Comments Add Comment

आयोजनाको अनुगमन प्रभावकारी बनाउन निर्देशन

१० चैत, काठमाडौँ । सुशासन तथा अनुगमन समितिले राष्ट्रिय योजना आयोगलाई सरकारले सञ्चालन गरेका आयोजनाको अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

संविधानसभा व्यवस्थापिका–संसदअन्तर्गतको समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेलसँगको छलफलपछि आवश्यक नीति तथा ऐन बनाएर अनुगमन गर्न निर्देशन दिएको हो ।

समितिका सभापति शेरधन राईले सञ्चालित आयोजना सहभागितामूलक बनाई पारदर्शीरुपमा छनोट गर्ने र आयोजनाको मूल्याङ्कनका लागि निश्चित मापदण्ड बनाउन योजना आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले आवधिक तथा दीर्घकालीन योजनाको तालमेल गराएर मन्त्रालयले अगाडि बढाएको आयोजनाको मूल्याङ्कन गर्ने गरी कार्यक्रम आयोगको हुनुपर्नेमा जोड दिए  ।

बैठकमा सभासद् अर्जुनरसिंह केसी, जनकराज जोशी, उदय नेपाली श्रेष्ठलगायतले योजना आयोगको प्रभावकारितालाई सबल बनाएर लैजानुपर्नेमा जोड दिँदै विभिन्न मन्त्रालयबाट सञ्चालन भएका आयोजनाको कार्यान्वयनको अवस्थाबारे जिज्ञासा राखेका थिए ।

‘मन्त्रीले ध्यान दिएनन्’

बैठकमा सभासदका जिज्ञासाको जवाफ दिँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पोखरेलले विभिन्न मन्त्रालयको नेतृत्व गर्दै आएका मन्त्री तथा सचिवले आफ्ना मन्त्रालयअन्तर्गत सञ्चालन भएका आयोजनाको कार्यान्वयनमा ध्यान नदिएको गुनासो गरे ।

उनले भने, ‘मन्त्रालयका प्रगति विवरण माग्दा मन्त्री तथा सचिवले निर्देशन दिने मात्र गरेका छन् तर कार्यान्वयनमा कुनै ध्यान दिएका छैनन् ।’

उपाध्यक्ष पोखरेलले राजनीतिक दलका नेता, मन्त्री र कर्मचारी जिम्मेवार भएमात्र विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यान दिन पनि अनुरोध गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment