Comments Add Comment

सुवास नेम्वाङलाई कालोमोसो दल्ने तयारी थियो

संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले सभामुख सुवासचन्द्र नेम्वाङलाई गत साता ललितपुरमा कालोमोसो दल्ने योजना सफल हुन नपाएको बताएका छन् ।

Subash-Nembang‘किरात याक्थुङ चुम्लुङको नवौं राष्ट्रिय सम्मेलनमा सुवास नेम्वाङजी आउनुभएन,’ लिङदेनले अनलाइनखबरसँग भने, ‘त्यहाँ प्रतिनिधिहरुले स्वफूस्र्तरुपमा कालोमोसो दल्नेसम्मको कार्यक्रम तयारी गरेका थिए, त्यो थाहा पाएर उपराष्ट्रपतिमात्रै जानुभयो, सुवासजी जान सक्नुभएन ।’

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा आवद्ध रहेका नेता लिङदेनले सभाध्यक्ष नेम्वाङलाई ‘पहिचानविरोधी’ को संज्ञा दिए ।

३० दलले आयोजना गरेको दोस्रो चरणको आन्दोलनमा ‘पहिचान विरोधी’हरुलाई कारवाही गर्ने बताइएको छ । कसलाई पहिचानविरोधी भन्ने ? अनलाइनखबरको प्रश्नमा लिङदेनले भने- ‘सुवास नेम्वाङ पहिचानविरोधी हुन् ।’

तर, पहिचानविरोधीलाई भौतिक नभएर राजनीतिक कारवाहीमात्रै गरिने लिङदेनले बताए । यसक्रममा पहिचानविरोधीहरु बोलाएको बिहेमा जन्ती नजाने र आफूहरुले नबोलाउने उनले बताए ।

लिम्बुवानका नेता लिङदेनसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । अब तपाईहरुले लिम्बुवानमा के के गर्नुहुन्छ ?

Kumar Lingden Limbu– सामाजिक सदभाव नबिग्रिने गरी राज्यमाथि प्रेसर हुने आन्दोलन हामी गर्छौं ।

पहिचान विरोधीलाई कारवाही गर्ने भनिएको छ, त्यो कारवाही कस्तो हुन्छ ? भौतिक कारवाही नै हो कि ?

– त्यो राजनीतिक कारवाही हो । मान्छेलाई भौतिक कारवाही हुँदैन ।

राजनीतिक कारवाहीमा के-के गर्नुहुन्छ ?

– पुत्ला जलाउने पनि राजनीतिकमै पर्छ । पहिचानविरोधीहरुलाई राजनीतिकरुपमा बहिस्कार गर्ने । उनीहरु गएको कार्यक्रममा नजाने । सामाजिकरुपमा तल झर्दाखेरि बिहे भोजमा सम्म नजाने । हामीले पनि नबोलाउने ।

किरात याक्थुङ चुम्लुङको अस्तिको नवौं राष्ट्रिय सम्मेलनमा सुवास नेम्वाङजी आउनुभएन । त्यहाँ प्रतिनिधिहरुले स्वफूस्र्तरुपमा कालोमोसो दल्नेसम्मको कार्यक्रम तयारी गरेका थिए । त्यो थाहा पाएर उपराष्ट्रपतिमात्रै आउनुभयो । सुवासजी जान सक्नुभएन । अबको कार्यक्रम यस्तै हुन्छ ।

तपाईहरुको परिभाषामा सुवास नेम्वाङ पनि पहिचानविरोधी हुन् र ? पहिचान विरोधी को हो ? कसरी छुट्याउनुहुन्छ ?

– सुवास नेम्वाङ पहिचानविरोधी हुन् । किनभने उनले अहिले जुन पहल लिइरहेका छन्, यत्तिको पहलकदमी पहिलो संविधानसभामा लिनुपथ्र्यो । कांग्रेस एमालेलाई दबाव दिनुपर्थ्यो ।

कांग्रेस र एमालेले भनेको कहाँ मानेका छन् नेम्वाङले ? प्रक्रिया अघि बढाऊ भन्दाभन्दै रोकिराखेका छन् त ?

– सुरु त गरे नि उनले प्रक्रिया । हुँदै हुँदैन भने उनले राजीनामा दिन सक्नुपर्छ । के उनी सधैं सभाध्यक्षसँग जोडिएका हुन् ? उनी नहुँदा अर्को मान्छेले गर्न सक्दैन ? यसरी राजनीति गर्नु हुँदैन । एउटा लिम्बुले हट्दाखेरि नलेखिने त हैन नि संविधान । उनी अलिकति पनि पहिचानवादी र आदिवासी हुन् भने राजीनामा दिन सक्नुपर्छ ।

तपाई नेम्वाङलाई पहिचान विरोधी भन्नुहुन्छ, उनी चुनाव जितेका जित्यै गर्छन्, तपाई हारेको हार्‍यै । यस्तो किन ?

– त्यो त यस्तो छ नि, सिंगो राज्य संयन्त्र सिंहदरबार निर्देशित छ । पहिचानविरोधीहरुको हातमा छ । पञ्चायतकालमा पनि त पञ्चहरुले नै चुनाव जितिरहे नि त । अहिले सत्ताचाँहि पहिचानविरोधीहरुकै हातमा छ क्या । पञ्चहरुको हातमा सत्ता भइञ्जेल अरुले जित्न सकेनन् ।

अहिले संघीयताबारे झापा, मोरङ र सुनसरीको जुन विवाद छ, यसबारे तपाईहरुको ३० दलीय मोर्चामै एकरुपता छैन, किन ?

– ३० दलले बनाएको खाकाका यो लिम्बुवान र मधेसको कुरा छ । १४ प्रदेशको खाकामा पनि झापा, मोरङ र सुनसरीलाई भिन्नै राज्यको रुपमा कल्पना गरिएको थिएन । आयोगले बनाएकोमा पनि थिएन । अहिले एमाले कांग्रेसले ल्याएकोमा पनि छैन । र, अहिले ३० दलले बनाएकोमा पनि छैन । त्यसो हुनाले झापा मोरङ सुनसरीका बारेमा बहुत क्लियर छ ।

कसरी क्लियर छ ?

– झापा, मोरङ र सुनसरी लिम्बुवान र मधेसका वीचमा रहने । लिम्बुवानमा कित रहने, मधेसमा कति रहने भन्नेकुरा चाँहि अब त्यहाँका जनतासँग कुनै न कुनै रुपमा पुग्ने र त्यसका ऐतिहासिक आधारहरु खोज्ने । यहाँको बारेमा प्रष्टै, लिम्बुवानले भनेकैजस्तो आइराखेको देख्छु है मचाँहि । अहिले चाँहि झापा मोरङ र सुनसरीको बहस लिम्बुवान र मधेसमा केन्द्रित भएको छ ।

त्यहाँका केही वुद्धिजीवीहरुले यी तीन जिल्लालाई फुटाउन पाइँदैन र बेग्लै प्रदेश बनाउनुपर्छ भन्न थालेका छन् नि ? तपाई के भन्नेहुन्छ ?

– सप्तकोशीको वहावचाँहि सय वर्ष अगाडि यहाँभन्दा अलिकति पूर्वै बगेको थियो । यो अवस्थामा सुनसरीको केही भागका बारेमा हामी लिम्बुवान पनि लचक हुनुपर्छ ।

अहिले कोशी बगेकै ठाउँबाट प्रदेश छुट्याउन मिल्दैन ? सय वर्षपछि किन फर्कने ?

– त्यो त हो । तर, पनि भरे मिल्ने कुरामा ऐतिहासिकतालाई हेरेर जाँदाखेरि यसलाई पनि हेर्नुपर्छ ।

केही मान्छेले राजमार्गलाई आधार बनाएर जिल्ला विभाजन गरौं भन्छन् नि ?

– त्यो त मान्दैनौं हामी । त्यो मान्दैनौं । जहिले पनि मान्छेले तार्किक कुरा गर्नुपर्‍यो । भोलि पनि तर्क काट्न नसक्ने कुरा गर्नुपर्‍यो ।

झापा मोरङ सुनसरीलाई कोचिला प्रदेश बनाउँदा के हुन्छ ?

– कोचिला भन्ने त १४ प्रदेशको खाकामा पनि आएन । १० प्रदेशको खाकामा पनि आएन । अहिले पनि आएन । किनभने त्यो छँदै थिएन ।

एमाओवादी अध्यक्ष प्रचण्डले पनि भन्ने गरेकै छन्, ६ प्रदेशमा सहमति गर्नका लागि लिम्बुवानलाई पनि मिलाएर एउटै किरात प्रदेश बनाउँदा के हुन्छ ?

– अहिलेचाँहि सम्भावना छैन । अहिले हामीले १० प्रदेशकै खाकामा हामीले आन्दोलन गर्ने हो । राजनीति हो । छलफल र बहस त सधैं खुल्ला नै हुन्छ । तर, अहिलेसम्मको हाम्रो माग १० प्रान्त र ९ जिल्लाको लिम्बुवान हुनुपर्छ भन्ने नै हो ।

पश्चिमको खसान र पूर्वको लिम्बुवानवीच तपाईहरुले किन कार्यगत एकता गरेको ?

– खासगरी सिंहदरबारमा बस्ने पहिचानविरोधीहरुले लिम्बुवान र पहिचानवादीहरुले देश टुक्र्याउँछन् भने । पहिलो झटारो लिम्बुवानलाई नै गयो, किनकि हामी सीमानामा छौं । देश टुक्राउने भनेको त कि पूर्व सीमानाले हो, कि पश्चिम सीमानाले । कि दक्षिण सीमानाले । त्यसैले हामीले पूर्वर्को लिम्बुवान र पश्चिमको खसानवीचमा पहिचानसहितको संघीयता, खसान र लिम्बुवान कायम गर्दै, राष्ट्रिय सीमानाहरुको रक्षा गर्दै नेपाललाई योभन्दा बढी मजबुद बनाउँछौं भनेर मेची र महाकालीका मान्छेले नयाँ यात्रा सुरु गरेका हौं ।

संघीय लिम्बुवान पार्टीको त पूर्वमा केही जनाधार छ । तर, तपाईहरुसँग कार्यगत एकता गरेको खसान संघर्ष समिति त नाममात्रैको हैन र ?

– हैन, यो खसान संघर्ष समितिमा धेरै साथीहरु अहिलेको खसान भनिएको ठाउँकै साथीहरु हुनुहुन्छ । यो खसान राष्ट्रिय संघर्ष समितिको जग खसानमै छ । त्यो हामीले हेरेर, विचार गरेरै गरेको हो । खसान भनेको अत्यन्त धेरै सम्भावनाले युक्त ठाउँ हो । हिजो अमरसिंह थापा, बलभद्रहरु लडेको ठाउँ हो । बलभद्र कुँवर नालापानीसम्म गएर लडेर, फेरि काठमाडौं आएर फेरि यहाँका शासकहरुसँग चित्त नबुझेर विचरा पञ्जाबमा गएर अफगानिस्तानमा मरेको त हो नि एउटा बहादुर । त्यो त एउटा खसकै बहादुर हो । यसले गर्दा एकदमै सम्भावना छ खसानमा ।

तपाईहरुलाई जातिवादी भनियो भनेर त्यसलाई पखाल्न पनि खसहरुसँग मिल्नुभएको होइन ?

हैन । हामी हिजोदेखि नै क्षेत्रीबाहुन विरोधी थिएनौं नि । वि.सं. ००८ सालमा इमानसिंह चेम्जोङले लिम्बुवान सुधार संघ खोल्दाखेरि त्यसको महामन्त्री नै बाहुन थिए ।

त्यसकारणले लिम्बुवान न हिजो बाहुनविरोधी थियो, न आज छ, न भोलि हुनेछ । तर, पनि सिंहदरबारबाट प्रायोजित मान्छेले हामीमाथि आरोप लगाइरहे । हामीले त्यसलाई पखारल्नमात्रै होइन, लिम्बुवान र खसानको सुमधुर सहकार्यले लिम्बुवान कुनै जातिको विरोधी होइन भन्ने स्पष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment