियामा नआएको भए अहिले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता मुद्दाहरु राष्ट्रिय राजनीतिको केन्द्रमा छन्, त्यो सम्भव हुने थिएन ।

अर्को शान्ति प्रक्रियामा नआएको भए यो आन्दोलन बचाउन सम्भव हुन्थ्यो भन्ने मलाई लाग्दैन । किनभने आजको विश्वमा २१ औं शताब्दीको पहिलो दशकमा भनौं, जतिबेला हामी शान्ति प्रक्रियामा प्रवेश गरौं, विश्वभरि नै माओवादी आन्दोलन या त युद्धबाटै पूरा गर्छु भन्दा धरासायी भयो, नेस्तनावूत नै भएर गए । या, पूराका पुरै गलत दिशामा गए । त्यसबाट बचाएर आन्दोलन ल्याउने क्रममा मलाई कुनै पछुतो वा पराजित भइयो भन्ने महसुस हुँदैन ।

यो कुरा पक्कै हो कि शान्ति प्रक्रियामा आएपछि कयौं स्टेपहरुमा हामी चुक्यौं । केही गल्तीहरु गरियो, जसले गर्दा ती उपलब्धी संस्थागत गर्ने या सहिद, वेपत्ता परिवारको व्यवस्थापन  गर्ने या हजारौं क्रान्तिकारी योद्दाहरुको व्यवस्थापन गर्ने हामी चुकेकै हौं । खासगरी संविधानसभा दोस्रोपछि रियलाइजेशन पनि गरेका छौं ।

तर, आज जनयुद्ध दिवसको दिन त्यो जनयुद्धलाई सम्झँदै गर्दा त्यसको तयारीको प्रक्रिया, त्यसको उठानको प्रक्रिया, त्योभित्रका तमाम उचार चढाबहरु, हजारौं सहिद, वेपत्ता र घाइते अपाङ्गहरु योद्धा र उनका परिवार सम्झँदा मलाई गर्वकै महसुस हुन्छ । असफल भइयो भन्ने लाग्दैन ।

भारतमा भाकपा माओवादी जुन बाटो हिँडिरहेको थियो, त्यसबाट फर्किएर आएन । उनीहरु र रिमले भन्दाभन्दै पनि तपाईहरु यो ठाउँसम्म आउनुभयो । अहिले भारतमा भाकपा माओवादीमात्र होइन कि संसदीय राजनीति गर्ने कम्युनिष्टहरुको परिस्थिति बिग्रियो । अब दक्षिण एशियामा  युद्धको बाटो मात्रै होइन, शान्तिको बाटोमा पनि वामपन्थीहरु कमजोर भएका हुन् ? अब कम्युनिष्टहरुको ठाउँ केजरीवालले पो लिने हुन् कि ?

– पहिलो कुरा त के भने भाकपा माओवादी जसरी गइरहेको छ, अहिले मैले जनयुद्ध दिवसको अवसरमा स्मरण गर्दा र जनयुद्धको बेलामा भाकपा माओवादीसँग हाम्रो सम्वन्ध दुबैतिरको हेर्दा एउटा कुुरा त अहिले जुनरुपमा भाकपा माओवादी छ, त्यसमा हाम्रो योगदान ठूलो छ भन्ने स्मरण गर्न चाहन्छु ।

दुईवटा माओवादी पार्टीहरु एक अर्कामा मारामार गरेर सकिने अवस्था बनाउँदै हुनुहुन्थ्यो । हाम्रो धेरै ठूलो त्याग र तपस्या छ उहाँहरुलाई मिलाउने र अहिले भाकपा माओवादीको रुप आएर कमसेकम एउटा स्थिति बनेको हो । त्यसकारण उहाँहरुको बाटोको बारेमा कुरा गर्दा यो पहिलो चरण हो ।

दोस्रो चरणमा हामी शान्ति प्रक्रियामा आयौं र उहाँहरुलाई भन्यौं कि तपाईहरुले पनि राजनीतिकरुपमा नयाँ ढंगले नसोच्ने हो भने भविश्य अप्ठ्यारो छ । तपाईहरुले वार्ता, शान्ति प्रक्रियाका संघर्षहरुलाई लिनुपर्छ भनेपछि हाम्रो बाटो फाट्यो । उहाँहरु एकातिर लाग्नुभो, हामी अर्कोतिर लाग्यौं । अहिले उहाँहरुसँग हाम्रो कुनै सम्वन्ध छैन ।

रिमसँगको सम्बन्ध नि ?

– जहाँसम्म रिमको कुरा गर्नुभो । वास्तवमा एकाध व्यक्ति अमेरिकाका छन् । पेरुको पार्टी आन्दोलनमा हुँदा र त्यो सफलतातिर बढ्दै गर्दा नेपालमा पनि हाम्रो पार्टी अगाडि बढ्दै जाँदा रिमको प्रभाव जस्तो देखिएको हो । तर, दुईवटा माओवादी हटाइदिने हो भने (पेरुको यसै सिद्धियो) रिम भन्ने नै छैन ।

आप आयो, उत्पात भयो, नयाँ शक्ति नै आयो भनेर सोच्नु गलत हो । मेरो विचारमा त्यो पानीको फोका हो ।

हाम्रो अगाडि एउटा ऐतिहासिक प्रश्न खडा भयो । पेरुकोजस्तै बाटो हिँडेर सिद्धिने कि अलिकति नयाँ बाटो गएर आन्दोलनको रक्षा गर्ने भन्ने प्रश्न उठेपछि त्यसको जवाफ हामीले यसरी दियौं । शान्तिपूर्ण संघर्षमा गएर मात्र एउटा राजनीतिक परिर्वतन संस्थागत गर्ने ऐतिहासिक सम्भावना पैदा भयो । निरंकुशतत्रका विरुद्ध सबै संसदीय र गैरसंसदीय शक्ति केन्दि्रत गर्ने अवसर बन्यो नेपालमा । यसलाई हामी माओवादीहरुले राम्रोसँग पहिचान गर्न सक्नुपर्छ र उपलब्धिहरु लिएर त्यहाँ टेकेर अगाडि जाने बाटो अपनाउनुपर्छ भनेर ठूलो साहस भन्नुस्, प्रयोग भन्नुस् या दुस्साहस गरेकै हो ।

मलाई लाग्छ त्यसरी आउँदा शान्ति प्रक्रियाका सबै घुम्तीहरुमा ठीक गर्‍यौं भन्ने मेरो दाबी होइन, तर, जहाँसम्म भारतका बामपन्थीहरु छन्, सीपीआई, सीपीएमहरुहरुलाई हामी जडसुत्रीय संशोधनवादी भन्छौं । परिस्थिति अर्को ठाउँमा गइसक्यो, आफू नयाँ ठाउँमा आइसक्यो, त्यसलाई आत्मसाथ गर्न उनीहरुले सक्दै सकेनन् । त्यसले नै अन्ततः जनताबाट कट्दै जाने उनीहरुको स्थिति भयो । त्यहाँको बुर्जुवावर्गले उनीहरुलाई पचाइ दिए भन्न पनि सकिन्छ ।

जो सशस्त्र युद्धमा भएको भारतको माओवादी छ, उसले यदि नयाँ प्रयोगमा जाने र माक्र्सवादलाई विकास गर्न सकेन भने त्यसको पनि अवनति बाहेक अरु हुन्छजस्तो मलाई लाग्दैन ।

दक्षिण एशियामा कम्युनिष्टमाथि चुनौती त देखियो नि ?

– यो ठूलो चुनौती हो । यो हाम्रो पार्टीको मात्र होइन, विश्वभरिका माक्र्ससिस्टहरुको एउटा चुनौती हो । आर्थिक, राजनीतिक, समाजिक सबै चिजको अध्ययन र विश्लेषण गरेर नयाँ विचारलाई संश्लेषण गर्न नसकेर कम्युनिष्ट आन्दोलन रक्षात्मक त भएकै छ ।

विश्वभरि त्यस्तो हुँदाहुँदै पनि हाम्रो नेपालमा अझै पनि वामपन्थीहरुको बर्चश्व सामान्य छ भन्न हुँदैन । यो आक्रामक छ । केही त्रुटी सच्याएर जाने हो भने हामीले गरेको प्रयोग विश्वलाई पनि प्रयोग हुनसक्छ ।

माओवादी आन्दोलनलाई तपाई र बाबुरामजीले यो ठाउँसम्म लिएर आउनुभो । तर, एकातिर सशस्त्र संघर्ष र अर्कोतिर संसदीय राजनीतिमा लागेका दुबै वामपन्थी धारको ‘रिप्लेसमेन्ट’ गर्न अर्कै शक्ति पो आउँछ कि ? दिल्लीमा भाजपा र कांग्रेसको ‘रिप्लेसमेन्ट’मा अर्को आएजस्तै ? कांग्रेस र एमालेको विकल्प एमाओवादी नै बन्छ भन्ने के छ ?

-अब बुर्जुवा चुनावमा एकपटक लहर आउने, अर्को पटक विलाएर जाने र अर्कोको आउने यो विश्वभरिकै परिदृश्य हो । कुनै नयाँ कुरा होइन । आप आयो, उत्पात भयो, नयाँ शक्ति नै आयो भनेर सोच्नु गलत हो ।

आपको पछाडि हेर्नुहुन्छ भने बिजेपी र मोदीसँग असन्तुष्ट भएका सबै प्रतिक्रियावादी, बुर्जुवा केन्द्रित भएको छ । यतिसम्म कि कांग्रेस आईसमेत आपकै सम्भावना देखिएकाले जोडिएको भन्ने इण्डियन मिडियामा आइरहेकै छ । विहार, युपीका भएभरका क्षेत्रीय शक्तिहरु पनि लागेका छन् । त्यसकारण त्यहाँ ठूलै प्रयोग भयो भनेर कम्युनिष्ट आन्दोलनको प्रयोगसँग जोड्नु उचित हुँदैन । मेरो विचारमा त्यो पानीको फोका हो ।

मैले अहिले भन्दा अनौठो लाग्ला । मोदीजीलाई पहिलोपटक हायातमा भेट्दा म, बाबुरामजी थियौं । मेरो पहिलो कमेन्ट के थियो भने तपाईको पेलिटिकल्ली वेभजस्तो आएको छ, नयाँ गर्छु केही भनेर पनि सोच्नुभएको छ तर, मलाई डाउट छ । तपाईको ‘स्टेट एटाराटस’ले साथ दिँदैन र तपाईको यो केही दिन एकाध वर्ष त रहला । तर, रहँदैन जस्तो लाग्छ ।

मेरो आफ्नै अनुभवमा यो प्रतिस्पर्धाको राजनीतिमा ‘स्टेट एपाराटस’ आफ्नो भएन भने, ब्यूरोक्रेसी आफ्नो भएन भने तपाईको पोलिटिकल्ली जतिसुकै एम्बिसन भए पनि पूरा गर्दाे रहेनछ भनेको थिएँ । उहाँ निकै गम्भीर हुनुभएको थियो । आज हेर्दा दिल्लीमा जे देखियो, मेरो विश्लेषण बडो सटिक भएछ भन्ने परेको छ ।

आपको पनि हेर्नुहोला, ठूलो आइडोलोजी, विल्कुल भिन्न आइडोलोजी भन्ने त होइन । जनताको मुद्दा र भ्रष्टाचारको मुद्दा उठाएका हुनाले लोकप्रिय त भएका छन् । तर, एउटा राजनीतिक पार्टीले १९४९ पछि स्थापना भएको ‘स्टेट एपाराटास’, ब्यूरोक्रेसीलाई बदल्ने भन्ने सम्भव छैन ।

युद्ध छाडेर काठमाडौं आउनुभएको आठ वर्ष आठ महिना बितेछ । असफल नै भइयो नि होइन ? वार्ता भनेको छ, घुमेको छ, घुमेको छ । तपाई र डा. बाबुराम भट्टराईले लिएर आउनुभएको त लाइन त असफलजस्तै देखियो हैन ? कस्तो लाग्छ ?

काठमाडौं आएपछि यो काठमाडौंको जंगलमा हराइएको छ भन्ने अनुभूति हुन्छ । कता हो कता, बुझिनसक्नु जंगलजस्तो लाग्छ ।

– असफल नै भइयो भन्नेमा म र हाम्रो पार्टी पुगेको छैन । चुनौतीहरु आए र आउँछन् । तपाईले बैचारिक ढंगले हेर्नुभयो भने जति बेला हामी शान्ति सम्झौताको तयारीमा थियौं, जसलाई हामी चुनवाङ बैठक भन्छौं । त्यतिबेला हामीले बडो प्रष्टसँग भनेका थियौं कि राजतन्त्रको अन्त्यसम्म यो प्रयोग राम्रैसँग जान्छ । त्यो अन्त्य भएपछि हाम्रो र संसदवादी शक्तिको कस्तो स्टेट बनाउने भनेर पर्छ । हामी माक्र्सवादीहरु प्रगतिशील, अधिकतम प्रगतिशील राज्यका लागि जोड गर्छौं र गर्नुपनि पर्छ ।

बुर्जुवाहरु चाहिँ राजा हटाए पनि उनीहरु बुर्जुवा पुरानै सिस्टम कायम राख्न जोड गर्छन् र त्यहाँनेर निकै ठूलो छिनाझप्टी पर्छ भनेका छौं । अहिले, म आजभोलि पढ्छु । हिजो बेलुका मात्र पढ्दै थिएँ । अहिले कांग्रेस र एमाले एकतिर र हामीहरु र अलिकति परिर्वतनकारी शक्ति अर्कातिर भएर जुन बहस चलिरहेको छ, त्यसको अन्तर्यमा हेर्नु भो भने हामी राज्यलाई अधिकतम जनपक्षीय कसरी बनाउने भन्नेतिर गरइहेका छौं । उनीहरु पुरानै सिस्टमलाई कसरी बचाउने भन्नेमा छन् ।

राजा गए पनि राजाले स्थापना गरेको एपाराटस, कल्चर, मनोविज्ञानलाई प्रतिनिधित्व गरेर शासन गर्नेतिर ओलीको सुशीलजीको गएको छ, मेरो र बाबुरामजीको भन्नुहुन्छ भने, अरु पार्टीहरुको हेर्नु भो भने हाम्रो त्यस्तो होइन । राज्य पुनःसंरचना गर्दा पुराना उपलब्धिलाई जस्ताकै त्यस्तै राख्ने भन्ने होइन । यसरी हेर्दा असफल भएको भन्ने मान्दिँन ।

तपाईको व्यक्तिगत अनुभूतिको कुरा गर्ने हो भने हिजो जंगलमा हुँदा बढी सन्तुष्ट हुनुहुन्थ्यो कि अहिले काठमाडौंंमा ?

– मलाई व्यक्तिगत सन्तुष्टि, आराम, रिल्याक्स र ऐतिहासिक गैरव जनयुद्ध कालमै थियो । यहाँ आएपछि धेरै तनाव भो । यति धेरै अप्ठ्यारो लडाइँ रहेछ कि हामीजस्तो सोझे मान्छे, गरीब किसानको छोराले गर्ने धेरै राजनीति होइन रहेछ । तपाई हाम्रो सीधा सीधा भन्ने र गर्ने भन्ने बानी हुन्छ । यहाँ राजनीति गर्नेहरु भन्ने एउटा, गर्ने अर्को । कता कता हो, कता कता हो । बुझिनसक्नु । दशतिर गरेको देख्दा तनावै तनाव हुन्छ अहिले ।

दुुःख पाएको कुरा गर्नु हुन्छ भने मैले अहिले धेरै नै दुःख पाएको छु । जनयुद्धका बेलामा ज्यानको खतरा थियो, साथीहरुको ठूलो क्षति हुन्थ्यो, त्यसले पीडा दिन्थ्यो । तर, त्योबेलामा बैठक बस्यो, योजना बनायो र तलसम्म सम्प्रेषण गर्‍यो । कामहरु भइरहेको हुन्थ्यो । पार्टी भनेको कस्तो थियो भने एकले अर्कालाई असाध्यै माया गर्ने । लिडरसिपप्रति जनता र कार्यकर्ताको असाध्यै श्रद्धा । लिडरहरुलाई जनता कार्यकर्ताहरु आफ्नै परिवारका सदस्यभन्दा नजिक लाग्ने । भावनात्मक थियो ।

हिजो जंगलमा होइन, जनताको बीचमा रहेछौं । काठमाडौं आएपछि यो काठमाडौंको जंगलमा हराइएको छ भन्ने अनुभूति हुन्छ । कता हो कता, बुझिनसक्नु जंगलजस्तो लाग्छ ।

हामीलाई हिजो जंगलमा भन्छन्, त्यो जंगल होइन, जनताको काख थियो । एकअर्कामा कलेक्टिभ भावना, प्रेम माया, अर्कै उचाइमा थियो । त्यो अर्कै आनन्द थियो । तर, यसको अर्थ आनन्द थियो भनेर त्यही गर्ने भन्ने होइन । इतिहासले, वस्तुगत आवश्यकताले राष्ट्रको आवश्यकताले नयाँ-नयाँ गर्नुपर्ने बाध्यता नेतृत्वलाई हुँदोरहेछ । त्यसकारण जे गरिएको छ, मूलरुपमा गल्ती गरिएको छ भन्ने लागेको छैन । स्पेटहरुमा केही गल्ती भएको छ ।

व्यक्तिगत फिलिङकै कुरा गर्नुहुन्छ भने त्यतिबेला मलाई धेरै राम्रो थियो । जे खाए पनि गाउँघरमा फ्रेस खाइन्थ्यो । भात पनि कति मीठो । यहाँ आएपछि जे पनि नमीठो ।

तर, अब यो ८ वर्ष लामो वार्ता र छिनाझप्टीचाहिँ १० दिन मात्रै बाँकी होला कि ? किनभने फागुन १६ पछि समानान्तरसरकार बनाउने अवस्था आउँछ भनेर तपाईले नै कडा अभिव्यक्ति दिइसक्नुभएको छ । अब सत्तापक्ष सहमतिमा आएन भने आफ्नै जनसरकार बनाउने भन्ने हो ?

– त्यसरी नै त भन्न हुँदैन । मेरो विचारमा यो छिनाझप्टी संवैधानिक रुपमा तीन वर्ष जान्छ ।

एमालेले बहुमतबाटै पेलेर लान खोज्यो भने पुरानो जनसत्ता ब्युँझाउने भनेको होइन । पुरानो जनयुद्ध ब्युँझाउने भनेको पनि छैन । यो कुरा कहिँकतै कन्फ्यूजन नहोस्, हामीले शान्तिपूर्ण ढंगले र बैधानिक ढंगले मैले मैले स्पष्ट ढंगले भन्ने गरेको छु, नै हामीलाई अर्को हामीलाई अर्को सरकार बनाउने बनाउने अधिकार प्राप्त हुन्छ भनेको छु ।

किनभने, उहाँहरुले शान्ति सम्झौतालाई लत्याउनुभयो भने, उहाँहरुले अन्तरिम संविधानको मर्म र भावनालाई उल्ट्याएर चिजलाई तथाकथित संसदीय बहुमत प्रयोग गरेर लान खोज्नु भयो भने त हामी शान्ति सम्झौता र अन्तरिम संविधानको रक्षक, त्यसको संरक्षक हामी हुन आइपुग्छौं ।

हामीलाई सरकार घोषणा गर्ने अधिकार हुन्छ भनेर भनेको छु मैले । र, यो ममात्रै होइन, ३० दल, अझ कति दल होला, बाहिर पनि भएको बैद्यजीहरु होला, अरुलाई पनि समेटेर सरकार बैधानिक ढंगले भनेको छु मैले ।

र, मैले यो पनि भन्ने गरेको छु, तपाईहरुले पक्कै नोट गर्नुभयो होला, राष्ट्रसंघले हामीलाई समर्थन गर्नुपर्ने हुन्छ, यो हो बैधानिक सरकार भनेर ।

संविधानसभा अनिश्चितकालका लागि स्थगित भइसकेपछि वार्ताको वातावरण पनि त बनिराखेको छ होइन र ?

– अब हिजो नागरिक आन्दोलनका केही ब्यक्तित्वहरु आदरणीय ब्यक्तित्वहरु हुनुहुन्छ, समाजमा । उहाँहरु आउनुभयो । उहाँहरुबाट पनि वार्ता संवादबाटै सहमतिबाटै संविधान बनाउनुपर्यो भनेर  निकै जोड दिएर मलाई कुरा राख्नुभयो । तपाईले नै पहल गर्नुपर्यो भन्ने कुरा पनि उहाँहरुले आफ्नो भाषामा राख्नुभयो । मैले भने हामी त सहमतिबाटै होस् भन्ने हो, वार्ताबाटै होस् भन्ने हो, हामीले वार्ता छोड्यौं अब आउन्नौं भन्या पनि होइन । सहमतिबिना हुँदैन भनेको पनि होइन ।

 उत्पीडितहरुको पहिचान र अधिकार पनि स्थापित हुने गरिकन हो भन्यो भने त ६ देखि १० प्रदेशभित्र कुनैमा पनि छलफल गरेर  ३० दल  र जनजातिलाई पनि म कन्भिन्स गर्न सक्छु

अर्को कुरा संविधानसभा हामीले छोड्यौं भनेको पनि होइन । तर संविधानसभाबाट हामीलाई धकेलियो । संविधानसभाको ढोकामा चाँही एउटा भोटेताल्चा लगाइदिएको छ हाम्रा लागि । हाम्रो कुनै पनि कुरा लागू हुन्न भनेर फड्के किनाराको साक्षी मात्रै भएर बस्ने त माओवादी या मधेसवादी, जनजाति, महिला या साना पार्टीहरुको त होइन भनेर हामीले भनेपछि उहाँहरुको तयारी के थियो भने हिजो संविधानसभाबाट १० दिनका लागि स्थगित गर्ने भन्ने थियो । मैले भने कि यो दिन तोकेर स्थगित गरियो भने एक दिन पनि वार्ता पनि हुँदैन केही पनि हुँदैन ।

किनभने त्यसको बाटोमा तरबार त झुण्डिराखेको हुन्छ । १० दिन पछि त उहाँहरुले उही गर्नु हुन्छ भनें मैले । अनि उहाँहरुकै अगाडि तपाईहरुले यहिँबाट फोन गरिदिनुपर्यो भनेर उहाँहरुले भन्नुभयो, मैले केपी ओलीलाई फोन गरें, प्रधानमन्त्रीलाई फोन गरें । मैले भने वातावरण बनाउन दुईटा कुरा होस् ।

यो कुरा एउटा प्रष्ट होस्, यहाँ भ्रम पर्न सक्ने खतरा छ । प्रचण्डलाई के गरी एक्सपोज गर्ने भन्नेतिर त सारा लाग्या बेला छ । मेरो लागि बडो च्यालेन्जिङ अवधि छ । दुईटा कुरा हो, एउटा त समय तोकेर स्थगित गर्नुको केही अर्थ हुँदैन । तपाईँ यो प्रक्रिया रोक्नुस् । अनिश्चितकालीन रोक्दा त्यसले एउटा सन्देश हुन्छ कि अबचाँहि केही सम्भावना पैदा भयो भन्ने हुन्छ । भने उहाँ थोरै हिच्किचाहटसहित ल ठिकै छ म सोध्छु, म सल्लाह गर्छु भन्नु भो । प्रधानमन्त्रीलाई भनें, उहाँको पनि त्यही हिच्किचाहटसहित ठिकै छ, हामी विचार गर्छम् मात्रै भन्नुभो । पछि मैले सुनें कि उहाँहरुले अनिश्चितकालीन नै स्थगित गर्नुभएछ, त्यसलाई मैले सकारात्मक मानेको छु । दिन तोकेको भए त्यो हुनेवाला केही पनि थिएन । दिन नतोकि स्थगित गर्दा त्यो एउटा सकारात्मक सन्देश हो भन्ने मलाई लागेकै छ । त्यसका लागि मैले प्रधानमन्त्रीलाई विशेष रुपले धन्यवाद पनि दिन चाहन्छु ।

अब वार्ता गरे भयो नि त उसोभए ?

– तर, यत्तिले भइहाल्यो भन्ने चाहिँ होइन । त्यसका साथै मैले दोस्रो पोइन्ट चाहिँ शान्ति सम्झौता र आन्दोलनका सहयात्रीको सहमतिले नै संविधान बनाइन्छ भन्ने कुराको प्रतिवद्धता पनि प्रष्ट शब्दमा हुनुपर्‍यो । यो दुईटा कुरा भएपछि वार्ताबाट सहमति हुन्छ भनेर भनेको हो । एउटा चाहिँ उहाँहरुले राम्रो गर्नुभयो । अब सहमतिबाट संविधान बन्छ भनेर मात्रै तपाईहरुको पूर्ण वातावरण बन्छ र अगाडि जान्छ । होइन, त्यो कुरालाई उहाँहरुले सुनिनिश्चित गर्नु हुन्न भने हामीले हाम्रो आन्दोलन जो अगाडि बढ्दै छ, त्यो आन्दोलनमा भ्रम सिर्जना गर्नको निम्ति मात्रै खेल खेल्या हो कि, भन्ने आशंका रहिराख्छ । त्यो आशंका उहाँहरुले मेटाइदिनुपर्छ ।

कतिपय नेताहरुलाई लौ हेग पुर्‍याइन्छ, कतिपयलाई जेल हालिन्छ, मुद्दा लाग्छ भनेर पनि तर्साउन खोजिराखेका छन् । उनीहरुले त्यसो गरे भने त्यो उनीहरुकै निम्ति काल हुन्छ ।

आज मेरो प्रधानमन्त्रीसँग भेट हुँदैछ, एकछिनपछि । म त्यो कुरा उहाँसँग गर्दैछु । हिजो तपाईले सकारात्मक नै कुरा गर्नुभयो यो अनिश्चितकालिन स्थगित गरेर, यसलाई एक स्टेप अगाडि आएकै ठान्छौं । ठीक छ, अब तपाईले मलाई भन्नुपर्‍यो या, जनतालाई पनि भनिदिनुपर्यो, अब चाहिँ हिजोका सहमति, सम्झौताहरु आन्दोलनका सहयात्रीसँग सहमतिबाटै गइन्छ, दायाँबायाँ हुँदैन भन्ने कुरा आश्वस्त पार्नुभयो भने हुन्छ । होइन भने त अनौपचारिक कुराकानी त चलिराख्छ । तपाईँसँग भेट पनि भयो । यो पनि वार्ता नै हो । तर चाहिँ आन्दोलन रोकेर वार्ता भन्ने चाँहि हुन सक्दैन । तपाईले सहमतिबाट संविधान सुनिश्चित नहुँदासम्म । त्यो जनताले थाहा पाउनुपर्‍यो । सहमतिबाटै हुन्छ भन्नेमा म आशावादी नै छु ।

सत्तापक्षबाट सहमतिको प्रतिवद्धता आयो भने अब सहमतिको आधार के हुन्छ ? तपाईहरु ६ प्रदेश नजिक पुगिसक्नुभएकै थियो, शासकीय स्वरुपमा ‘रिजर्भेसन’ थियो । अब बहुपहिचानमा आधारित ६ प्रदेशमा तपाई जनजातिलाई मनाउन सक्नुहुन्छ ?

Prachanda  (10)– हाम्रो ३० दलको चाहिँ के छ भने पहिचानमा आधारित १० प्रदेश चाहिँ हुनुपर्छ । यो कुरा सहमतिको विन्दु हो भनेर ३० दलले एकमतले भनेको छ । हामीले हिजो वार्तामा बस्दा ६, ७, ८, १० यो संख्या मुख्य कुरा होइन, मुख्य कुरा संघीयताको प्रकृति, चरित्र कस्तो हुने ? संघीयताजस्तो हुने कि भौगोलिक विभाजन या प्रशासनिक विभाजनजस्तो हुने ? नाम र साइनबोर्ड चाँहि संघीयता र त्यसको प्रकृति, गुदी र त्यसको सारतत्वचाँहि अञ्चलजस्तो हुने हो कि भन्ने मुख्य सवाल हो ।

मलाई के लाग्छ भने म यो सक्छु । ३० दलका साथीहरु, मधेस केन्द्रित दलका साथीहरु या अरु जनजातिलाई पनि म कन्भिन्स गर्न सक्छु, एउटा स्थितिमा कि अब त्यो संघीयता भनेको वास्तवमा उत्पीडितहरुको पहिचान र अधिकार पनि स्थापित हुने गरिकन हो भन्यो भने यो ६ देखि १० प्रदेशभित्र कुनैमा पनि छलफल गरेर हामी एक ठाउँमा आउन सक्छौं भन्ने विश्वास मलाई छ ।

तर, एउटा एकदम ध्यान दिनुपर्ने विषय यहाँ छ, यो माघ ५ गते भएको भए सहमति भइ नै सकेको थियो । ५ गतेको दिन प्रक्रिया बहुमतमा जाने कि सहमतिबाटै प्रक्रियालाई अगाडि बढाउने भन्ने बडो संवेदनशील दिन थियो । त्यसकारण मैले शासकीय स्वरुपमा ल भैहाल्यो त, यसमा हाम्रो रिजर्भेसन रहन्छ, तपाईहरुले प्रक्रिया अगाडि बढाउनोस्, हामी प्रक्रियालाई रोक्दैनौं भनिसकेपछि संघीयतामा विभिन्न अप्सनबारे मैले कुरा राखिसकेपछि माघ ५ गते दिनभरि त्यो ठूलो ऐतिहासिक अवसर थियो । मधेसकेन्दित दलहरुसँग पनि हाम्रो कुराकानी भइराखेकै थियो ।

तर, उहाँ (एमाले कांग्रेस) हरुले यतिसम्म दुख दिनुभयो नि देश र जनतालाई, अब हामी फेरि आन्दोलनको यतिसम्म आइपुग्यौं नि, अब त्यहीँ -माघ ५ मै ) गएर सहमति भइहाल्छ भनेर बुझ्न हुँदैन । अझै ढीलो गरियो भने अझ पर गइन्छ । त्यसकारण अहिले म यति नै प्रदेश भन्दिँन, १० प्रदेश हुनुपर्छ भन्ने हाम्रो भनाय हो, यसमा कांग्रेस र एमालेले सोच्नुपर्छ ।

वार्ता प्रक्रियामा तपाईहरुमा रहेको ‘फियर फ्याक्टर’ले पनि काम गरेको बताइने गरेको छ, तर, अब सहमतिमै सत्य निरुपण तथा मेलमिलाप आयोग बनेपछि तपाईहरुभित्र रहेको डर हरायो ?

एउटा कुरा के हो भने माओवादीलाई ‘प्रेसराइज्ड’ गर्न लिडरसीपलाई विभिन्न ढंगले हिजोका मुद्दा मामिलाहरुलाई देखाउने गरिएको छ । यतिसम्म कि शान्ति प्रक्रियामा क्यानटोनमेनमा जनमुक्ति सेनालाई बाँडिएको पैसालाई पनि आधार बनाएर लिडरसिपलाई मुद्दा लाग्न सक्छ, कतिपय नेताहरुलाई लौ हेग पुर्‍याइन्छ, कतिपयलाई जेल हालिन्छ, मुद्दा लाग्छ भनेर पनि तर्साउन खोजिराखेका चाहिँ छन् ।

अब यो तर्साएको मात्रै नभएर  साँच्चै गर्न पनि सक्छन् । उनीहरुका हातमा राज्य भयो भने उनीहरुले साँच्चै गर्न पनि सक्छन् भोलि । तर, हामी माओवादीहरु र मलाई लाग्छ नेपाली जनताले के कुरा बुझेको छ भने आजको यति ठूलो परिवर्तन माओवादीविना सम्भव हुँदैनथ्यो । शान्ति सम्झौतामा माओवादी लिडरसीपले गरेको त्याग लाखौं करोडौं जनताको मन मस्तिष्कमा र विश्वभरि त्यो स्थापित छ । त्यसकारण उनीहरुले त्यसो गरे भने त्यो उनीहरुकै निम्ति काल हुन्छ ।

हामी त यसै पनि एकचोटि मर्न हिँडेका हौं । कतिबेला मरिन्छ भन्ने कुराको कुनै टुंगो थिएन ।  हामी एउटा नयाँ प्रयोग गर्दै यहाँसम्म आएका छौं । प्रतिक्रियावादी, जालीफटाहा शोषक, डाकाहरुले हामीलाई गिरफ्तार गरेछन् भने ती डाका सावित हुन्छन् । त्यो त जनताका लागि, भावी पिँढीका लागि प्रेरणा हुन्छ भनेर हामी ढुक्क छौं । मान्छेले भन्छन् कि डरायो होला, केको डराउने ? हिजो बम बारुद माथि आकाशबाट दिनदिनै बसेको घरमा प्रहार गर्दा, दिनदिनै मुठभेड हुँदाखेरि नडराउनेहरु, यत्रो ठूलो प्रयोग गर्न नडराउनेहरुलाई प्रेसर छैन ।

तर, तपाईले सोधेको जस्तो एउटा वर्ग समुदाय, अभिजात वर्ग, यो देशमा सैयौं वर्षदेखि राज्य सञ्चालन गरेर लुटेर खाएको वर्गचाहिँ माओवादीलाई सिध्याउनका लागि मुद्दा मामिला इत्यादि गर्नुपर्छ भनेर लागेको लाग्यै, लागेको लाग्यै छ । त्यसलाई समर्थन गर्ने अन्तरराष्ट्रिय ठूला-ठूला शक्तिभित्रका पनि लबीहरु होलान् । जे भए पनि मलाई के लाग्छ भने यो सत्यनिरुपण आयोग जो बन्यो, बेपत्ता छानविन आयोग पनि बन्यो, यद्यपि शान्ति सम्झौता गर्दाखेरि ५ महिनाभित्र गर्ने भनिएको थियो । ६ वर्षभन्दा पनि बढी लागेर बन्यो ।

एउटा बिल (ऐन) पनि बन्यो यो चाँहि राम्रो कुरा लग्छ मलाई । हुन त हाम्रा वैद्यजीहरुले हामीसँग सल्लाह भएन त भन्नुभएको छ, उहाँहरुसँग सल्लाह हुनु पनि पर्थ्यो ।

तर, जे बन्यो यसले के गर्छ भने तथ्यहरु के हो भन्ने एक ठाउँमा केन्द्रित हुन्छ । त्यहााभित्र छलफल हुन सक्ला भोलि । तर, अहिले भर्खरै अर्को जस्केलाबाट वा चोर दुलोबाट छिर्न खोज्नेहरुलाई त्यहाँ ठाउँ रोकिएको छ । यसलाई सकारात्मकै मान्नुपर्छ ।

याे पनि पढ्नुहाेस्

ओनसरीको नेतृत्वमा ‘समानान्तर संविधानसभा’ चलाउने रणनीति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?