Comments Add Comment

सुनसरी-मोरङको विद्युत पथ्लैया पुर्‍याइएकोमा आपत्ति

ध्रुव भट्टराई

४ फागुन, बिराटनगर । काठमाडौंमा यतिबेला झापा मोरङ र सुनसरीलाई कुन प्रदेशमा राख्ने भन्ने विवाद छ । यहीबेला बिराटनगरका उद्योगी व्यवसायीले भने २५ मेगावाट बिजुली ढल्केबरको केन्द्रीय प्रसारण लाइनमा जोडिएको भन्दै राज्यसँग आपत्ति जनाएका छन् ।

energy-transmissionसप्तकोशीपूर्वको विद्युत पश्चिमतर्फ लैजाँदा आफ्ना उद्योग धन्दा धरासायी बनेको भन्दै बिराटनगरका उद्योगपतिहरुले राज्यसँग भनेका छन्, कि पर्याप्त बिजुली देऊ, होइन भने क्षतिपूर्ति देऊ ।

विद्युत प्राधिकरणले भारतबाट ल्याइएको पूर्वीप्रसारण लाइनको विद्युत ढल्केबरस्थित केन्द्रीय प्रसारण लाइनमा जोडेपछि सुनसरी-मोरङ औद्योगिक कोरिडोरका उद्योगहरुमा उर्जा संकट चुलिएको व्यवसायी बताउँछन् । यो कार्यबाट सुनसरी मोरङका उद्योगहरुमा ऊर्जा समस्या चुलिन पुगेको बिराटनगरका व्यवसायीले अनलाइनखबरसँग गुनासो गरे ।

भारतको कटैयाबाट ल्याइएको विद्युत प्राधिकरणले गत मंसिरमा ढल्केबरस्थित केन्द्रीय प्रसारण लाइनमा २५ मेगावाट विद्युत जोडेको थियो । तर, कटैयाबाट ल्याइएको विद्युत सप्तकोशीपूर्व मात्रै प्रयोग गर्ने मोरङ व्यापार संघ र उद्योग संगठन मोरङसँग प्राधिकरणले सहमति गरेको व्यवसायी बताउँछन् ।

प्राधिकरणले यो सहमति तोडेर २५ मेगावाट विजुली केन्द्रीय प्रसारण लाइनमा मिसाएको व्यवसायीहरुको तर्क छ ।

सहमति विपरीत कोशी पश्चिम विद्युत दिनुलाई व्यवसायीले ‘उद्योगधन्दा धरासायी बनाउने नियत’ भनेका छन्

कोशीपूर्वको औद्योगिक कोरिडोर क्षेत्रमा ९० मेगावाट विद्युत आवश्यक पर्ने भए पनि मागको अनुपातमा यस क्षेत्रमा प्राधिकरणले ५२ मेगावाट मात्रै विद्युत दिँदै आएको उद्योगी बताउँछन् ।

जनेरेटरबाट सञ्चालन गर्न नसकिने ठूला उद्योगका लागि आवश्यक विद्युत पुग्न नसकेको समयमा प्राधिकरणले सहमति विपरीत कोशी पश्चिम विद्युत दिनुलाई व्यवसायीले ‘उद्योगधन्दा धरासायी बनाउने नियत’ भनेका छन् ।

‘विद्युत संकटका कारण उद्योग धन्दा दिनप्रतिदिन धरासायी बनिरहेका अवस्थामा राज्यले प्रोत्साहन गर्नुको साटो उद्योग व्यवसायलाई थप मारमा पार्ने काममा अघि बढेको महसुस गरेका छौं,’ उद्योग संगठन मोरङका उपाध्यक्ष मुकेश उपाध्यायले  अनलाइनखबरसँग भने ।

उपाध्यायका अनुसार अहिले पनि औद्योगिक कोरिडोर क्षेत्रमा प्रसारण लाइन, ग्रेड र सब स्टेशनमा गडबडीका कारण पर्याप्त भोल्टेज प्रवाह नहुँदा उत्पादन नै ठप्प हुने अवस्था छ । उनका अनुसार भोल्टेज प्रवाहमा घटबढ भइरहँदा ठुल्ठुला भट्टी सञ्चालन गरेर निरन्तर समान तापक्रम कायम गर्नुपर्ने उद्योगहरु सबैभन्दा बढी प्रभावित छन् ।

फलाम, वनस्पति घिउ र प्लाष्टिक उद्योगलाई उच्च भोल्टेजमा निरन्तर विद्युत आपूर्ति आवश्यकता पर्छ । तर, भोल्टेजको उतार-चढावले भट्टीमा आवश्यक तापक्रम कायम गर्न नसक्दा कच्चा पदार्थ र तयारी उत्पादन समेत बिग्रिएर ठूलो नोक्सानी व्यहोर्नु परिरहेको सभासद एवम् मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले बताए । उनले यसको क्षतिपूर्ति सरकारले दिनुपर्ने धारणा समेत राखे ।

‘मागको अनुपातमा विद्युत आपूर्ति पनि गर्न नसक्ने र विद्युतमा हुने गडबडी (ट्रिप खाने) समस्याले पिरोलिनुपरेको छ,’ उनले भने, ‘यस्तै अवस्था हो भने अब यसबाट हुने नोक्सानीको क्षतिपूर्ति राज्यले दिनुपर्छ ।’

पछिल्लो समय मंसिरदेखि सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा अत्यन्त न्यून भोल्टेज  विद्युत प्रवाह भइरहेको व्यवसायीको गुनासो छ ।

सुनसरी मोरङको औद्योगिक कोरिडोरमा आरती स्ट्रिप्स, हुलास टिएम टी, हेटौडा आइरन, मैनावतीलगायत खाद्यान्न, कपडा र प्लाष्टिकका साथै फलामजन्य वस्तु उत्पादन गर्ने ५० भन्दा बढी ठूला उद्योग छन् ।

प्राधिकरण भन्छ- भारतमा प्रसारण लाइन अपग्रेड हुँदैछ

उता विद्युत प्रधिकरणले भने भारतमा प्रसारण लाइन मर्मत भइरहकाले विद्युत आपूर्ति कम भएको स्पष्टीकरण दिएको छ ।

सब-स्टेशनको क्षमताभन्दा बढी विद्युत खपत भइरहेकाले ट्रिप खाइरहने समस्या आएको विद्युत प्राधिकरण दुहबी शाखा प्रमुख अफताव आलमले बताए ।

कटैया प्रसारण लाइनको तार अपग्रेड गर्ने काम भारतले शुरु गरेकाले केही महिनाबाट समस्या देखिएको उनको भनाइ छ ।

पूर्णियादेखि कटियारसम्म तार अपग्रेडिङ गर्ने काम भएकाले कोशीपूर्व १ सय मेघावाट विद्युत मात्र आयात भइरहेको आलमले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment