Comments Add Comment

‘महेश बस्नेतज्यु, चरीहरुको पछि लागेर नहिँड्नुस्’

दिलु पन्त, उपाध्यक्ष, युवा संघ

Dilu-pabta

एमालेको भातृ संगठनमा दिलु पन्तकै कारण लफडा भयो, हैन ?

मेरो कारणले लफडा भएको होइन । महेश बस्नेतलगायतले गर्दा हो । हामीले न्यायमात्रै खोजेका हौं । अन्यायमा परेपछि न्याय खोज्नु स्वभाविक हो । अन्याय परेकै कारणले विवाद भएको हो ।

केमा अन्याय पर्‍यो ?

युवा संघभित्र आठौं महाधिवेशनपछि धेरै अन्यायहरु भएका छन् । संविधान बनोस् त्यसपछि पार्टीले नयाँ ढंगबाट सोच्नेछ र त्यसपछि कुरा उठाउँला भनेर हामी चुप लागेर बसिरहेका थियौं । तर, संविधान पनि बनेन, युवा संघ पनि सच्याउला भन्दा झन् नकारात्मकतातिर गयो । त्यसैले हामी बोल्नैपर्ने स्थितिमा पुग्यौं र बोलेका छौं ।

महेश बस्नेत मन्त्री भइसकेपछि निरु पाललाई अध्यक्ष बनाएकोमा तपाईको असन्तुष्टि हो ?

एउटा त्यो पनि हो । किनभने म सिनियर पनि हो, युवा संघभित्र । महेशजी मन्त्री हुनुभो । हामीले सफल हुनुहोस् भनेर शुभकामना दिनु छँदै थियो । तर, त्यो ठाउँमा पुगेपछि उहाँले आफू पनि टिकै लगाएर आएको हो, अरुलाई पनि टिकै लगाइदिनुपर्छ भनेर सोच्नुभो ।

मन्त्री भएकै दिन उहाँले के भन्नुभयो भने मेरो अल्टरनेटमा मेरो कार्यवाहक नहुञ्जेल मेरो पक्षको, मेरो विचार समूह, मेरो गुटको निरु पाल भएको हुनाले उसैलाई दिन्छु, तर म आएका बेला म नै अध्यक्षता गर्छु भन्ने कुरा उहाँले गर्नुभयो ।

कतिपय ठाउँमा कस्तोसम्म भयो भने युवा संघका अध्यक्ष महेश बस्नेतलाई आसन ग्रहण गर्नका निम्ति भन्ने अनि कार्यवाहक अध्यक्ष निरु पाललाई आसन ग्रहण भन्ने । दुईजना अध्यक्षलाई अतिथि बनाएर पनि कार्यक्रम चलाएका छन् । हाम्रो युवा संघमा यस्तो अभ्यास पनि भयो ।

अस्ति २१ गते बैठक भयो, उहाँहरुले त केसम्म भने अध्यक्षले राजीनामा दिएर आफ्नै राजीनामा स्वीकृत गरेर आफ्नै अध्यक्षतामा खाली भएको सिट भनेर आफैले खादा लगाएर आफ्नो ठाउँमा अध्यक्ष चुन्ने अधिकार उहाँलाई थिएन । उहाँ त राजीनामा दिएको ब्यक्ति हो नि त । उहाँको मत काउन्ट हुन्छ कि हुँदैन ? त्यो पनि मेरो प्रश्न हो ।

उहाँले तटस्थ त छोडिदिनुस्, राजीनामा दिएको भनेर आफ्नै अध्यक्षतामा राजीनामा स्वीकृत पनि गर्ने, अनि आफैंले अध्यक्ष मनोनित पनि गर्ने, उहाँहरुलाई अधिकार छ ? छैन । यो कानूनतः पनि मिल्दैन र विधिले पनि मिल्दैन, मूल्य मान्यताले पनि मिल्दैन ।

तर, बहुमतले निरु पाललाई अध्यक्ष बनाएको होइन र ?

बहुमत कहाँ छ ? को हो बहुमत ? १७ जनाको हाम्रो पदाधिकारी थियो । अध्यक्ष चुन्ने अधिकार पदाधिकारीलाई छैन । वैधानिक अधिकार केन्द्रीय कमिटीको दुई तिहाइले दिनुपर्छ । त्यसकारण उहाँहरुले बहुमतको हवाला दिनको कुनै अर्थ छैन ।

महाधिवेशनले चुनेको अध्यक्षले राजीनामा दिँदा कहाँ दिने ? अर्को अध्यक्ष बनाउँदा प्रक्रिया थाहा पाउनुपर्‍यो । मन्त्री हुँ भनेर ठूला कुरा पनि गर्ने, अनि आफू बसेको संगठनमा पद्दतिको खिल्ली उडाउने ? उहाँ कहाँ हुनुहुन्छ ? एकपटक सोच्नुपर्‍यो उहाँले । उहाँलगायतका मान्छेहरुले सोच्नुपर्‍यो ।

तर, बहुमत छ कि छैन उहाँहरुसँग ?

होइन । बहुमत कसरी भयो भन्ने ? बहुमत अल्पमत भन्ने भएन । हामीले त्यो पनि गरेनौं । किनभने उहाँहरुले यही निर्णय भनेर हिँडेपछि यो कुरा हामी मान्दैनौं भनेर प्रक्रियामा असहमति जनायौं ।

कतिजना छन् युवा संघको केन्द्रीय समितिमा ?

महाधिवेशनबाट चुनिएको केन्द्रीय समिति १ सय ३५ जनाको हो । त्यतिबेला एउटा पनि मनोनित हुने छैन भनेका थियौं । केन्द्रीय कमिटी पनि मनोनित हुने छैन भन्दाभन्दै चारवटा बैठकसम्म आउँदा तीनपटक विधान चेञ्ज गरिएको छ । अहिले १८३ जनाको कमिटी भएको छ ।

त्यस्तै २१ सदस्यीय लेखा आयोगमा २७ जना मनोनित गर्दा कति प्रतिशत होला ? अनि हामी कहाँ छौं ? यसले हामीलाई कहाँ पुर्‍याउँदैछ ? महाधिवेशनमा किन नक्कली कुरा गर्ने हामीलाई ? त्यतिखेर नै २७ जना प्लस गरेको भए, त्यही नै विधिवत हुन्थ्यो नि त ।

अनुशासन आयोग पनि बनाएका छौं हामीले । ११ जनाको अनुशासन आयोग थियो, १७ जना मनोनित गर्दा कति प्रतिशत मनोनित हुन्छ ? मनोनितले नै निर्वाचितलाई कारवाही गर्ने अवस्था आयो । त्यसो गर्ने हो भने निर्वाचितहरु नै पाखा लाग्ने, मनोनितहरुले कारबाही गर्ने कुरा भयो ।

विधानलाई उहाँहरुले जे मन लाग्यो, त्यो पुछ्ने टालोजस्तो बनाइदिनुभएको छ । पदाधिकारी चयनजस्तो कुरालाई हल्कारुपले हेर्नुभएको छ ।

तपाईँसँग त मान्छे नै छैनन् रे, कतिजना केन्द्रीय सदस्य छन् तपाईँसँग ?

मान्छे छैनन् भने यी के हुन् त ? म त्यत्तिकै एक्लै कराइरहेको छु ? प्रेस विज्ञप्ति जारी गर्दा साथीहरु राखेर गरेको छु । बैठक बोलाएको छु काठमाडौमा । एकजनाले मिटिङ हुन्छ ? मसँग पर्याप्त बोल्न सक्ने, पर्याप्त राजनीति गर्न सक्ने, एकदम क्रिम फोर्स मसँग छ । युवा संघको पूर्ण राजनीतिलाई डोर्‍याउन सक्ने शक्ति छ । पदाधिकारीमै सात जना छन् । उपाध्यक्ष, पाँच सचिव, पाँच पाण्डव हुनुहुन्छ । उहाँहरुले खेताला ल्याएर देखाउने । हामीसँग खेताला ल्याउनुपर्ने स्थिति छैन ।

केपी, माधव, झलनाथ सबै मिलेका बेला दिलुले किचलो गरी भन्ने आरोप छ नि अहिले एमालेमा ?

नेताहरुको विवेक छैन र ? बन्दी छन् र विवेक प्रयोग गर्न ? नेता कमरेडहरुले बुझ्नुभा’छैन र ? मैले उठाएको कुरा न्यायसंगत छ । उहाँहरु पनि सुन्न बाध्य किन हुनुभयो ? नेताहरु माथि मिलेको जस्तो हो भने यहाँ पनि मिलाउनु न त । नेताहरु बसेर मिलाउनुस् । यो प्रक्रिया फिर्ता लिन भन्नुस्, हामीले मान्दिन्छौं ।

तपाईको झगडा पदमा मात्रै हो कि नीति सिद्धान्तमा पनि ? युवा संघमा बेलाबेलामा डनको पनि चर्चा हुन्छ,  किन ?

हामी जिल्लामा गइरहेका हुन्छौं, त्यहाँ पाखुरा देखाउने कुराहरु हुन्छन् । स्कटिङ गर्ने भन्दै पेट्रोलपम्पमा तेल माग्ने गरिन्छ । युवा संघमा कस्ता मान्छेहरु प्रवेश गरे ? कोको मान्छेहरुले कहाँकहाँ गएर टीका लगाए ? टीका लगाउँनैपर्छ त ती अपराधीलाई ? अपराधीहरु पनि छन् हाम्रो संगठनभित्र ।

भन्न मिल्छ ? को हुन् त्यस्ता अपराधी ?

सुजन पौडेलको कुरा आएन रामेछापमा ? राज्यले अपराध करार गरेको मान्छे होइन ? अनि युवा संघको नेता हुन सक्छ ? अनि युवा संघलाई हेर्ने दृष्टिकोण के हुन्छ ?

डन पनि कस्ता कस्ता हेर्नु न, हप्ता असुलेर खान्छन् । के युवा संघ हप्ता असुलेर खाने हो ? जनताको जनजीविकाको कुरा कसले गर्ने ?

त्यस्ता प्रवृत्ति बोकेका मान्छेहरु, बलात्कारीहरु, चोर, फटाहाहरु, हप्ता उठाएर खानेहरु हाम्रो युवा संघमा हुन सक्दैनन् ।

तिनीहरुलाई संरक्षण गर्ने संगठन हाम्रो युवा संघ हुन सक्दैन । त्यस्ता मान्छेहरुलाई मैले प्रश्रय दिन्न ।

तर, तपाईकै पक्षमा भएका राजु गुरुङ, अर्जुन गुरुङहरु कस्ता मान्छे हुन् ? उनीहरु डन हैनन् ?

राजु गुरुङ संघकै उपाध्यक्ष हुनुहुन्छ । यदि उहाँ डन हो भनेर उहाँहरुले पुष्टि गर्नुपर्‍यो नि । त्यसो भन्ने मान्छेहरुले उहाँलाई कारबाही गर्नुपर्‍यो नि । उहाँ संघको उपाध्यक्ष हो, अहिलेसम्म किन भन्नुभएन ? उहाँ जितेर आएको कमरेड हो ।

अर्जुन गुरुङ महेश बस्नेतको गाडी चलाउने, महेश बस्नेतले बोकेर हिँडेको मान्छे । सकेसम्म उपयोग गरिसकेपछि, उहाँहरुलाई सेवा गर्न पुगेपछि अहिले उहाँहरुले फाल्नुभएको हो । उहाँहरुलाई जतिसक्दो उपयोग गर्नुभयो र अहिले किन फाल्नुभयो ? यो मलाई थाहा छैन ।

तपाईले युवा संघमा आर्थिक पारदर्शिताको कुरा पनि उठाउनुभएको हो ?

साउथ अफ्रिकादेखिको अहिलेसम्मको हिसाब-किताव क्लियर भएको छैन । अस्ति नर्वेजियन एम्बेसीकै कुरा आइरहेकै थियो त मिडियामा । हामीले के बोल्नै नहुने ? मिडियामा आएको कुरा के हो भन्ने अधिकार छैन हामीलाई ?

अहिलेसम्म लहान महाधिवेशन र बुटवल महाधिवेशनदेखि लिएर अहिलेसम्मको अ.ल्या. देखाउनुपर्छ कि पर्दैन हामीलाई ? देश चलाउनेहरु पारदर्शी हुनुपर्छ कि पर्दैन ?

एउटा ब्यापारीले पैसा कमायो भने उसको सफलता होला । तर, नेताहरुले पैसा कमाए भने त हामीले सोच्नुपर्‍यो नि ।
तर, महेश बस्नेतले संगठन सुध्रिइसकेको बताएका छन्….

सुध्रिनु भएको भए उहाँलाई शुभकामना छ । उहाँ डनभन्दा पनि डनको पक्षपोषण गर्ने मान्छे हो । आफू सुध्रिने, अरुलाई डन बनाउने कामचाँहि गर्नुभएन उहाँले ।

आफूचाँहि सुध्रिने, सुध्रिएको देख्ने, सुकिलो कुरा गर्ने, अनि अरु सबैलाई फोहोरी बनाउने कुरा चाँहि राम्रो हुँदैन । अरुलाई पनि सच्चाउनुस्, त्यस्ता मान्छेहरुलाई नबोक्नुस् भन्ने हो ।

तपाई यस्तो कुरा गर्नुहुन्छ, तर चरी मारिँदा माधव नेपाल पक्षकै नेता राजेन्द्र पाण्डेले संसदमा चरीको पक्षमा बोलेका हैनन् ?

Dilu-pabta-400चरीलाई डन कसले बनायो भन्ने कुरा हामीले सोच्नुपर्छ । डन बनाउने को हो ? हामीले त्यहाँबाट खोजौं । मरेपछि मानवताको कारणले नेताहरुले कुरा उठाउनुभएको होला । किन मारियो भन्ने कुरा नेताहरुले आम चर्चाको विषय भएकाले उठाउनुभएको होला । तर, चरीको नामाकरण कसले गरायो ? हामीले गराएका होइनौं युवा संघमा ? महेश बस्नेतहरुले गराएका होइनन् ?

चरीले गरेका कतिपय क्रियाकलाप, चरीलाई त्यो ठाउँमा पुर्‍याउने त युवा संघको नाममा हामीले नै गर्‍यौं । त्यो गर्ने, अनि मरिसकेपछि पक्षपोषण फलानाले गर्‍यो भन्न पाइन्छ ? चरीलाई चरी बनाउने को हो ? को बाट हप्ता उठाउन लगाइयो ?

अहिले पनि युवा संघमा प्रशस्त चरीहरु छन् । चरीहरु बनाउन महेश बस्नेतलगायतका मान्छेहरु अहिले पनि उद्दत छन् । महेश बस्नेतले आफूलाई त्यस्तो भन्नुहुन्छ भने सुधार्नुस् । तपाईले धेरै त्यस्ता चरी निर्माण नगर्नुस् । चरीहरुको पछि लागेर पनि नहिँड्नुस् । सुध्रिने हामीले मौका पनि दिइरहेका छौं ।

फागुन ११ गते निरु पालले बोलाएको केन्द्रीय कमिटी बैठकमा तपाईहरु जानुहुन्छ कि जानुहुन्न ?

केन्द्रीय कमिटीको बैठक चैत्र ६ गते बोलाउन एजेण्डा तय भएको थियो । त्यसमा हाम्रो सहमति थियो । तर, उहाँहरुले के गर्नुभयो भने जतिसक्दो छिटै यसलाई बहुमत शो गरेर अथवा के गरेर हुन्छ, त्यसलाई अनुमोदन गर्ने, बलबाहु त्यहाँ पनि लगाउने ।

हामीले जुन प्रक्रियाको विरोध गरेका छौं, त्यही प्रक्रियाबाट तिनै अध्यक्ष, उपाध्यक्ष बनाएका मान्छे, सचिव बनाएका मान्छेहरु, कोषाध्यक्ष बनाएका मान्छेहरुबाट उनीहरुले निर्णय गरिसकेपछि हामी त्यहाँ जाने कुरा भए नि त ।

अब के गर्नुहुन्छ त ? समानान्तर कमिटी बनाउनुहुन्छ ?

हामीले भनेका छौं, जतिखेर २१ गते चार बजेभन्दा पछाडि भएका प्रक्रियालाई र निर्णयलाई मान्दैनौं । यदि त्यस्तो हुने हो भने अल्टरनेट अपनाउने हामीले अल्टिमेटम दिएका छौं । अस्ति पाँच दिनको, अहिले ११ दिनको अल्टिमेटम दिएका छौं ।
फेरि उहाँहरुले ११ गते बैठक भनेपछि हामीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छौं । ११ गते नै । त्यो पनि काठमाडौमा नै ।

जबसम्म त्यो प्रक्रियाको खारेजी हुँदैन, तबसम्म उहाँहरुसँग हामी सँगै जाँदैनौं । उहाँहरुले जे गर्नु हुन्छ, हामी त्यही गर्छौं । ११ गते हाम्रो बैठक हुन्छ । त्यसलाई समानान्तर बुझ्ने कि के भन्ने त्यो तपाईँहरुको कुरा पनि हो । हाम्रो डिसिजन त्यही हो ।

समानान्तर भेला बोलाउने विधानमा व्यवस्था छ ?  

अन्याय परेकाहरुको कुरा मिल्छ । हामी अन्यायमा परेका छौं । युवा संघ जसरी विघटनको दिशामा गयो । विघटन यसकारण भयो कि, महाधिवेशनले चुनेको अध्यक्ष, उपाध्यक्ष, सचिव कोषाध्यक्ष होला । के महाधिवेशन थियो त अस्तिको २१ गते ? थिएन ।

कि त्यसलाई महाधिवेशन हो भनेर पुष्टि गर्नुपर्‍यो उहाँहरुले । म चुनौती दिन चाहन्छु । यदि होइन, भने केन्द्रीय कमिटीमा बन्ने अरु पदाधिकारी बनाउने कि नबनाउने भन्ने कुरा त केन्द्रीय कमिटीका साथीहरुलाई राइट छ ।

उहाँहरुको योग्यता छैन, बाहिरबाट मान्छे खोजेर ल्याउनुपर्छ, के यो खेताला हाल्ने संगठन हो ? युवा संघका पदाधिकारीहरु खेताला हुन्छन् कसैको ? हुँदैन ।

हामीले कसम खाएका छौं, राष्ट्रिय सम्मेलनमा प्रतिनिधिहरुसँग प्रतिवद्धता जाहेर गरेका छौं । केन्द्रीय कमिटीसँग प्रतिवद्धता जनाएका छौं । हामी त्यतापट्टी प्रतिवद्ध हुनुपर्छ कि पर्दैन ? कसैलाई मन लाग्यो भन्दैमा जे पनि गर्न पाउने अधिकार हुँदैन ।

समानान्तर बैठकमा के निर्णय गर्नुहुन्छ ?

हेरौं, कहिलेकाँही रणनीतिकरुपले केही बदलिन पनि सक्छ । अरुले तय गर्ने रणनीतिअनुसार हाम्रा रणनीति तय हुन्छन् । बैठक बस्छौं । हामीले बल्खुमा केन्द्रीय समितिको बैठक बस्छौं । हामीले बैधानिक कुरा उठाएका छौं । बैठकले राष्ट्रिय भेलाको आहृवान वा के के हुन्छ, एजेन्डाहरु पनि हामी पदाधिकारी बसेर तय गर्छौं ।

समानान्तर भेला गर्नुको साटो त्यहीँभित्र बसेर तपाईले बहुमत सिद्ध गरेको भए के हुन्थ्यो ?

हामीले महेशजीलाई त्यही दिन भनेका थियौं, युवा संघको केन्द्रीय कमिटीको बैठकमा जाऔं । केन्द्रीय कमिटीको बैठकमा तपाईँले राजीनामा दिनुस् । राजीनामा कमिटीलाई दिने हो नि त । राजीनामा व्यक्तिलाई दिने होइन ।

त्यसैले केन्द्रीय कमिटी बैठकमा राजीनामा दिइसकेपछि त्यो ठाउँ रिक्त हुन्छ । त्योमध्ये सिनियर जो हुन्छ, त्यसको अध्यक्षतामा बैठक बस्छ । कसलाई कार्यवाहक बनाउने वा के बनाउने, त्यसपछिको बैठकले स्वीकृत गर्छ । अनि कसलाई कार्यबाहक बनाउने कि के बनाउने भन्ने हामी त्यहीँ निर्णय गर्छौं । त्यसपछि केन्द्रीय कमिटीका साथीहरुसँग बसेर कार्यवाहक हिसाबले चलाउने कि कसरी चलाउने भनेर हामीले छलफलको विषय बनाउँथ्यौं । छलफलको विषय बनाइसकेपछि मात्रै को अल्पमत, को बहुमत भन्ने हुन्थ्यो ।

त्यसरी निर्णय गर्दा तपाई अल्पमतमा परेको भए हार स्वीकार हुन्थ्यो ?

त्यो त मान्नुपर्‍यो नि । अबको कुरा होइन यो । प्रक्रिया धेरै मिचिसकिएको छ । अब त जे पनि हुन सक्छ । तर, त्यतिखेर हामीले प्रक्रिया र नीतिको कुरा गरिरहेका थियौं । विधि नचाहिएर उहाँहरुले बाटो बाटोमा खेताला  खोज्न सक्ने र पदाधिकारी नै खेताला खोजेर ल्याउने भइसकेपछि त्यहाँ कस्तो अवस्था होला ?

तपाईले पहिले प्रक्रिया पनि मान्नुभयो, बैठकमा सहभागी भएर नोट अफ डिसेन्ट पनि लेख्नुभयो, त्यसपछि प्रक्रिया नै गलत भो भन्न सुहाउँछ ?

नोट अफ डिसेन्ट हामीले किन लेख्यौं भने पदाधिकारी बैठकमा हामीले होल प्रक्रिया भनेका छौं । जुन ढंगबाट युवा संघको बैठक चलाइयो, त्यो नियमसंगत अथवा न्यायसंगत थिएन ।

नियम संगतै नभएको बैठकमा किन बसेको त ?

उहाँहरु के चाहनुहुन्थ्यो भने बहिष्कार गरेर हिँडे हुन्थ्यो । हामीले आफ्नो मत दर्ज गर्नुपर्छ भन्यौं । न्यायको कुरा त एक्लै भए पनि बोल्नुपर्‍यो नि त । सत्य बोल्नलाई एक्लै दुक्लैको कुरा भएन । यदि त्यस्तो हुँदैनथ्यो भने अहिले पनि हेर्नुस् न, राम्रा साथीहरु हामीसँग हुनुहुन्छ ।

तपाईहरुको असन्तुष्टि निरु पालबाहेक अरु को-कोसँग हो ?

खेतालाहरुको धेरै नाम लिइरहनुपर्ने म ठान्दिँन । किनभने ती खेताला हुन्, दुई दिनका हुन्, कहिलेसम्मका हुन मलाई थाहा छैन ।

हामीले मूल्य मान्यताका अगाडि हामीले डराएर बोल्नुपर्दैन, हामीले मूल्य मान्यता स्थापित गर्ने कुरा, युवा संघलाई बचाउने कुरा, राजनीति गर्ने कुरा हो । बलबाहुमा अट्ने जोकसैलाई धाकधम्कीमा साथीहरु नपर्नुस्, न्यायको निम्ति उभिनुस्, युवा संघका कार्यकर्ताहरु स्वाभिमानी हुनुहुन्छ भने तपाईँहरु हामीसँग आउनुस् । म अनुरोध पनि गर्न चाहन्छु ।

तपाईँले निरुभन्दा आफूलाई सिनियर भन्नुभयो, तर निरु त पार्टीकै केन्द्रीय सदस्य होइनन् ?

केन्द्रीय सदस्य होइन, बैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । अनि फेरि के पनि बुझ्नुस् भने,  केन्द्रीय सदस्यको हैसियतले युवा संघको अध्यक्ष पाइँदैन के । उहाँ खोज्नुपर्‍यो नि आफ्नो, कुन कमिटीमा कुन सदस्य हो, त्यहाँ खोज्ने हो अधिकार । यहाँ त युवा संघको अध्यक्ष उपाध्यक्षको हैसियतले खोज्ने हो । जो सिनियर छ, त्यहीँबाट सुरु हुन्छ । सिनियर हो भने छोडेर जानुपर्‍यो नि । अरुलाई दिनुपरेन मौका ?

उहाँलाई त्यस्तो लाग्छ भने युवा संघबाट विदा हुनुपर्‍यो । नेतृत्व हस्तान्तरणको कुरा गर्ने हो भने उहाँले पनि छोडेर जानुपर्‍यो नि त । केन्द्रीय कमिटीको बैकल्पिक सदस्यको हैसियतले कुरा गरिएको हो भने उहाँले पार्टीसँग सोध्नुपर्‍यो ।
सिनियर उपाध्यक्ष मैं हुँ । किनभने झपट रावल र म दुईजना थियौं । झपटजीले राजीनामा दिइसकेपछि म नै हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment