काठमाडौं। लोक आधुनिक गीत मार्फत स्रोतालाई मनोरञ्जन दिंदै आएकी गायत्री थापा अहिले गीत मार्फत आफ्नो जन्म गाउँ चिनाउने अभियानमा छिन् ।
‘गुल्मी लाने हो…’ एल्बम लिएर आएकी थापाले यस गीतमा लोकभाकामा गुल्मीका केही ऐतिहासिक र पर्यटकिय क्षेत्रको चर्चा गरेकी छिन् । ‘आफु जन्मेको गाउँ-ठाउँको वारेमा केही गरौं भनेर गीत बनाएँ ।’ अनलाईनखबरसंग कुरा गर्दै गायत्रीले भनिन् ।
सानै छँदा बसाई सरेकी
स्कुलवाट बटौली झरेकी
गुल्मी जाने हो, बटौली छाडेर गुल्मी जाने हो
भन त मायाले कहिले लाने हो …
भिडियो
गायत्री र मेक्सम खातीको स्वर रहेको यो गीतको सम्पूर्ण सुटिङ गुल्मीकै विभिन्न रमणीय स्थानमा गरिएको छ । धुर्कोट गुफा, रिरी क्षेत्र, सिद्ध बाबा लगायतका महत्वपूर्ण स्थानमा तीन दिन सुटिङ गरिएको थियो । भिडियोको निर्देशन गायत्री आफैले गरेकी थिईन् ।
गुल्मीको इश्माडोलीमा जन्मेकी गायत्री काठमाडौ बसेपछि गाउँ-ठाउँको प्रचारको वारेमा सधै चिन्तित रहेको धारणा राख्छिन् । ‘आफ्नो ठाउँ चिनाउन भिडियो बनाएँ, मेरो भिडियो हेरेपछि धेरैले अब सुटिङ गर्न गुल्मी जान्छौं भन्नु भएको छ ।’ गायत्रीले भनिन् ।
दुई सयको हाराहारीमा लोक र आधुनिक गीत लेखेकी गायत्री पछिल्लो समय आफै गाउन समेत थालेकी छिन् । उनको शब्द रहेको दुईवटा आधुनिक एल्बम छिट्टै बजारमा आउने जानकारी दिईन् ।
शिब दर्शन डिजिटल सेन्टरले बजारमा ल्याएको यो एल्बम हेरेर विदेशमा बस्ने गुल्मीवासीले समेत राम्रो प्रतिक्रिया दिएको धारणा राख्ने गायत्री अहिले उत्साहित छिन् ।