विष्णु रिजाल
गत ०६९ जेठ २ गते प्रमुख दलहरुका बीचमा जेठ १४ गते नयाँ संविधान जारी गर्ने गरी सहमति भएको थियो । त्यसले सबैतिर सकारात्मक वातावरण निर्माण गर्यो र अब मुलुकमा संविधान जारी हुने भयो भन्ने आशा पलायो । तर, भोलिपल्टै एमाओवादीले उक्त कुरालाई अस्वीकार गर्यो र लाजिम्पाटमा भेट्न पुगेका जनजाति अगुवाहरुसँग एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गुहार माग्नुभयो- ‘मैले पहिचानवादी संविधान बनाउन सकिनँ, तपाईंहरु सडकमा निस्किनुपर्यो ।’ फलतः परिस्थिति भाँडियो र संविधान बनाउन नसकेरै पहिलो संविधानसभाको दुःखान्त भयो ।
गत ०७१ माघ २ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुबीच नयाँ संविधानभाका विषयवस्तुहरुमा मोटामोटी सहमति भयो । निर्वाचन प्रणाली र न्याय प्रणालीका प्रश्नमा कांग्रेस-एमाले पछि हटे र एमाओवादीले भनेका ठाउँमा आइपुगे भने शासकीय स्वरुप र संघीयताका विषयमा एमाओवादी लचिलो बनेर कांग्रेस-एमालेको अडानप्रति सकारात्मक देखियो । बैठकको अन्तिममा एमाओवादी अध्यक्ष दाहाल ‘अहिले यो कुरा सार्वजनिक नगरौँ, म मोर्चाका नेताहरुलाई पनि कन्भिन्स गरेर आउँछु’ भनेर बाहिरिए । तर, जब उनी नाममात्रका पार्टीसहितको बैठकमा सहभागी भएर बाहिर निस्किए, अरुलाई कन्भिन्स गर्नुभन्दा बीचैमा आफैँ कन्भिन्स भइसकेछन् र कांग्रेस-एमालेका नेतालाई जानकारी दिए- ‘मैले सकिँन, मोर्चाका साथीहरुले मानेनन् ।’
त्यस्तै ०७१ माघ ५ गते विहान एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष दाहालबीच डेढ घन्टा सौहार्दपूर्ण कुराकानी भयो । शाकसीय स्वरुपमा एमाओवादीले ‘नोट अफ डिसेन्ट’ राखेर बाँकी विषयलाई अघि बढाउनेमा दुई नेताबीच कुरा मिलेको समाचार सार्वजनिक भयो । अहिले पनि ओली भन्दै छन्- ‘त्यस दिन निकै हार्दिक कुराकानी भएको थियो र विवाद सल्टिएको थियो ।’ तर, मध्यान्ह १२ बजे प्रमुख दलको बैठकमा पुग्दा नपुग्दै दाहालको बोली बदलियो र सहमति त परै जाओस्, साँझ तिनै ओलीको छातीमा ताकेर माइक हान्ने काम भयो ।
प्रचण्ड : पृथ्वीनारायणपछिका नेता
नेपालको राजनीतिमा पुष्पकमल दाहाल असाधारण नेता हुन् । वास्तवमा उनी युद्धका नेता थिए र शान्तिका पनि नेता भए । एकै व्यक्ति दुबै कालको नेता भएका दुनियाँमा विरलै उदाहरण छन् । पृथ्वीनारायण शाहपछि आफ्नै पौरखमा सैन्य शक्ति निर्माण गर्ने र त्यसका आधारमा लडाइँ लड्ने कामको अगुवाइ गर्ने एक मात्र नेपाली नेता दाहाल नै हुन् ।
पृथ्वीनारायण शाहले विजय हासिल गरे, दाहालले सम्झौतामा युद्धलाई बिसाए ।
यहाँनेर उल्लेखनीय अर्को कुरा के छ भने पृथ्वीनारायण शाहले चाहेको भए पनि सम्भवतः आफ्नो फौजलाई सजिलै विघटन गर्न सक्ने थिएनन्, कोही युद्ध सरदार निस्किन सक्थ्यो । तर, दाहालले सहजरुपमा पहिला हतियार बिसाए, त्यसपछि फौजलाई शिविरमा राखे, विस्तारै हतियार बुझाए । र, अन्तिममा आफ्नो फौज विघटन गराए ।
पार्टीभित्र एकछत्र पकड नभएको भए र दाहालमा असाधारण क्षमता नभएको भए यी सबै एकल निर्णयका आधारमा सहजरुपमा गर्न सक्ने थिएनन् ।
कम्युनिस्ट क्रान्तिका कुरा दाहालभन्दा अघिका धेरै नेताले गरेका थिए । कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ता आफ्नो दस्तावेजमा सशस्त्र क्रान्तिको रोमाञ्चक कथा लेख्दै सिध्दिँदै गरेका बेलामा दाहालले नेपालमा नयाँ प्रयोग सुरु गरेका थिए ।
परम्परागत कम्युनिस्ट दर्शनलाई पछ्याउनेहरुका लागि सशस्त्र संघर्ष अनिवार्य विषय हुन्छ । आज शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने कम्युनिस्ट पार्टीहरुले पनि कुनै न कुनै रुपमा राजनीतिमा बल प्रयोगलाई अस्वीकार गरेका छैनन् । युद्धमा भएका ज्यादति, राष्ट्रको क्षति, समयको बर्बादी र अन्तिम परिणामलाई एक ठाउँमा राखेर विश्लेषण गर्दा र नेपालको परिस्थिति हेर्दा माओवादी जनयुद्ध निरर्थक सावित भए पनि कम्युनिस्ट दर्शनका आधारमा दाहालले गरेको अगुवाइ कम साहसिक होइन ।
अहिलेका प्रचण्ड
तर, त्यसपछि ? त्यसपछि, दाहालले निरन्तर निर्णय क्षमता गुमाइरहेका छन् । साना-साना कुरामा पनि निर्णय गर्न सक्ने उनको क्षमता ह्रास भइरहेको छ । एकछिन अघि आफैँले गरेका निर्णयमा उनी अड्न सकिरहेका छैनन् । हिजो अरुलाई दिने ठाउँमा रहेका दाहालको हैसियत आज माग्ने ठाउँमा पुगेको छ ।

आज पनि पुष्पकमल दाहालले सकारात्मक भूमिका निर्वाह गर्ने हो भने तुरुन्तै संविधानका विवादित विषयमा सहमति बन्न सक्छ । राष्ट्रलाई दीर्घकालीनरुपमा आघात पुर्याउने जातीयताको नारा छाड्ने हो र मधेस जतिलाई एउटै प्रदेश बनाउनुपर्छ भन्ने विखण्डनकारी विचारबाट उम्किन सक्ने हो भने संविधान जारी गर्नमा कुनै समस्या छैन ।
पुष्पकमल दाहाल शान्ति सम्झौताका दुईमध्ये एकमात्र जीवित हस्ताक्षरकर्ता हुन् । हो, समयले उनको गालामा नराम्रो झापड हानेको छ, आज उनको हैसियत र आकार नराम्ररी खुम्चिएको छ । तर, अझै बुद्धि पुर्याउन सक्ने हो र संयमतापूर्वक कदम चाल्ने हो भने लडेको ठाउँबाट उठेर धूलो टक्टक्याउने समय बाँकी नै छ ।
आज पुष्पकमल दाहालले न आफूलाई चिन्न सकेका छन्, न परिस्थितिलाई चिन्न सकेका छन् । संविधान निर्माणमा उनी जति दिन ढीला गर्छन्, त्यति उनको व्यक्तित्व बाउन्ने हुन्छ ।
संविधान निर्माणका सवालमा प्रचण्डले जेजस्ता अडान लिएका छन्, ती राष्ट्रका हितमा छैनन्, नेपालीका हितमा छैनन् । नेपाली जनमतले यी कुरा मन पराएको छैन । यस्तै अडानका साथ अर्को चुनावमा जाने हो भने अहिले हासिल गरेभन्दा पनि खराव अवस्था उनको हुने लक्षण देखिँदैछन् ।
त्यति ठूलो नेतृत्व र निर्णय क्षमता राख्ने दाहाल आज किन निरीह बनेका छन् ? उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादवसँग सोधेर निर्णय गर्नुपर्ने अवस्थामा उनलाई कसले पुर्यायो ? यी महानुभावहरुको इपिसेन्टर कहाँ छ ? दुनियाँलाई थाहै छ ।
आर्थिक, भौतिक र राजनीतिक रुपमा दाहालले सम्भवतः आफूलाई यति धेरै असुरक्षित महसुस गरिरहेका छन् । इतिहासको एउटा निर्मम सत्य सबैले महसुस गर्नुपर्छ, सबै नेताको प्रभावकारिता सधैँभरि एकैनाशको हुँदैन । पार्टीबाहिर त के, भित्रै पनि बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यकारी अवस्थामा उनी जुन दिन पुगे, त्यही दिन थाहा भइसकेको थियो- उनी कुन जालमा कसरी फँसिरहेका छन् ? अझ त्यसभन्दा अघि उनले जनआन्दोलनका सहयात्री कांग्रेस-एमालेलाई चकित पार्दै रामराजाप्रसाद सिंह जस्ता रहस्यमय व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको देख्दा उनको दुःख बुझ्न सकिन्थ्यो ।
राजनीतिमा विश्रृंखला शुरु भयो भने त्यसका बहुआयामिक असर अन्यत्र पनि पर्न थाल्छन् । अनि एकातिर आन्दोलनको घोषणा हुन्छ, अर्कोतिर ल्हाक्र्याल लामाहरु सतहमा देखा पर्दछन् । यस्ता मजाकले राजनीतिक नेतृत्व कसरी आर्थिक र राजनीतिक संकटको भूमरीमा फँसेको रहेछ भन्ने देखाउँछ ।
इतिहासले दिने मौका
इतिहास हेर्दा थाहा हुन्छ, एउटै व्यक्तिलाई समयले पटक-पटक मौका दिँदैन । पुष्पकमल दाहालका लागि अझै पनि समय बाँकी छ । रातारात उम्रिएका र आफैँ उभिन नसक्ने मधेसी दलहरुको बैशाखी टेकेर उनी दुर्घटनामा बाहेक अन्यत्र पुग्न सक्दैनन् । त्यसैले जतिसक्दो छिटो यस यात्रालाई स्थगन गरेर उनले कांग्रेस-एमालेसँग वार्ता थाल्नुपर्छ ।
वार्ताका लागि वक्तव्य वा आश्वासन केही चाहिँदैन, विषयवस्तुमा ठोस कुरा हुनु महत्वपूर्ण कुरा हुन्छ । त्यसबाट राम्रो परिणाम निस्कियो भने निःसन्देह एकजना प्रमुख हिस्सेदार दाहाल स्वयम् हुनेछन् । किनभने, भोलि संविधान बन्दा त्यसको श्रेय चित्रबहादुर केसी वा विश्वेन्द्र पासवानलाई होइन, सुशील कोइराला र केपी ओलीहरुसँगै पुष्पकमल दाहाललाई नै जानेछ ।
पुष्पकमल दाहालले आफूलाई जति छिटो केही आन्तरिक र बढी बाह्य जालबाट बाहिर निकाल्छन्, त्यति छिटो राष्ट्रले निकास पाउनेछ । त्यसबाहेकको निकास राष्ट्रका लागि थप पीडादायी र महंगो हुनेछ ।

प्रतिक्रिया 4