Comments Add Comment

अर्काकी पत्नी ताक्दा अमलदारको ज्यान गयो

२९ फागुन, काठमाडौं । आफ्नी श्रीमतीसँग सम्बन्ध राखेको भन्दै नेपाली सेनाका एक जवानले आफ्नै सहकर्मीको हत्या गरेका छन् ।

पक्राउ परेका रूद्र थापा
पक्राउ परेका रूद्र थापा

ललितपुरको आर्टिलरी निर्देशनालयमा अमलदार पदमा कार्यरत रोहितकुमार ओझाको हत्या आरोपमा नयाँ श्रीनाथ गणका रुद्रबहादुर थापा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रुद्रले आफ्नी श्रीमतीसँगको सम्बन्धलाई लिएर ओझाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अल्का अस्पताल जान्छु भनी हिँडेका ओझा फागुन १५ गते सम्पर्कविहीन भएका थिए । हराएका ओझामाथि गरिएको अनुसन्धानका क्रममा सोही दिन ओझा र थापाबीच धेरैपटक फोन सम्पर्क भएको देखिएपछि थापाको समेत खोजी भएको थियो ।

अनुसन्धानका क्रममा सेनामा कार्यरत थापा घटना भएकै मितिदेखि ब्यारेक छाडेर हिँडेको खुलेपछि प्रहरीले बिहीबार रुपन्देहीको देवदह-२ पेटवनियनबाट उनलाई पक्राउ गरेको छ ।

पक्राउपछि थापाले दिएको बयानका आधारमा प्रहरीले शिवपुरी जंगलमा गाडिएको अवस्थामा ओझाको शव फेला पारेको छ ।

परीक्षा दिन जाँदा परिचय, सिम दिएर कुराकानी 

प्रहरीका अनुसार थापा सिरहामा रहेका बेला परीक्षा दिन त्यहाँ गएका ओझा र थापा पत्नीवीच परिचय भएको थियो । पछि ओझाले थापाकी पत्नीलाई एनसेलको सिम दिएका थिए । सोही नम्बरबाट ओझा र थापापत्नीवीच त्यसबाट कुराकानी गर्ने गरेको खुलेको छ ।

रुद्रले विदेश जाने क्रममा आफ्नी श्रीमतीलाई काठमाडौं नेपालटारमा कोठा खोजेर राखेका थिए । विदेशबाट फर्किएपछि ओझा र आफ्नी पत्नीको सम्वन्धबारे थाहा पाएपछि रुद्रले श्रीमतीलाई सोधपुछ गरेका थिए ।

गत फागुन १ गते भद्रकालीमा रोहित ओझाले रुद्रको उपस्थितिमा थापा पत्नीलाई बहिनी मानेर टीका लगाएका थिए । तर, त्यसपछि पनि रोहित ओझा रुद्र थापाको कोठामा पटक-पटक गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आफ्नी पत्नीसँगको रोहितको सम्वन्धले असन्तुष्ट बनेका रुद्रले रोहितलाई फागुन १५ गते डाँडागाउँमा भेटेका थिए । कुराकानी गर्दै जाने क्रममा विवाद भएपछि रुद्रले विष्णुद्वार नजिकै बेल्टले हानेर ओझाको हत्या गरेको प्रहरीको भनाइ छ ।

बेल्टले हानेपछि बेहोस भएका ओझालाई तल गुल्टाइदिएर ब्यारेकमा फर्केका थापाले भोलिपल्ट पानीको पाइप बनाउने बहानामा घटनास्थलमा गएर चक्कुले खाडल खनी ओझाको शव पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

लगत्तै माछापुच्छ्रे बैंकबाट ५० हजार झिकेर थापा पोखरा हुँदै बुटवल पुगेका थिए । सेनाको ब्यारेकबाट भागेका थापा अन्ततः प्रहरीको फन्दामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment